आजबाट बुटवल उपमहानगरपालिका वडा नं १२ नयाँ गाउँ मुक्तिनाथ धाममा अठार पुराण तथा चार वेदको अनुष्ठान सहितको मुक्तिनाथ महायज्ञ शुरुआत भएको छ ।
उक्त बृहत् महायज्ञको उद्वाटन गर्दै प्रमुख अतिथि बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेले यो महायज्ञ बुटवललाई देशकै समृद्ध शहर बनाउने सबैको साझा यज्ञ भएको बताएका छन् ।
नगर प्रमुख पाण्डेले बुटवललाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा बिकास गर्नुपर्नेमा जोड दिदै मुक्तिनाथ धामले धार्मिक पर्यटन भित्राउन महत्त्वपूर्ण भुमिका निर्भाह गरेको बताए । यस्ता यज्ञहरुले सामाजिक रुपान्तरण सहित मुलुकको समृद्धिमा समेत ठुलो योगदान पुराउने विश्वास व्यक्त गरे ।
पछिल्लोपटक बुटवल उपमहानगरपालिकाले शिक्षा ,स्वास्थ लगाएत सामाजिक क्षेत्रमा ठुलो लगानी गरिरहेको बताउदै नगर प्रमुख पाण्डेले स्वास्थ रहन योग साधनामा समेत ध्यान दिन आग्रह गरे ।
छाडा चौपाया नियन्त्रणको लागि नगरपालिकाले बुटवलमा नन्दनी गौशाला संचालन गरेको बताउदै सबैलाई सहयोगको लागि आग्रह गरे ।
यसैगरी कालीगण्डकी करिडोरले मुक्तिनाथ र लुम्बिनी जोड्ने हुनाले बुटवलले धार्मिक पर्यटकीय क्षेत्रको रुपमा अगाडि बढेर फाइदा लिनसक्नु पर्ने बताए । विभिन्न समुदायका धार्मिक सम्पदाहरु बुटवलमा नै रहेको हुनाले यिनीहरुको संरक्षण गर्ने दायित्व समेत सबै बुटवल बासीको भएको उनले बताए ।
यसैगरी बुटवल उपमहानगरपालिकाको दस हजार किशोरीहरुलाई पाठेघरको क्यान्सर विरुद्ध सुई लगाउने अभियानलाई सहयोग गर्न आग्रह गरे ।
यसैगरी पतनजलि योग समितिका ललित शंकर गिरीले स्वस्थ रहन सबैलाई दैनिक रुपमा योग गर्न आग्रह गरे ।
आज उद्वाटन पुर्ब बिशाल कलश यात्रा निकालीएको थियोे भने हजारौंको सहभागीता रहेको थियोे ।
आजबाट शुरुआत भएको महायज्ञ अठार दिन अर्थात फागुन ९ गतेसम्म संचालन हुने छ भने उक्त यज्ञमा कृष्ण चैतन्य ,बालव्यास अनुराधा पाण्डे , अनुराधा देवी , बिष्णु ज्ञवाली लगाएतका विद्वान धर्म गुरुहरुले प्रवचन दिनु हुने छ ।
प्रत्येक दिन साँझ महा आरती हुने छ भने बिहान ४ बजेदेखि ध्यान तथा योग शिविर संचालन हुने मुक्तिनाथ धामले जनाएको छ ।
यसैगरी सोही मुक्तिनाथ धाममा हिजो मात्र उपप्रधान तथा अर्थमन्त्री बिष्णु पौडेलले मंगल भवनको शिलान्यास गरेका थिए । करिब चार करोडको लागतमा बन्ने उक्त भवन निर्माणमा सरकारले सहयोग गर्ने प्रतिबद्धता समेत अर्थमन्त्री पौडेलले व्यक्त गरेका थिए ।
