गुल्मी, १३ भदौ । गुल्मीको ठूलो लुम्पेकका किसानहरुले टुसा र निउरो बजार पठाएर राम्रो आम्दानी गरेका छन् । गाउँबाट फर्कने सवारीसाधनमा दैनिकजसो टुसा, निउरो र अन्य तरकारी बजार पठाएका छन् ।
बर्खाको सिजनमा जंगलमा पाइने निगालोको टुसा र डौंडे निउँरो, माछे निउँरो, टमाटर, डल्ले खुर्सानी, गोबी, सिमी, तामा, नासपति, फर्सीको मुन्टा, तितेकरेली, बर्काउली बजारमा पुर्याएपछि किन्नेको हानथाप हुने गरेको छ । यहाँको अर्गानिक तरकारी बुटवल कृषि उपज केन्द्रमा रहेको सटर नं. २८ बाट बिक्री भइरहेको छ । किसानहरुले स्थानीय बजारमा समेत विक्री गरिरहेका छन् ।

गाउँ छोडेर विभिन्न पेशा, व्यवसाय र अध्ययनका सिलसिलामा बजार झरेका र बसाइसराइँ गरेकाहरुका लागि गाउँका अर्गानिक तरकारीहरु आकर्षण बनेको छ । गाउँका सबै तरकारी पसलमा समेत टुसा र निउरो विक्रिका लागि राखेका छन् । गाउँकालाई टिपेर बजार पठाउन भ्याईनभ्याई छ । स्वादिलो तरकारीको रुपमा परिचित ग्रामिण क्षेत्रमा पाइने निगालोको ‘टुसा’ र निउँरोको तरकारी र अचारको रुपमा धेरैले रुचाउने हुँदा बजारमा किन्नेको हानथाप हुने गरेको छ ।
ठूलो लुम्पेकका किसानले थाप्लेको लेकका जंगल र त्यसका सेरोफेरोमा टुसा भाँच्न पुग्ने गरेका छन् । किसानहरु झोलामा अर्नी बोकेर टुसा भाँच्नका लागि विहान ४ बजे उठेर हिँड्ने गरेका छन् । साउनदेखि असोज महिनासम्म जंगलमा टुसा पाइन्छ । थाप्लेको लेक २६ सय मिटर उचाइँमा रहेको छ । दुई हजार २२ सय भन्दा माथि उचाइँमा रहेको जंगलमा निगालोको टुसा पाइन्छ । टुसाले गाउँका किसानको आम्दानी बढाएको छ ।
गत बर्ष बुटवलस्थित कृषि उपज केन्द्र सटर नं. २८ बाट ४ लाख भन्दा बढीको टुसा विक्री मात्रै विक्री भएको थियो भने अहिले भदौको पहिलो हप्तासम्म करिब डेढ लाख भन्दा बढी विक्री भइसकेको फटिक राहादी मगरले बताए । असोजसम्म गुल्मीको भार्से र भडारभनका किसानले पठाउन सुरु गरेपछि विक्री थप बढ्ने उनले बताए ।
सत्यवती गाउँपालिका ठूलो लुम्पेक क्वाङका किसान जमुना श्रीस मगरले यो बर्ष मात्रै ३० हजारभन्दा बढीको टुसा बेचेकी छन् । उनले गएको बर्ष टुसा बेचेर भैँसीको पाडी किनेकी थिइन् । सत्यवती कृषि तथा पशुपालन समूहका किसानहरुले यो सिजनमा मात्रै दुई लाख ३० हजारभन्दा बढीको टुसा विक्री गरेको छ ।
थानी कृषि तथा पशुपालन समूहले यो सिजनमा टुसा बेचेर करिब ढाई लाखभन्दा बढीको कारोबार गरेको समूहकी अध्यक्ष लालमाया श्रीसले बताइन् । सिर्जनशील कृषि समूह कसिन्थलाका कृषक जमुना श्रीसले यो बर्ष टुसा बेचेर मात्रै करिब २० हजारभन्दा बढी आम्दानी गरेको बताइन् ।
