२०८३, कार्तिक २४ गते

Nov 09 2026

Logo

२०८३, कार्तिक २४ गते | Nov 09 2026

images
  • समाचार
  • रुपन्देही डेरी व्यवसायी समितिको अधिवेशन सम्पन्न...
समाचार

रुपन्देही डेरी व्यवसायी समितिको अधिवेशन सम्पन्न , अध्यक्षमा बिष्णु पाण्डे चयन

रुपन्देही डेरी व्यवसायी समितिको अधिवेशन सम्पन्न , अध्यक्षमा बिष्णु पाण्डे चयन

मंगलवार, माघ १ २०८१
मंगलवार, माघ १ २०८१
  • रुपन्देही । रुपन्देही डेरी व्यवसायी समितिको १६औं वार्षिक साधारण सभा तथा ७औं अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनबाट विष्णु प्रसाद पाण्डेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको छ। समितिको नयाँ नेतृत्वले डेरी व्यवसायीहरूलाई एकजुट गर्दै गुणस्तर वृद्धि र व्यवसायको विस्तारमा नयाँ युग सुरु गर्ने आशा गरिएको छ।

     उक्त  निर्वाचित कार्यसमितिमा उपाध्यक्षमा जीवलाल न्यौपाने, सचिवमा याम प्रसाद शर्मा, कोषाध्यक्षमा कमल काफ्ले, र सहसचिवमा गोपाल  प्रसाद नेपाल चयन भएका छन्। यसैगरी, सदस्यहरूमा गोबिन्द गुरुङ, मिना कडेंल, रमा ज्ञवाली, मदन काफ्ले, जगदीश गहिरे, र लेखनाथ बेलबासे निर्वाचित भएका छन्। लेखा संयोजकको जिम्मेवारी कृष्ण प्रसाद उपाध्यायले पाएका छन् भने सदस्यहरूमा हरि न्यौपाने र सन्देश चापागाईं चयन भएका छन्।

    उक्त साधारणसभाकी प्रमुख अतिथि बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रा देवी अर्यालले डेरी व्यवसायको विकासका लागि नगरपालिकाले सधैं साथ दिने बताएकी छन्। “कृषि क्रान्ति अबको मुख्य आधार हो,” भन्दै नगरपालिकाले दूध तथा दुग्धजन्य उत्पादनको विविधीकरण र बजारीकरणमा आवश्यक सहयोग पुर्याउने प्रतिवद्धता समेत प्रमुख अतिथि अर्यालले व्यक्त गरिन ।

    यसैगरी कार्यक्रमका विशिष्ट अतिथि बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरि प्रसाद अर्यालले डेरी व्यवसायीहरूलाई कच्चा दूध मात्र बिक्री वितरणमा सीमित नभई विविधीकरण र उपभोक्ता जागरणमा लाग्न सुझाव दिए। उनले व्यवसायीहरूलाई उत्पादनका नयाँ क्षेत्रमा लगानी गरी व्यवसायको दिगोपन सुनिश्चित गर्न आग्रह गरे।

    यसैगरी उक्त कार्यक्रममा रुपन्देही उद्योग संघका वरिष्ठ उपाध्यक्ष कृष्ण प्रसाद पराजुली, संस्थापक अध्यक्ष भुवनेश्वर न्यौपाने, उपभोक्ता हित संरक्षण मञ्च बुटवलका अध्यक्ष समुन्द्र जिसी, रुपन्देही व्यापार संघका कोषाध्यक्ष मणि खनाल, खुद्रा किराना व्यवसायी संघका अध्यक्ष महेन्द्र पोखरेल र मासु व्यवसायी समितिका अध्यक्ष विशाल थापालगायतले शुभकामना व्यक्त गरे।

    निवर्तमान अध्यक्ष रामकृष्ण शर्माको सम्बोधन ! 

    कार्यक्रमका अध्यक्ष तथा निवर्तमान अध्यक्ष रामकृष्ण शर्माले आफ्नो कार्यकालको  अनुभव साझा गर्दै डेरी व्यवसायीहरूको हितमा समितिले गरेका प्रयासहरूको चर्चा गरे। उनले बजारमा गुणस्तरहीन र अवैध रूपमा सञ्चालन भइरहेका डेरी उत्पादनको नियन्त्रणका लागि समिति सक्रिय रहेको जानकारी गराए। बिना इजाजत सञ्चालन भएका पसलहरूलाई कानूनी दायरामा ल्याउन पहल गरिएको र मापदण्ड विपरीतका गतिविधिहरूलाई कानूनी कारबाही गर्न सिफारिस गरिएको बताए। बजारमा दुग्ध क्षेत्रमा अराजकता मच्चाउनेहरुलाई नछाड्ने चेतावनी दिदै व्यवसायीहरु विस्थापित हुनबाट जोगाउने प्रण गरे । बुटवल उपमहानगरपालिकाले लागु गरेको मापदण्डअनुसारको पसलको बोर्ड राख्ने अभियान संचालन योजना समेत सार्वजनिक गरे , साथै उनले नयाँ नेतृत्वलाई सफल कार्यकालको शुभकामना दिँदै समितिको आगामी योजनाहरूमा पूर्ण सहयोग रहने प्रतिबद्धता जनाए। साथै उनले आफ्नो कार्यकाल ऐतिहासिक बनाउन सहयोग गर्ने कार्यसमिति , बुटवल उपमहानगरपालिका , विभिन्न संघ संस्था तथा व्यवसायीहरुलाई धन्यवाद प्रदान गरे ।

    रुपन्देही डेरी व्यवसायी समितिको नयाँ नेतृत्वले डेरी व्यवसायको सुदृढीकरण गर्दै व्यवसायीहरूको हित र उपभोक्ताहरूको विश्वास कायम गर्न दिगो कदम चाल्ने अपेक्षा गरिएको छ। नवगठित कार्यसमितिले नयाँ योजनाहरूलाई कार्यान्वयनमा ल्याउँदै डेरी व्यवसायमा आर्थिक क्रान्तिको आधार तयार गर्ने लक्ष्य लिएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij