बुटवल । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति रुपन्देहीले बुटवलमा राजनीतिक प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।
पार्टीका पोलिटब्युरो सदस्य तथा रुपन्देही जिल्ला इन्चार्ज बसन्त सीको प्रमुख आतिथ्यतामा उक्त प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो ।
रुपन्देही जिल्लाका सयौं अगुवा कार्यकर्ता सहभागी रहेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि बसन्त सीले नेपालको समाजवादी आन्दोलनलाई नयाँ उचाइमा पुराउन आवश्यक रहेको बताउनु भयो । कम्युनिस्टहरु सबै परिस्थितिको सामना गर्न तयार रहनुपर्ने बताउनु हुदै भारत लगाएत बिश्वका कम्युनिस्ट आन्दोलनहरुबाट समेत शिक्षा लिइ अगाडि बढनु पर्नेमा जोड दिनु भयो ।
पार्टीको पछिल्लो केन्द्रीय समितिबाट निर्वाचनमा जाने निर्णय भएको बताउदै भ्रष्ट दलाल सत्ताको भण्डाफोर निर्वाचनको माध्यमबाट गर्नुपर्ने र मुलुकलाई समाजवादमा रुपान्तरण गर्न सबै देशभक्त र कम्युनिस्ट शक्तिहरु एकजुट हुन आह्वान गर्नु भयो ।
देशलाई आत्मनिर्भर बनाउन कृषि उत्पादनमा ध्यान दिनुपर्ने बताउदै नेपाली किसानहरुको पक्षमा राज्यको नीति हुन जरुरी रहेको स्पष्ट पार्नु भयो ।
यसैगरी फरक प्रसङ्गमा नेता बसन्त सीले रवि लामिछानेमाथि राज्यले आतंक सृजना गरेको आरोप लगाउनु भयो । उहाँले भन्नु भयो " अदालती प्रक्रियाको बारे कुनै टिप्पणी गर्नु छैन तर राज्यले रवि लामिछानेलाई मात्र होइन काङ्ग्रेस एमालेका आरोपीहरुलाई पनि कानुनी कारबाही अगाडि बढाउनुपर्छ "
यसैगरी पार्टीले तत्काल एकता भन्दा पनि ध्रुवीकरणलाई जोड दिएको बताउनु भयो ।
यसैगरी सोही प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीका केन्द्रीय सदस्य शरद सीले नेपाल कम्युनिस्ट पार्टी गरिव जनताको पार्टी भएको बताउनु हुदै स्थानीय सत्ताहरुमा हस्तक्षेप गर्ने चेतावनी दिनु भयो । साथै नेतृत्व विकास र निर्माणमा लाग्न कार्याकर्ताहरुलाई आग्रह गर्नु भयो ।
यसैगरी उक्त प्रशिक्षण कार्यक्रममा समाजवादी मधेसी मुक्तिमोर्चाका अध्यक्ष विनोद सी ,केन्द्रीय सल्लाहकार जीतबहादुर सी , केन्द्रीय सदस्य जया सी लगाएतले सम्बोधन गर्नु भएको थियोे ।
पार्टीका केन्द्रीय सदस्य बिश्वास सीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको संचालन रुपन्देही जिल्ला सेक्रेटरी बिरेन्द्र सीले गर्नु भएको थियोे ।
उक्त कार्यक्रममा अरु पार्टीहरु परित्याग गरि झण्डै तीन दर्जन नेता तथा कार्याकर्ताहरु नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गरेका थिए ।
यसैगरी सोही कार्यक्रममा केही नेता तथा कार्याकर्ताहरुलाई कामको मुल्यांकनको आधारमा संमान समेत गरिएको थियोे ।
