२०८३, कार्तिक २४ गते

Nov 09 2026

Logo

२०८३, कार्तिक २४ गते | Nov 09 2026

images
--5764

पौरखले आत्मनिर्भर बन्दै ठूलो लुम्पेकका किसानहरू

पौरखले आत्मनिर्भर बन्दै ठूलो लुम्पेकका किसानहरू

शुक्रवार, भाद्र ७ २०८१
शुक्रवार, भाद्र ७ २०८१
  • गुल्मी । गुल्मीको सत्यवती गाउँपालिका वडा नं. ३, क्वाङका किसान रूकबहादुर राहादी मगरले एक सिजनमा ३० क्वीन्टलभन्दा बढी टमाटर बेच्दै आएका छन् । उनले टमाटरसँगै सिमी, गोपी, प्याज, भेन्डी, तीते करेला, काक्रालगायत तरकारीहरू समेत लगाउदै आएका छन् । व्यवसायिक कृषि गर्दै आएका रूकबहादुरले यही पेशाबाट जीविका चलाउदै आएका त छन् तर मेहनत अनुसार बजारको मूल्य नपाउदा चिन्तित छन् । उनी भन्छन्,“कृषि काममा मेहनत धेरै छ, तर त्यसअनुसार बजार मूल्य छैन ।” 

    सत्यवती कृषि तथा पशुपालन समूह बनाएर क्वाङ टोलका २१ घरपरिवारले व्यवसायिक कृषि गर्दै आएको छ । समूहका अध्यक्ष चेतमान राहादी मगरले टमाटर मात्रै बार्षिक १० हजार क्वीन्टल भन्दा बढी विक्री गर्दै आएको बताए । उनले साउनदेखि माघ महिनासम्म टमाटर विक्री गर्दै आएको बताए । समूहका सदस्यहरूले टमाटरसँगै सिमी, फर्सी, क्राक्रा, चटेला, हिउँदे र बर्खे सीमी, बन्दा, खुर्सानी आदि तरकारीहरू समेत विक्री गर्दै आएको बताए । समूहका किसानहरुले गतबर्ष टिमुर, अलैंची र ओखार समेत लगाएका छन् । समूहले गाउँपालिकाको सहयोगमा सत्यवती पर्यटन क्षेत्रमा ५ हजारभन्दा बढी चिया रोपण गरिसकेको छ । उनका अनुसार यस बर्ष थप टिमुर, अलैची, कागती र चियाका विरूवा विस्तार गर्ने योजना रहेको समेत बताए । समूहका प्रत्येक घरले अहिले १२ सयभन्दा बढी पोषणयुक्त लोकल कुखुरा समेत पालन गरेको समूहकी सदस्य थमी श्रीस मगरले बताइन् । 

    दाङ्सिङ्गा स्थित थानी कृषि तथा पशुपालन समूहले व्यवसायिक कृषि गर्दै आएको छ । समूहकी अध्यक्ष लाउमाया श्रीस मगरले समूहले उत्पादन गरेको बार्षिक १८ हजार क्वीन्टल भन्दा बढी टमाटर विक्री गरेको बताइन् । उनको समूहले अहिले झण्डै ९० वटा टनेल बनाएर टमाटर खेती गर्दै आएको छ । समूहले टिमुर, कागती, सुन्तला, ओखर, चिया, खुर्सानी विभिन्न फलफूल तथा तरकारी खेती गर्दै आएको छ । समूहकी अध्यक्ष श्रीस मगरका अनुसार किसानले उत्पादनमा मेहनत अनुसार बजारमा मूल्य नपाएको गुनासो गरिन् । उनले सरकारले ५० प्रतिशत अनुदान दिएपनि बजारमा न्यून मूल्य हुँदा किसानहरू मारमा परेको बताइन् । उनले बजारको समस्या भएपनि उत्पादनले किसानलाई उत्साहित नै बनाएको बताइन् । 

    सिर्जनशील बहुउद्देश्यीय कृषि समूह कसिन्थला, नमुना कृषि समूह गेझा–कुटडाँडा, सिङ्दी–बझाडी, रहुँता, कुरह, ल्हाचे, देउराली–भन्ज्याङ, थुम्काका किसानहरूले विभिन्न कृषक समूह बनाएर व्यवसायिक कृषि उत्पादन गर्दै आएका छन् । 

