बुटवल । आज तिहारकको पहिलो दिन काग तिहार पर्व यमराजको दूतका रुपमा रहेको कागलाई मीठो-मीठो खाने कुरा दिएर मनाइँदैछ ।
बिहान सूर्योदयकालमा त्रयोदशी भएको दिन काग तिहार मनाउनुपर्ने भएकाले शास्त्रसम्मत् रुपमा आज बुधबार नै काग तिहार मनाइँदै छ ।
मृत्युका देवता यमराजले पृथ्वी लोकको खबर कागका माध्यमबाट थाहा पाउने भएकाले कागलाई यमदूतका रुपमा मान्ने शास्त्रीय विधान रहेको छ । कागले यमराजसमक्ष राम्रो खबर लगिदियोस् भनेर आजका दिन कागलाई पूजा आराधनासहित मीठो-मीठो खान दिई खुसी पार्ने चलन छ ।
लोक व्यवहारमा काग घरमा आई कराएमा शुभ बोल, शुभ बोल भनी भन्ने प्रचलनसमेत छ । काग घर वरपर आई कराएमा उसले केही संदेश लिएर आएको विश्वाससमेत गर्ने गरिन्छ ।
शास्त्र अनुसार ‘काकेन दधि भक्षितम्’ अर्थात् कागलाई दही भात मीठो लाग्ने भएकाले आजको दिन कागलाई दही भात खुवाएमा यमराजसमक्ष राम्रो सन्देश लगिदिने भएकाले कागलाई उसले मन पराउने खानेकुरा दही भात खुवाउने प्रचलन रहेको छ । दही भातको साथै सेलरोटी तथा मासु समेत कागलाई दिने गरिन्छ । यस अवसरमा कागेश्वरी मनोहरा नगरपालिका–१ स्थित कागेश्वरी महादेव मन्दिरमा आज विशेष पुजा गरिन्छ ।
दुष्कर्म गर्नेलाई मृत्यु पछि यमराजले दण्ड दिने र सत्कर्म गर्नेलाई धर्मराज भएर रक्षा गर्ने विश्वाससित पनि तिहार पर्व गाँसिएको छ । यमराजको यातनाबाट मुक्तिका लागि परिवारका सबै सदस्यका नाममा यम दीपदान गर्ने क्रम पनि आज बुधबार साँझदेखि नै सुरु गरिँदैछ । यम दीपदान दक्षिण फर्काएर गर्नुपर्ने वैदिक सनातन शास्त्रीय विधि रहेको छ । यमदीप दान गरे यमराजको यातनाबाट मुक्ति पाइने बिश्वास रहेको छ ।
यस वर्ष तिथिको घटबढका कारण सायंकालमा कार्तिक कृष्ण त्रयोदशी परेका दिन सुरु हुने यमपञ्चक मङ्गलबार बेलुकीदेखि नै सुरु भएको हो । यसैगरी लक्ष्मी स्थिर राख्नका लागि गरगहना एवं तामाका भाँडाकुँडा किन्ने धनतेरस पर्व हिजो मङ्गलबार नै मनाइएको छ । यस दिन गरगहना तथा भाँडाकुँडा किनेमा लक्ष्मी घरमै स्थिर भई बस्ने धार्मिक मान्यता छ । यस दिनलाई धन त्रयोदशी, भाण्ड त्रयोदशी नामले पनि चिनिन्छ ।
आजबाट शुरुआत भएको तिहार काग ,कुकुर , गाई गोरु लगाएत भाइ टीका पछि समाप्त हुन्छ । दिदिबहिनीको हातबाट तिहारको टीका लगाएमा यमराजले दुख नदिने वरदान आफ्नो बहिनी यमुनालाई दिएको कारणले टीका लगाउने चलन चलिरहेको बिश्वास गरिन्छ ।
