२०८३, कार्तिक २४ गते

Nov 09 2026

Logo

२०८३, कार्तिक २४ गते | Nov 09 2026

images
सुप्रिम सहकारी ठगी प्रकरण

रुपन्देहीमा रवि विरुद्ध सहकारी पीडितहरुको प्रदर्शन

रुपन्देहीमा रवि विरुद्ध सहकारी पीडितहरुको प्रदर्शन

उनीहरूले ‘सहकारीपीडितलाई न्याय दे’, ‘राजनीतिक संरक्षण बन्द गर’, ‘जनताको पैसा फिर्ता गर’, ‘सहकारी ठगलाई कारबाही गर’, ‘न्याय मार्न पाइँदैन’ जस्ता नारा लगाएका थिए।

बुधवार, कार्तिक २८ २०८१
बुधवार, कार्तिक २८ २०८१
  • रास्वपाका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा बयान गराउन मंगलबार रुपन्देही लगियो। उनका पक्षमा एकातिर रास्वपाका कार्यकर्ताहरूले प्रदर्शन गरे भने अर्कोतिर सहकारी पीडितहरूले पनि नाराबाजी गरिरहे।

    पीडितहरूले कुनै दबाब र प्रभावमा नपरी निष्पक्ष अनुसन्धान हुनुपर्ने र आफ्नो बचत रकम फिर्ता गरिनुपर्ने भन्दै नाराबाजी गरेका थिए।

    उनीहरूले ‘सहकारीपीडितलाई न्याय दे’, ‘राजनीतिक संरक्षण बन्द गर’, ‘जनताको पैसा फिर्ता गर’, ‘सहकारी ठगलाई कारबाही गर’, ‘न्याय मार्न पाइँदैन’ जस्ता नारा लगाएका थिए। यिनै नारासहितका तुल, ब्यानर र प्लेकार्ड पनि उनीहरूले प्रदर्शन गरेका थिए।

    लामिछाने कात्तिक २ गते काठमाडौँबाट पक्राउ परेका थिए। पक्राउलगत्तै उनलाई पोखरा लगिएको थियो। पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका उनीमाथि संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुरमा पनि अनुसन्धान भइरहेको छ।

    मंगलबार अपरान्ह रुपन्देही लगिएका लामिछानेको दिनभर सरकारी वकिल कार्यालयमा बयान गराइएको थियो। त्यस क्रममा सरकारी वकिल कार्यालयअघि बसेका समर्थकलाई हात हल्लाउँदै उनले भनेका थिए, ‘खोरमा थुनिँदैमा बाघ स्याल हुँदैन के!’

    सूर्यदर्शन ठगी प्रकरणमै पक्राउ परेका रविका व्यावसायिक साझेदार छविलाल जोशी बन्जाडेलाई बुटवल लगेर बयान गराइसकिएको छ। 

    बुटवलको सुप्रिम सहकारी ठगीको आरोपमा २८ जनाविरुद्ध जिल्ला अदालत रुपन्देहीमा यसअघि नै मुद्दा दायर भएको छ। अब पूरक अभियोगपत्र तयार गरी अदालतमा लैजाने प्रहरीको तयारी छ।

    के हो सुप्रिम ठगी प्रकरण?
    १८ सय २८ जना बचतकर्ताको ८६ करोड १८ लाख २३ हजार ७५४ रुपैयाँ ठगीको आरोप उनीहरूमाथि छ। 

    अभियोग पत्रमा तत्कालीन गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई प्रतिवादी नबनाइए पनि उनको नाममा २ करोड रुपैयाँ निकासा पाइएको अभियोगपत्रमै किटानीसाथ लेखिएको थियो।

    गोर्खा मिडिया नेटवर्क प्रालिको सञ्चालकमध्येमा रवि लामिछानेको पनि नाम मिसिलमा खुलाइएको हो। यसरी रकम अपचलन गर्ने कम्पनीमा रवि लामिछानेको एक लाख ८० हजार कित्ता सेयर रहेको देखिएको छ। यो सेयरको मूल्य एक करोड ८० लाख रुपैयाँ कायम गरिएको छ। २०७८ पुस ७ गते गोर्खा मिडिया नेटवर्क प्रालिको सेयर उनको नाममा कायम भएको थियो। 

    यस्तै रवि लामिछाने/गोर्खा मिडिया नेटवर्क प्रालि खाता नम्बर ००१–००१–१०५–००००२२४ मा २ करोड रुपैयाँ निकासा भएको देखिएको छ। 

    मिसिलमा उल्लेख गरिएको छ, ‘उक्त रकम श्री रवि लामिछानेको नाममा ऋण खडा गरी मिति २०७७ चैत १८ गते श्री गोर्खा मिडिया नेटवर्क प्रालिको ग्लोबल आईएमई बैंक लिमिटेडको खातामा सेवा शुल्कबापत चार लाख रुपैयाँ कट्टी गरी संस्थाले १ करोड ९६ लाख रुपैयाँ जम्मा गरेको देखिन्छ।’

    अनुसन्धानको मिसिलमै रविका नाममा रकम निकासा भएको उल्लेख गरिए पनि प्रहरीले लामिछानेसँग सोधपुछ कागजसम्म नगराएपछि शक्तिको दुरूपयोग गरेको आरोप लागेको थियो। यो विषय संसदमा समेत उठेपछि एमाले सांसद सूर्य थापाको नेतृत्वमा विशेष छानबिन समिति नै गठन गरिएको थियो। उक्त छानबिन समितिको प्रतिवेदनका आधारमा अहिले पुनः अनुसन्धान अघि बढेको हो।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij