२०८३, कार्तिक २३ गते

Nov 08 2026

Logo

२०८३, कार्तिक २३ गते | Nov 08 2026

images
  • समाचार
  • टुँडिखेलमा मगर र थारु समुदायको माघे...
जनजातिको संस्कृति

टुँडिखेलमा मगर र थारु समुदायको माघे सकराती मेला

टुँडिखेलमा मगर र थारु समुदायको माघे सकराती मेला

नेपालका आदिवासी जनजाति मगर र थारु समुदायले आज राजधानीको टुँडिखेलमा ‘माघे सङ्क्रान्ती’÷माघी महोत्सव र साँस्कृतिक कार्यक्रम भव्यताका साथ मनाएका छन् ।

बुधवार, माघ २ २०८१
बुधवार, माघ २ २०८१
  • काठमाडौं । नेपालका आदिवासी जनजाति मगर र थारु समुदायले आज राजधानीको टुँडिखेलमा ‘माघे सङ्क्रान्ती’÷माघी महोत्सव र साँस्कृतिक कार्यक्रम भव्यताका साथ मनाएका छन् । महोत्सवमा दुवै समुदायले आ–आफ्ना रहनसहन, वेशभूषा र जातीय पहिचान झल्कने साँस्कृतिक झाँकीसहित गीतसङ्गीत प्रस्तुत गरेका थिए ।

    नेपाल मगर सङ्घद्वारा आयोजित ‘प्रमुख राष्ट्रिय सांस्कृतिक पर्व माघे सङ्क्रान्ती–२०८१’ कार्यक्रममा मगर समुदायको पहिचान झल्कने घुमाउने घर र सो समुदायले प्रयोग गर्दै आएका कृषि औजारलगायत मौलिक र सांस्कृतिक रहनसहन वेशभूषा प्रदर्शनमा राखिएको थिए ।

    सो अवसरमा आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका उपाध्यक्ष रेमश गुरुङले राजनीतिक, सामाजिक, भाषिक र सांस्कृतिक अधिकार प्राप्त गर्न मगर समुदाय एकताबद्ध भएर लाग्नुपर्ने बताए । सङ्घका सल्लाहकार एवं संविधानसभा सदस्य अमरसिंह पुनले राणा र राजतन्त्रविरुद्ध एकताबद्ध भएर लडेका राजनीतिक दल र नेतृत्वले मुलुकको समृद्धिका निमित्त सामूहिक तथा एकताबद्ध भएर पहल गर्नुपर्नेमा जोड दिए ।

    सांस्कृतिक संस्थानका महाप्रबन्धक किरणबाबु पुनले सांस्कृतिकरुपमा धनी मगर समुदायले संस्कृति संरक्षण, प्रवद्र्धन र पुस्तान्तरणमा ध्यान दिनुपर्ने बताए ।

    यस्तै थारु कल्याणकारीसभाले आयोजना गरेको ‘थारु राष्ट्रिय माघी महोत्सव तथा सांस्कृतिक कार्यक्रम’मा थारु महिला लेहेङ्गा, चोली, कन्सेरी, झुम्का, बुँलाकी, पगिया र कारालगायत मौलिक पोसाक तथा गहनामा सजिएका थिए । थारु समुदायका कलाकारले झुमरा, मघौटा, धुमरु, डम्फु, छलिया र छोक्रा नाच प्रस्तुत गरेका थिए ।

    ढिक्री, अनदीको भात, मुरही, बरिया, घुँगी, गङ्गटा, सिपी, मुसाको चटनी, परेवाको सुपलगायत स्थानीय परिकार बिक्रीमा राखिएको छ । महोत्सवमा एक सयभन्दा बढी स्थानीय खानाका ‘स्टल’ राखिएका छन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij