तानसेन । पाल्पाको तानसेन नगरपालिकामा समाजवादी मोर्चा नेपाल गठन भएको छ । मोर्चाका लुम्बिनी प्रदेश अध्यक्ष एवं नेकपा पोलिटब्युरो सदस्य वसन्त सीको प्रमुख आतिथ्यतामा भएको भेलाले नयाँ कमिटी गठन गरेको हो ।
भेलामा बोल्दै प्रमुख अतिथि वसन्त सीले संघीय लोकतान्त्रिक गणतन्त्रका प्राप्त उपलब्धिहरूको रक्षा गर्दै नेपाली विशेषताको समाजवादका लागि समाजवादी मोर्चा गठन गरिएको बताउनुभयो । उहाँले समाजवादलाई सैद्धान्तिक आधार मान्ने सबै राजनीतिक दल, बुद्धिजीवी र सरोकारवालाहरूलाई मोर्चामा आबद्व गर्नुपर्ने आवश्यकता रहेकोे बताउँदै त्यसका लागि मोर्चाले पाल्पाले महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताउनुभयो । उहाँले मोर्चाले समाजवादबारे बहस गर्ने र जनताका स्थानीय सरोकारका मुद्दाहरूलाई उठाउनुपर्ने बताउनुभयो ।
भेलामा नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य यादवबहादुर रायमाझीले अस्थिर सरकारका जनतामा बितृष्णा उठेको बताउदै समाजवाद जरुरी भएको बताउनुभयो । उहाँले दुई दलीय अवधारणा गलत भएको बताउदै संविधान रक्षाका लागि मोर्चा जरुरी भएको बताउनुभयो । उहाँले समाजवादी मोर्चाको लक्ष्य २०८४ को चुनाव नभएको बताउदै समाजवादको आधार निर्माण गर्नु रहेकोे बताउनुभयो ।
नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य अनिलकिशोर घिमिरेले समाजवादी मोर्चालाई सरकारमा जाने भर्याङ मात्रै बनाउन नहुने बताउदै समाजवादी क्रान्तिका लागि हुनुपर्ने बताउनुभयो ।
नेकपा केन्द्रीय सदस्य एवं पाल्पा इन्चार्ज धिरज सीले निर्वाचित नयाँ कमिटीलाई बधाई ज्ञापन गर्दै समाजवादी मोर्चा चुनावी मोर्चा नभएको भन्दै संसदीय व्यवस्थाको विकल्प समाजवादी व्यवस्थाका लागि भएको बताउनुभयो ।
भेलामा नेकपा एकीकृत समाजवादी केन्द्रीय सदस्य अशोक शाही, नेकपा माओवादी केन्द्रका प्रदेश सदस्य लिला सोमै मगर, तानसेन नगरपालिका उपाध्यक्ष प्रतीक्षा सिंजाली मगर, नेकपा गुल्मी इन्चार्ज खोमा सी लगायतको सहभागिता रहेको थियो ।
भेलाले नेकपाका नेता सुकुमारको संयोजकत्वमा नगर कमिटी गठन गरेको छ । सदस्यहरूमा नेकपाबाट किसन सी, नेकपा माओवादी केन्द्रबाट केशव पौडेल, मन्जु बिक, नवराज बस्याल, नेकपा एकीकृत समाजवादीका प्रेम शाही, शिव थापा, नारायणी खनाल रहेका छन् ।
नेकपा पाल्पाका सेक्रेटरी एवं मोर्चाका जिल्ला अध्यक्ष मीन सी अध्यक्षतामा नेकपा एसका जगन्नाथले संचालन र नवनिर्वाचित नगर अध्यक्ष सुकुमारले प्रतिबद्धता मन्तब्य राख्नुभएको थियो ।
