बुटवल । सिद्धार्थ राजमार्गको तानसेन बुटवल खण्डको तानसेन ८ डुम्रेमा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । बुटवलबाट पाल्पा तर्फ आउदै गरेको लु ३१ प ६५०७ नम्बरको मोटरसाईकलले सोही दिशाबाट आउदै गरेको लु २ ख ४६३१ नम्बरको टिप्परलाई ओभरटेक गर्ने क्रममा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
दुर्घटनामा मोटरसाईकल चालक जिल्लाको रामपुर १ हाँगेपिपल बस्ने वर्ष १८ को प्रबिन उचई र सोही स्थान बस्ने वर्ष २२ को नारायण उचई ठकुरी घाइते भएका थिए । घाइतेहरुको लुम्बिनी मेडीकल कलेज प्रभासमा उपचार भैरहेकोमा गम्भीर घाइते रहेका नारायण उचई ठकुरीलाई थप उपचारको लागि भैरहवा मेडिकल कलेज रुपन्देही रिफर गरिएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरी निरीक्षक सन्दिप बेल्बासेले जानकारी दिनुभयो ।
