तुलसीपुर । दंगीशरण–१ रहरपुरकी संगीता चौधरीको व्यस्तता आजभोलि बढेको छ । केही समय अघिसम्म छोरालाई स्कुल पठाएपछिको समय यत्तिकै बिताउँदै आएकी उहाँलाई अहिले भने घरायसी कामबाट बचेको समयमा काँश, खर र बाबियोबाट निर्माण हुने सामग्री बनाउन भ्याइनभ्याइ छ ।
तीन महिना अघिसम्म उहाँले यो काम गर्नुभएको थिएन तर अहिले भने काममा पोख्त भएको उहाँले बताउनुभयो । ‘पहिला समय कसरी खेर गरिएको रहेछ भन्ने अहिले बुझ्दै छु । दिनभरको समय सुतेर र अनावश्यक गफगाफमै बित्थ्यो तर अहिले त्यो फुर्सद छैन’– उहाँले भन्नुभयो– ‘व्यस्ततासँगै आम्दानी पनि भइरहेको छ । काँश, खर र बाबियोबाट ढकिया बुन्ने थारु समुदायको परम्परागत सीप हो तर अहिले यसलाई अलि बृहत बनाएका छौं । पहिला प्रयोगका लागि मात्रै बनाइन्थ्यो, अहिले यसैबाट उद्यमी पनि बन्न सकिदोरहेछ भन्ने बुझेका छौं ।’
रहरपुरकै सरस्वती चौधरी पनि काँश, खर र बाबियोबाट सामग्रीहरु बनाउन उत्तिकै तल्लिन देखिनुहुन्छ । विगतमा ढकिया बुन्दै आउनुभएकी उहाँलाई यो सीप सिक्न धेरै समय लागेन तर पहिला ढकिया मात्रै बनाउँदै आउनुभएकी उहाँ अहिले भने फूलदानी, कलमदानी, हटकेशलगायतका सामग्री बनाउन सक्ने हुनुभएको छ । ‘वैशाख महिनामा हामी शेयर सदस्य भएको हाम्रो राजाकोट बहुउद्देश्यीय सहकारीबाट तालिम दिनुभएको थियो । त्यसपछिबाट सामग्री बनाउन थालेका हौं । दुई लट बेचिसक्यौं । माग ठीकै छ, आम्दानी पनि राम्रै भएको छ’– उहाँले भन्नुभयो– ‘दिउँसोमा खेर जाने समयको सदुपयोग भएको छ । भर्खरै शुरु गरेका हौं, त्यति पोख्त भइसकेका छैनौं तर पनि सामान्य खर्चका लागि श्रीमान्कै भर पर्ने अवस्था टरेको छ । यसलाई निरन्तरता दिदै गयौं भने आउने दिनमा राम्रो आम्दानी गर्न सक्छौं भन्ने लागेको छ । उत्पादन गरेका सामग्री थन्काउनुपरेको छैन ।’
यो उहाँहरुको मात्रै होइन दंगीशरण–१ रहरपुरमा स्थापना गरिएको कनरिया महिला ढकिया उद्यमी फर्ममा आवद्ध १३ महिलाको यथार्थ हो । तीन महिनायता दिनको ११ बजेपछि अघिल्लो दिन आफूले थालेको काम लिएर सरस्वती चौधरीको घरमा जम्मा हुन्छन् । सबै महिला एउटै थलोमा बसेर विभिन्न सामग्रीहरु तयार गरिरहेको दृष्यले रहरपुर गाउँ रहरलाग्दो देखिन्छ । ११ बजे जम्मा भएका उनीहरु तीन बजेसम्म समूहको काम गर्छन् र आ–आफ्नो घरतिर लाग्छन् । घरायसी काममा मात्रै सीमित भएका महिलाहरुले आफ्नो पुख्र्यौली सीपलाई व्यवस्थित गरी उद्यममा जोडिनु सकारात्मक भएको स्थानीय