गुल्मी । गुल्मीको सत्यवती गाउँपालिका ठूलो लुम्पेकमा रहेको सत्यवती मेलामा ४० हजारभन्दा बढी दर्शकले अवलोकन गरेका छन् । कार्तिक २७ देखि ३० गते सम्मको मेला अवधिमा उक्त संख्याका दर्शकहरुले सत्यवती मेलाको अवलोकन गरेको साकटेक नेपालका अध्यक्ष धनराज श्रीसले बताए ।
पूर्वमन्त्री सुदर्शन बरालले सत्यवती क्षेत्रको विकासका लागि आफुले सरकारमा हुँदा वा बाहिर हुँदा पहल गर्ने बताए । सत्यवती गाउँपालिका अध्यक्ष टिकाराम पाण्डेले स्थानीय सरकारको तर्फबाट सत्यवती क्षेत्रमा पूर्वाधार निर्माणका काम भइरहेको बताए । वडा नं. ३ का अध्यक्ष जितु तरामु मगरले सत्यवती क्षेत्र विकासमा सहयोग गर्ने सबैलाई धन्यवाद दिए । नेकपा गुल्मीका इन्चार्ज खोमा तरामु मगरले सोरठी नाच मगर समुदायको पुर्खेउली लोकनाच भएकोले युवाहरुमा पुस्तान्तरण गर्नुपर्ने बताए ।
मेलामा लोक कलाकार अर्जुन सापकोटा, सुदिप सिंजाली मगर, टिका पुन मगर, अमर राहादी मगर, गुणदेव थापा, थमी सिंजाली मगर, मेनुका श्रीसलगायत दर्जनौं कलाकारहरुले दर्शकलाई मनोरञ्जन प्रदान गराएको प्रदीप राहादी मगरले बताए ।
मेलामा हजारौं दर्शकको सहभागिताले व्यवसायीहरु उत्साहित भएको साकटेक नेपालका उपाध्यक्ष रूकबहादुर राहादी मगरले बताए । मेलामा दाङ्सिङ्गा सत्यवती आमा समूह र भन्ज्याङ देउराली आमा समूहको नाचले समेत दर्शकको ध्यानाकर्षण गराएको थियो ।
मेलाको अर्को आकर्षण सोरठी नाच थियो । कालीगण्डकी गाउँपालिका बकेङको चारछाप सोरठी समूहको सोरठी नाचमा उत्कृष्ट भएको छ । सोरठी संस्कृतिको संरक्षण र युवाहरुमा पुस्तान्तरणका लागी गरिएको प्रतियोगितामा पल्लोखोला सोरठी समूह, टुनिपोखरी सोरठी समूह, कुटडाँडा सोरठी समूह र दाङ्सिङ्गा सोरठी समूहले नाच प्रस्तुत गरेको थियो ।
मेलामा लाली गुराँसका मूर्तिहरु र क्यान्भास चित्र, आदिबासी प्रतीक धनुषकाँड बोकेको मूर्ति, सेल्फस्पट र सुन्दर चौरबाट देखिने हिमालका दृश्यहरु मेलाको आकर्षण थियो । कार्यक्रमको उद्घोषण प्रदीप राहादी मगर र खिमकुमारी तरामु मगरले गरेका थिए ।
मेलामा गुल्मी, पाल्पा, स्याङ्जा, बागलुङ, प्युठान र अर्घाखाँचीबाट मेला भर्न आएका थिए । सत्यदेवी शक्तिको प्रतीक रहेको र परापूर्वकालमा सत्यवती बज्यै सत्यको खोजी गर्न त्यस स्थान आई तपस्या गरेको र शक्ति आर्जन गरेको जनविश्वास रहेको छ ।
मेलाको अवसरमा प्रगतिशील समाज क्वाङले भलिबल प्रतियोगिता समेत राखेको थियो । हरेक बर्ष तिहारपछि बैकुण्ठ पूर्णिमामा ठूलो मेला लाग्दै आएको छ । मेलामा आउने दर्शकहरुले एकतर्फी मात्र सडक सुविधाका कारण ट्राफिक जामले सास्ती खेप्नुपरेको गुनासो गरेका थिए ।

