गुल्मी । कार्तिक ७ । गुल्मीको सत्यवती गाउँपालिका वडा नं. ३, ठूलो लुम्पेक सत्यवती पर्यटन क्षेत्रमा लाली गुराँसको काष्ठ मूर्तिकला तथा चित्रकला कार्यशाला चलिरहेको छ ।
कार्यशाला चलिरहेको बेला मूर्तिकार, चित्रकार एवं स्थानीय सहित कार्तिक ६ र ७ गते सत्यवती गाउँपालिका भित्रका पुरातात्विक र पर्यटकीय क्षेत्रहरु, भार्से देउराली, गोर्खा ग्यालेरी, रुद्रबेणीस्थित राममन्दिर, गुलम्दीस्थित शिला, सेती नाग, गाग्रीढुंगा, हचिङ्कोटस्थित भुरेटाकुरे दरबारको भग्नावेश क्षेत्रलगायत विभिन्न महत्वपूर्ण स्थानहरुको अध्ययन अवलोकन भ्रमण समेत गरेको छ ।
अध्ययन अवलोकन भ्रमणको क्रममा सत्यवती गाउँपालिकाभित्रका सबै वडाहरुको ढुंगाहरु संकलन गरि कार्यशालामा बनाइएका मूर्तिहरुमा राखिने प्राज्ञ भुवन थापाले बताएका छन् । भार्से भ्रमणको अवसरमा वडा अध्यक्ष होम राना मगरले आफ्नो वडाको ढुंगा मूर्तिकार भुवन थापालाई हस्तान्तरण गरेका थिए ।
सत्यवती गाउँपालिकाको आयोजना, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र आरम्भ समसामयिक नेपाली मूर्तिकार समूहको सहकार्यमा कार्यशाला सुरु भएको कार्यशाला तथा अध्ययन अवलोकन भ्रमणमा प्राज्ञ एवं मूर्तिकारहरु दिनेश्वर महतो, भुवन थापा ‘बहुवि’, नरेन्द्र भण्डारी, यमबहादुर थापा र गोविन्द चौधरी, मूर्तिकारहरु हरि बयम्बु, विशाल सारु मगर, बेनु थापा मगर, श्याम प्रजापति, शान्त राहादी, प्रितम राना, पुजन खतिवडा, गमदेव तरामु, निलम राहादी, देविराम राहादी, जय पुलामी, चित्रकार सुमित्रा राना, सुजाना श्रीस, यमबङ, अजय नेपाली, रिमा मिधुनलगायतको सहभागिता रहेका थिए ।
मूर्तिकारहरु सँगै स्थानीय अगुवा खोमा तरामु मगर, भीम तरामु मगर, पारस राहादी मगर, विरु तरामु मगर, झुपी राहादी मगर, भूमिका तरामु मगरलगायतको सहभागिता समेत रहेको थियो । भार्सेमा भ्रमण टोलीलाई वडा अध्यक्ष होम राना मगर, समाजसेवी नरु बुढाथोकीलगायत जनप्रतिनिधिहरु र रानीबन पाहुनाघरले स्वागत गरेको थियो भने ठूलो लुम्पेकमा थुम्कामा स्थानीयले स्वागत गरेका थिए ।
कार्यशालामा आदिवासी संस्कृति र सत्यवतीको किम्बदन्ती झल्किने आकर्षक मूर्तिहरु बनाइएको छ । बुढी सत्यवती र मसिना क्षेत्रका जंगलमा ढलेका लाली गुराँसका रुखका काठहरुबाट मूर्तिकला कार्यशाला गरिएको हो I
कार्यशाला कार्तिक १० गतेसम्म संचालन हुनेछ । यस अविधमा विभिन्न क्षेत्रबाट अवलोकन भ्रमण भइरहेको छ ।
