गुल्मी । नेपाल मगर संघ सत्यवती गाउँ कमिटीले ठूलो लुम्पेकमा १४८ औं लखन स्मृति दिवस मनाएको छ । कार्यक्रममा वक्ताहरुले नेपालको प्रथम सहिद लखन थापा मगरको जीवनी र योगदानको चर्चा गर्दै उनले गरेका कामलाई सबैले अनुकरण गर्नुपर्ने बताएका छन् ।
नेपाल मगर संघ जिल्ला समिति गुल्मीकी उपसचिव तेजकुमारी थापा मगरले प्रथम सहिद लखन थापा मगरले निरङ्कुशता विरुद्ध बलिदान दिएकै कारण नेपालमा प्रजातन्त्र आएको बताइन् । जिल्ला समन्वय समिति गुल्मीकी सदस्य नरमाया थापाले लखन थापाको जीवनीबारे चर्चा गर्दै आजको नेपाल निर्माणमा उनको महत्वपूर्ण योगदान रहेको बताइन् ।
राजनीतिक अगुवा खोमा तरामु मगरले मगरजाति बलिदानको दृष्टिले र समुदायगत संगठित भएको दृष्टिले सबैभन्दा पहिलो भएर पनि राज्यसत्तामा सहभागिता कमजोर हुनुको मूलकारण गलत राजनीतिक दृष्टिकोण रहेको बताए । कार्यक्रममा सत्यवती ३ नं. वडाका कार्यबाहक अध्यक्ष अर्जुन तरामु मगर, श्री धर्मपुर माविका प्रअ बलबहादुर राहादी मगर, धर्मपुर मावि शिक्षक अभिभावक संघका अध्यक्ष लोक सुनार, युवा समाजसेवी पिटरलगायतले लखन थापा मगरप्रति श्रद्धाञ्जली व्यक्त गरेका थिए ।
नेपाल मगर संघ सत्यवती गाउँपालिकाका अध्यक्ष टोपला थापाको अध्यक्षता, संचालन सचिव कमला पचभैया मगर र स्वागत हुमी सिंजाली मगरले गरेकी थिइन् । कार्यक्रममा प्रथम सहिद लखन थापा मगरको प्रतिमामा अबिर तथा फूल माल्यार्पण गरिएको थियो ।

