बुटवल । बुटवल बजारको मुख्य क्षेत्र अमरपथ बजारमा सधैंभरि जसो हुने डुवानको समस्याको दीर्घकालीन समाधानको बारेमा बुटवल उपमहानगरपालिकाले पहल थालेको छ ।
सामान्य पानी पर्दा समेत बजार क्षेत्र डुवानमा परि स्थानीय घर तथा व्यवसायीहरुका पसलहरुमा पानी पसेपछि धेरै नोक्सान भइरहेको थियोे ।
मुख्यतः नालीको प्रवेश द्वार माथि घर भए पछि समस्या भएको मानिएको नालीमा भित्र पसेर वडा अध्यक्ष सहितको टोलिले अवलोकन गर्दा त्यो अवस्था देखिएको छैन । नाली भित्र राम्रोसँग हिड्न समेत मिल्ने गरि बनाइएको छ भने नाली माथि गाडीहरु हिड्ने सडक समेत रहेको छ ।
सामान्य अवलोकनको क्रममा नालीको केही मिटर तलबाट नै पानी पास हुन नसकेर समस्या भएको जस्तो लागेको वडा अध्यक्ष नरेश्वर पौडेलले जानकारी दिनु भयो ।
नालीको मुहानमा केही सरसफाइ तथा बाढीले जम्मा गरेको माटो मान्छे तथा डोजरको प्रयोगले निकालिए पछि समस्या नहुने विश्वास अध्यक्ष पौडेलले गर्नु भएको छ । हिजोआज गरि झण्डै ५ टेक्टर माटो तथा फोहोर नालीबाट निकालिएको छ ।
यसको दीर्घकालीन समाधानको लागि बुटवल उपमहानगरपालिका तथा वडा कार्यालय तयार रहेको बताउनु हुदै वडा अध्यक्ष पौडेलले नाली सफाइ गरेपछि पनि समाधान नभए अरु विकल्प खोज्ने बताउनु भयो । आज केही स्थानीय सहित नाली भित्र नै पसेर निरिक्षण गर्दा माथि भन्दा तल पानी पास नभएर समस्या भएको देखिएको उहाँले बताउनु भयो ।
यसैगरी नगर प्रमुख खेलराज पाण्डेले अमरपथमा देखिएको डुवानको समस्या समाधानमा बुटवल उपमहानगरपालिकाले कुनै कसर बाँकी नराख्ने बताउनु भएको छ । प्राबिधिक सहित पुनः निरिक्षण गरेर थप योजना बनाउने र आगामी बर्षायामको समयमा डुवान नहुने गरि काम अगाडि बढाउने नगर प्रमुख पाण्डेले बताउनु भयो ।
केही स्थानीय बासीहरु भने नाली र सडक बनाउदा नै कमजोरी रहेको कारण ढाकिएको नाली खुला गर्नुपर्ने बताएका छन् ।