    ठूलो लुम्पेकको घारडाँडा, कुटडाँडा, बोरह, बझाडीमा कफी खेती हुँदै आएको छ । स्थानीय किसान सरोज राना मगरको अध्यक्षतामा मिश्रित कफी उत्पादक कृषक समूह र गीरबहादुर राहादी मगरको अध्यक्षतामा उद्यमशील कफी उत्पादक कृषक समूह रहेको छ । जिल्ला समन्वय समितिका सदस्य एवं अगुवा कृषक नरमाया रानाले बार्षिक १५ लाखभन्दा बढीको कफी ठूलो ल्हुम्पेकबाट निर्यात हुँदै आएको बताइन् । उनले गुल्मीमा उत्पादन गरिएको कफी विश्वमा परिचित रहेको बताइन् । उनले भनिन्,“ठूलो लुम्पेकका किसानहरूलाई कफी खेतीले उत्साहित बनाएको छ तर कफीको व्यवसायिक खेतीका लागी सडक, सिंचाइको अभाव र किसानको मेहनत अनुसार बजार मूल्यको समस्या रहेको छ ।” अहिले ठूलो लुम्पेकमा उत्पादन भएको कफी देश विदेशमा निर्यात हुँदै आएको छ ।    

    आदर्श कृषि तथा बहुउद्देश्यीय समूहका अध्यक्ष नरबहादुर पुलामीले परम्परागत खेतीलाई व्यवसायिकरण  गर्न थालेपछि किसानहरू उत्साहित भएको बताएका छन् । समूहमा आबद्ध किसानहरूले अहिले टमाटर, खुर्सानी, बेसार, अदुवा, भेण्टा, सिमी, काक्रालगायत तरकारीहरू उत्पादन गर्दै आएका छन् । चक्लाबन्दीमा कागती खेती गरिएको छ । किसानहरू व्यवसायिक बाख्रापालनतिर समेत आकर्षित भएका छन् । पूर्णिमा अर्गानिक कृषि तथा पशुपन्छी फार्मले विभिन्न थरीका तरकारी, सुन्तला र कुखुराहरू उत्पादन गरेर विक्री गरिहेको छ । कृषक इन्द्र विश्वकर्मा सञ्चालक रहेको कृषि फार्मले सिजनमा ३० क्वीन्टलभन्दा बढी सुन्तला मात्रै उत्पादन गर्दै आएको छ । 

    ल्हुम्पेकी कृषि तथा बहुउद्देश्य सहकारी संस्थाका अध्यक्ष मतिप्रसाद श्रीसले सहकारीमा २१५ जना कृषकहरू आबद्ध रहेको बताए । सहकारीले ठूलो लुम्पेकका कृषकहरूले उत्पादन गर्दै आएका तरकारीहरू बुटवलको कृषि उपज केन्द्रको सटर नं. २८ बाट विक्री वितरण गर्ने व्यवस्था मिलाएको बताएका छन् । कृषकहरूले उत्पादनबाट हुँदै आएको आयआर्जनलाई सहकारीमा बचत गर्दै आएका छन् । 

    सत्यवती गाउँपालिका पशु विकास शाखाका प्रमुख नारायण खनालले दर्ता भएका कृषक समूह र साना किसान मार्फत् पालिकाले पर्याप्त बजेट व्यवस्था गरेर उत्पादनमा जोड दिइएको बताए । उनले ठूलो लुम्पेकका पशु किसानहरूको आयआर्जनलाई ध्यान दिएर दुध सङ्कलनको व्यवस्था गरिएको बताए । कृषि विकास शाखाका प्रमुख उपकार भण्डारीले पालिकाबाट उत्पादन भएको बार्षिक ३६ टन तरकारी बजार पठाइएकोमा त्यसमध्ये ३४ टन तरकारी ठूलो लुम्पेकका किसानहरूले उत्पादन गरेको बताए । उनले पालिकाभरीका किसानलाई एउटै सहकारी मार्फत् व्यवस्थित गर्न लागिएको समेत बताए । 

    ठूलो लुम्पेकमा कृषि उत्पादनका लागी कृषि ज्ञान केन्द्र, प्रधानमन्त्री कृषि आधुनिकरण, प्रदेश र स्थानीय सरकारले सहयोग गर्दै आएको छ ।

    (लालदिशा, अंक ४, २०८१ असार-भदौमा प्रकाशित)

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij