कार्तिक २२, गुल्मी । गुल्मीको सत्यवती गाउँपालिका वडा नं. ३ ठूलो लुम्पेक सत्यवतीमा मेला लाग्ने भएको छ । आगामी कार्तिक बैकुण्ठ पूर्णिमाको अवसरमा २८ देखि ३० गतेसम्म मेला लाग्ने तयारी भएको हो ।
मेलामा लोकदोहोरी कलाकारहरु अर्जुन सापकोटा, सुदिप सिंजाली मगर, टिका पुन मगरलगायत कलाकारहरुको प्रस्तुति रहने आयोजक सत्यवती क्षेत्र संरक्षण तथा पर्यटन विकास केन्द्रले बताएको छ ।
मेलामा स्थानीय कलाकारहरु चन्दा श्रीस मगर, गुणदेव थापा, थमी सिंजाली, भिजन राहादी मगर र मेनुका श्रीसको प्रस्तुति समेत रहने आयोजकले बताएको छ ।
मेलामा स्थानीय आदिवासी संस्कृतिमा आधारित सोरठी, सालैजो, कौरा, झ्याउरेहरुको प्रस्तुति समेत रहनेछ । मेलाको अवसरमा सत्यवती बज्यैसित बर माग्ने, पुजापाठ गर्ने, परेवा उडाउने आदि गरिन्छ ।
मेलामा जानका लागि रिडी हुँदै रुद्रबेनी, अस्लेवा, ठूलो लुम्पेक हुँदै सत्यवती जाने सडकहरुको सरसफाई तथा मर्मत गरिएको छ । ठूलो लुम्पेक बैलुम हुँदै सत्यवती जाने, पुर्तिघाट लम्सराङ सडक, जोहाङ खैरेनी, लिम्घा, मसिना हुँदै सत्यवती पुग्ने सडकहरुको मर्मत गरिएको छ ।
यसबर्ष लाली गुराँसबाट बनेका मूर्तिहरु मेलामा प्रदर्शनीको अर्को मुख्य आकर्षक समेत रहेको छ । केही दिन अगाडी अमेरिका र बेलायतका विदेशी पर्यटकहरुले समेत उक्त मूर्तिहरुको अवलोकन गरेर फर्किएका थिए ।
