काठमाडौँ/ नेपाल कम्युनिस्ट पार्टीले पार्टी पुनर्गठन दिवसको अवसरमा मङ्सिर ७ गते दिपावली र ८ गते भृकुटीमण्डपमा जनसभा गर्दैछ । पार्टी पुनर्गठनको ११ औं दिवसको पूर्वसन्ध्यामा मङ्सिर ७ गते बेलुका ५:३० बजे पार्टी सम्बद्ध संगठनका निकायदेखि कार्यकर्ता र जनस्तरसम्म दिपावली गर्ने बताइएको छ । मङ्सिर ८ गते पार्टी पुनर्गठन दिवसको अवसरमा काठमाडौँको भृकुटीमण्डपमा जनसभा कार्यक्रम आयोजना गरिएको छ । उक्त कार्यक्रमलाई महासचिव विप्लव सीले सम्बाेधन गर्ने नेकपाले जनाएको छ ।
विचार, राजनीति र संगठनको हिसाबले भिन्न प्रस्तावसहित नेपाल कम्युनिस्ट पार्टी पुनर्गठन गरिएको दिनलाई दिवसको रूपमा मनाउन मङ्सिर ८ गते काठमाडौँको भृकुटीमण्डपमा उत्सवसहितको कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रमलाई महासचिव विप्लव लगायत पार्टीका शीर्ष नेताहरुले सम्बोधन गर्नेबारे यसअघि नै सार्वजनिक गरिएको पोस्टरमार्फत जानकारी दिइएको छ ।
पुनर्गठन दिवसलाई नेपाली क्रान्ति र जनताको पहलकदमीका हिसाबले महत्त्वपूर्ण दिन भएकोले देशभर विभिन्न रचनात्मक कार्यक्रमसहित उत्सवको रूपमा मनाउने नेकपाले निर्णय गरेको छ।
काठमाडौँको भृकुटीमण्डपमा हुने कार्यक्रममा विभिन्न कलाकार, साँस्कृतिक टोलि र स्थानीय कला सँस्कृतिहरुको प्रस्तुति रहने र कार्यक्रम अघि सुन्धाराबाट बिहान ११: ३० बजे बागबजार हुँदै पुतलीसडकबाट जूलूस प्रदर्शन समेत गरिने नेकपा पोलिटब्युरो सदस्य एवम् काठमाडौँ जिल्ला इन्चार्ज माइला सीले जानकारी दिएका छन् ।
