बुटवल । "मर्यादित सहकारी समुन्नत समाज " भन्ने मुल नाराको साथ देशभरका सहकारीहरुले राष्ट्रिय सहकारी दिवस २०८१ मनाएका छन् ।
यसैबीच बुटवलमा रहेको सिरसिरे बचत तथा ऋण सहकारी संस्था लिमिटेडले ६८ औं राष्ट्रिय सहकारी दिवस तथा २०८२ सालको क्यालेन्डर विमोचन कार्यक्रम सम्पन्न गरेको छ ।
उक्त कार्यक्रमलाई सम्बोधन गर्दै संस्थाका अध्यक्ष रामकृष्ण शर्माले सहकारी क्षेत्रमा देखिएको कालो वादल अझैसम्म हटिनसकेको बताए । सबै पार्टीका राष्ट्रिय ठगहरुले बचत कर्ताको अर्बौं रकम अपचलन गरिरहेको र अहिले पनि उक्त रकम पाउने सुनिश्चित नभएको बताउदै बचतकर्ताहरुको बचत फिर्ताको ग्यारेन्टी राज्यले गर्नुपर्नेमा जोड दिए ।
अध्यक्ष शर्माले अहिले संसदले पास गरेको अध्यादेशले सहकारीहरुलाई थप तहसनहस गराउने बताउदै सहकारीका अभियान्ता भन्नेहरु मौन बसेको आरोप लगाए ।
विभिन्न जिल्ला सहकारी संघहरु तथा मातृ संगठनहरुमा राजनीतिक भागबन्डा रहेको बताउदै त्यस्ता प्रवृतिले सहकारीहरुलाई थप कमजोर गराउने बताए ।
यसैगरी अध्यक्ष शर्माले आर्थिक मन्दीको कारण ऋणी सेयर सदस्यहरुलाई कारबाही अगाडि नबढाएको बताउदै यसलाई कमजोरीको रुपमा नलिन सेयर सदस्यहरुलाई आग्रह गरे ।
सिरसिरे सहकारीलाई रुपन्देहीकै नमुना सहकारीको रुपमा अगाडि बढाउने योजना रहेको समेत अध्यक्ष शर्माले बताए ।
यसैगरी सोही कार्यक्रमलाई सम्बोधन गर्दै संस्थाका प्रमुख सल्लाहकार तथा पुर्ब अध्यक्ष बाबुराम गौतमले सिरसिरे सहकारी निरन्तररुपमा अगाडि बढी रहेको बताए । सहकारीको मर्म र भावना अनुसार सहकारीहरु अगाडि बढ्नुपर्नेमा जोड दिदै नाफा भन्दा पनि सेयर सदस्यहरुको सेवा र सुविधामा ध्यान दिनुपर्ने सल्लाहकार गौतमले बताए ।
उक्त कार्यक्रममा संस्थाका उपाध्यक्ष टेकराज शर्माले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने संचालन सचिव गिरिराज भुसालले गरेका थिए । उक्त अवसरमा नयाँ बर्ष २०८२ को क्यालेन्डर विमोचन समेत गरिएको थियोे ।
