बुटवल । बुटवल उपमहानगरपालिकाको ६६ औं स्थापना दिवस सम्पन्न भएको छ । उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
प्रमुख अतिथिकोको रुपमा उक्त कार्यक्रमलाई सम्बोधन गर्दै भगवान बुद्धको जन्मस्थल लुम्बिनी र मुक्तिनाथ जोडेर बुटवलको विकासका योजना अगाडि बढाउन आग्रह गर्नु भयो । ठुलो धार्मिक पर्यटकिय क्षेत्र लुम्बिनीबाट बुटवलले फाइदा लिन सक्नुपर्नेमा उहाँले जोड दिनु भयो ।
यसैगरी उपप्रधानमन्त्री सिंहले सङ्घीयताको मूल भावना अनुसार संघ, प्रदेश र स्थानीय तीनै तहको सरकारलाई पूर्ण अधिकार सम्पन्न बनाउन सरकार लागिरहेको बताउनुभएको छ ।
उपप्रधानमन्त्री सिंहले सङ्घीयता बलियो बनाउन र संविधान कार्यान्वयनका लागि आवश्यक संशोधन र ऐन बनाउनका लागि नै अहिले संसदका दुई ठुला दल नेपाली कांग्रेस र नेकपा (एमाले)सहितका दलहरू मिलेर अहिले सरकार बनेको बताउनुभयो ।
‘‘राजनीतिक स्थिरताको जनचाहना पूरा गर्न समयको आवश्यकता अनुसार संसदका दुई ठुला दल मिलेर सरकार बनेको छ । कुर्सीमा जानका लागि मात्र अहिलेको सरकार बनेको होइन,’’ उहाँले भन्नुभयो, ‘‘सङ्घीयताको मूल भावना अनुसार तीनै तहको सरकारलाई पूर्ण अधिकारसम्पन्न बनाउन सरकार लागिरहेको छ । राजनीतिक स्थीरता र आर्थीक समृद्धिका लागि सरकार लागेको छ ।’’
त्यस्तै, उपप्रधानमन्त्री सिंहले अब शहरहरूको विकास गर्दा नागरिकलाई चाहिने न्यूनतम सुविधा दिनसक्नुपर्ने भन्दै नागरिकको जीवन सहज बनाउने गरि शहरलाई अघि बढाउनुपर्ने बताउनुभयो । बुटवल पहिलेबाटै आर्थिक गतिविधिको केन्द्रका रूपका रहेको भन्दै धार्मिक पर्यटनका लागि पनि प्रचुर सम्भावना रहेको बताउनुभयो । आर्थिक गतिविधि मात्र होइन बुद्धजन्मस्थल लुम्बिनी देखि मुक्तिनाथसम्म जोडेर धार्मिक सर्किट बनाउन सकिने सिंहको भनाइ थियो । उपप्रधानमन्त्री सिंहले आवश्यक मापदण्ड पुगेमा बुटवल उपमहानगरबाट महानगरपालिका बन्न सक्ने सम्भावना रहेको पनि उहाँले बताउनुभयो ।
यसैगरी उपप्रधानमन्त्री सिंहले राजनीति रुपले समेत बुटवलले महत्त्वपूर्ण भुमरीमा निर्वाह गरेको बताउनु भयो ।
