बुटवल । बुटवल बजार क्षेत्रमा सामान किनमेल गर्न आउँदा सबैभन्दा ठुलो समस्या गाडी पार्किङको देखिएको थियोे । बुटवलको मुख्य बजार अमरपथ , राममन्दिर लाइन , विपी चोक , संगमपथ , अस्पताल लाइन आदि स्थानमा त गाडी पार्किङको समस्याले गर्दा ग्राहकहरु नआउने र बजारमा सुनसान हुदै गइरहेको थियोे ।
बुटवल बजार क्षेत्रलाई चलायमान गराउन व्यवसायी संघ संस्थाहरुले निरन्तर पहल गरिरहेका थिए । सबैको बुझाई ग्राहकहरुलाई गाडी राख्ने ठाउँ नभएर समस्या परेको भन्ने नै थियोे । उनीहरूले बुटवल उपमहानगरपालिकालाई बारम्बार ध्यानाकर्षण गराइरहेका थिए । बुटवल उपमहानगरपालिकाले पनि व्यवसायी संघ संस्थाको बिषयमा महत्त्व दिएर आवश्यक स्थानको खोजी गरिरहेको थियो ।
बुटवल उपमहानगरपालिका तथा व्यवसायी संघ संस्थाको प्रयासले आजबाट सार्थकता पाएको छ । अब आफ्नै घर अगाडिको सडक भए पनि घर धनीले आफ्नो चारपाङ्ग्रे साधन राख्न पाउने छैनन् । उनीहरुले आफ्नो साधन बुटवल उपमहानगरपालिकाले तोकेको पार्किङ क्षेत्रमा नै लगेर राख्नुपर्ने छ ।
आज बिहान एक कार्यक्रमको विच बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेले राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक मधुसूदन न्यौपानेलाई रु पाँच लाख बराबरको ट्राफिक सामाग्री हस्तान्तरण गरेर पार्किङ व्यवस्थापनको कामको शुरुआत गरे ।
उक्त कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख पाण्डेले बुटवलको बजार क्षेत्रलाई चलायमान गराउनको निम्ति व्यवसायी संघ संस्था , स्थानीय बासी , टोल समिति सबैको सहकार्यमा पार्किङको काम अगाडि बढाएको बताए ।
विभिन्न स्थानमा सुरक्षा व्यवस्था सहित गाडी पार्किङको व्यवस्था गरेको बताउदै प्रमुख पाण्डेले पालना नगरे कडा कारबाहीको चेतावनी समेत दिए । साथै नगर प्रमुख पाण्डेले पार्किङ व्यवस्थापन पछि बुटवल बजारमा थप चहलपहल बढ्ने बिश्वास समेत व्यक्त गरे ।
पार्किङ व्यवस्थापन समितिका संयोजक समेत रहेका बुटवल ५ का वडा अध्यक्ष हरि प्रसाद श्रेष्ठले अमरपथ , राममन्दिर ,संगमपथ एरिकाका गाडीहरुलाई ट्राफिक चोक देखि पुर्ब पुरानो फिल्महल रहेको स्थानमा पार्किङको व्यवस्था गरेको जानकारी गराए । उक्त स्थानमा पार्किङ गरेबापत प्रति गाडीको रु पचास रुपैयाँ मात्र निर्धारण गरेको समेत अध्यक्ष श्रेष्ठले स्पष्ट पारे । उक्त स्थान निजि स्वामित्वको रहेको कारण १० बर्षको लागि पार्किङको संझौता गरेको वडा नं ४ का अध्यक्ष तथा पार्किङ व्यवस्थापन समितिका सदस्य नरिश्वर पौडेलले जानकारी गराए । अध्यक्षले पौडेलले पुलचोक एरियाको बालमन्दिर , जेसिस चोक एरियाको प्रदेश प्रमुखको कार्यालय पछाडि , तथा अस्पताल लाइनको श्रवण पथमा पार्किङको व्यवस्था गरेको जानकारी गराए । उक्त कार्यक्रममा वडा नं ४ का अध्यक्ष लोकनाथ न्यौपाने , बुटवल उपमहानगरपालिका प्रमुख प्रशासकिय अधिकृत मित्रमणी खनाल , पत्रकार महासंघका उपाध्यक्ष बिश्वास ढकाल , राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका प्रहरी नायव उपरीक्षक मधुसूदन न्यौपाने लगाएतले सबै मिलेर पार्किङ व्यवस्थापनलाई सहयोग गर्न आग्रह गरेका थिए ।