श्रीप्रसाद चौधरीले बताउनुभयो । उहाँले भन्नुभयो– ‘समूहमा सबै थारु समुदायकै महिला हुनुहुन्छ । यो थारु समुदायको पुख्र्यौली सीप हो तर कतिपय थारु महिलाहरुले अहिलेसम्म यो काम गर्नुभएको थिएन । उहाँहरुकै कारण ढकियालगायतका सामग्री बनाउन नयाँ पुस्ता पनि आकर्षित हुन थालेको छ । यसले थारु कलाको पहिचानसँग उद्यमी पनि बनाएको छ ।’
दंगीशरण–२ मा रहेको हाम्रो राजाकोट बहुउद्देश्यीय सहकारी संस्थाले स्थानीयस्तरमा भएका खासगरी आदिवासी जनजातिअन्तर्गतका लोपोन्मुख सीपलाई संरक्षण गर्ने र सम्बन्धित समुदायलाई पेशाप्रति आकर्षित गर्ने उद्देश्यले शेयर महिलाहरुलाई ढकिया बुनाइ तालिममा सहभागी गराएको संस्थाका उपाध्यक्ष चक्रमिलन विश्वकर्माले जानकारी दिनुभयो । ‘हामीले सहकारीमा आबद्ध भएका थारुजातिका महिलालाई ढकिया बुनाइमा सहभागी गराएर थारु समुदायको परम्परागत कलाको संरक्षण गर्दै उनीहरुलाई जीविकोपार्जनमा जोड्न सफल भएका छौं’– उहाँले भन्नुभयो– ‘उहाँहरुले उत्पादन गरेका सामग्री सहकारीबाटै बिक्री गरिदिने व्यवस्था मिलाएका छौं । काठमाडौंमा एउटा संस्थासँग सम्झौता गरिदिएका छौं । उहाँहरुले उत्पादन गरेका सबै सामग्री त्यही संस्थाले नै खरिद गर्दै आएको छ । उत्पादन गर्न सक्नुप¥यो, बजारको चिन्ता छैन ।’ सहकारीले दंगीशरण–२ को सरुवाडाँडामा पनि गनारी महिला ढकिया फर्म गठन गरेर ढकियालगायतका सामग्रीहरु उत्पादनमा प्रोत्साहन गरिरहेको उपाध्यक्ष विश्वकर्माले जानकारी दिनुभयो ।
कच्चा पदार्थको अभाव
ढकिया बुनाइमा महिलाहरुको आकर्षण बढेको छ तर कच्चा पदार्थ बाहिरबाट मगाउनुपर्ने अवस्था भएका कारण केही समस्याहरु देखिएको समूहकी अध्यक्ष फूलकुमारी चौधरीले बताउनुभयो । ‘बाबियो र खर त यहीं पनि पाइन्छ तर काँश यहाँ पाउन मुस्किल छ, बर्दियाबाट मगाउनुपर्ने हुन्छ । त्यस्तै हामीले निर्माण सामग्रीहरुमा लगाउने रङ पनि स्थानीयस्तरमा सहजै पाइँदैन, वीरगञ्जबाट मगाउनुपर्छ’– उहाँले भन्नुभयो– ‘पहिला खोलाको किनारमा प्रशस्तै काँस पाइन्थ्यो तर अहिले पाइँदैन । त्यसैले यहीं उत्पादन गर्न सकियो भने ढुवानी खर्च र पर्खनुपर्ने अवस्था हुने थिएन । हाम्रो स्थानीय बजारमा पाइने रङ गुणस्तरीय नहुँदा रंङसमेत बाहिरी जिल्लाबाट मगाउनुपर्छ ।’ जेठमा तालिम पूरा गरेयता समूहले दुई पटक आफूले उत्पादन गरेका सामग्रीहरु बिक्रीका लागि पठाइसकेको अध्यक्ष चौधरीले बताउनुभयो ।
एकराज भण्डारी, नयाँ युगबोध राष्टिय दैनिक
