२०८३, कार्तिक २० गते

Nov 05 2026

Logo

२०८३, कार्तिक २० गते | Nov 05 2026

images
  • समाचार
  • विद्युत्मा १३ प्रतिशत भ्याट तत्काल हटाउन...
News

विद्युत्मा १३ प्रतिशत भ्याट तत्काल हटाउन कुलमान घिसिङको माग : ‘कृषि सिँचाइ निःशुल्क गरौँ, घरघरमा इन्डक्सन बालौँ’

विद्युत्मा १३ प्रतिशत भ्याट तत्काल हटाउन कुलमान घिसिङको माग : ‘कृषि सिँचाइ निःशुल्क गरौँ, घरघरमा इन्डक्सन बालौँ’

शनिवार, श्रावण २३ २०८३
शनिवार, श्रावण २३ २०८३
  • काठमाडौं । पूर्वनेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कृषि सिँचाइ, सामुदायिक खानेपानी तथा घरायसी विद्युत् उपभोगमा लगाइएको १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) तत्काल फिर्ता लिन सरकारसँग जोडदार माग गरेका छन्।

    घिसिङले सामाजिक सञ्जाल फेसबुकमार्फत सरकारले कृषक र सर्वसाधारणलाई राहत दिनुपर्ने अत्यावश्यक क्षेत्रमा उल्टै करको भार थपेको भन्दै सरकारको विद्युत् नीतिमाथि कडा प्रश्न उठाएका हुन्।

    घिसिङका अनुसार कृषि सिँचाइका लागि डिमाण्ड चार्ज छुट गरी विद्युत् महसुल प्रतियुनिट करिब ७ रुपैयाँबाट घटाएर करिब २ रुपैयाँ कायम गरिएको थियो। त्यस्तै, सामुदायिक खानेपानी लिफ्टका लागि पनि डिमाण्ड चार्ज छुट गरी प्रतियुनिट करिब ९ रुपैयाँबाट करिब ४ रुपैयाँ २० पैसा कायम गरिएको थियो।

    ‘कृषि सिँचाइका लागि विद्युत् निःशुल्कै गर्दा पनि हुन्छ। यस्ता अत्यावश्यक क्षेत्रमा सहुलियत दिनुपर्नेमा उल्टै १३ प्रतिशत भ्याट लगाउनु सरकारको कदम गलत छ,’ घिसिङले भनेका छन्।

    उनले कृषकको उत्पादन लागत निरन्तर बढिरहेको अवस्थामा विद्युत्मा समेत कर थपिँदा कृषि क्षेत्र थप मारमा पर्ने बताएका छन्। मल, बीउ, ज्याला, कृषि यन्त्रको भाडालगायत सबैको मूल्य बढिरहेको तर किसानले उत्पादन गरेको वस्तुको मूल्य भने घटाएर बेच्नुपर्ने बाध्यता रहेको उनको भनाइ छ।

    ‘कृषकले लिफ्ट सिँचाइ नगरी खेती गर्न सकिँदैन। गाउँ–गाउँमा पानी लिफ्ट नगरी खानेपानी पिउन कठिन छ,’ घिसिङले प्रश्न गरेका छन्।

    ग्यासमा लाइन लगाउने होइन, घरघरमा इन्डक्सन बाँडौँ : घिसिङ

    घिसिङले देशमा ग्यासको अभाव भइरहेका बेला विद्युत् खपत बढाउन सरकारले इन्डक्सन चुल्हो प्रयोगलाई प्रोत्साहन गर्नुपर्ने बताएका छन्।

    ‘घरघरमा ग्यास अभाव छ। यस्तो बेला विद्युत्मा सहुलियत दिएर इन्डक्सन चुल्हो बाल्न प्रोत्साहन गर्नुपर्नेमा उल्टै घरायसी ग्राहकलाई पनि विद्युत्मा भ्याट,’ उनले लेखेका छन्।

    उनले सरकारले ग्यास सिलिन्डर वितरण गर्ने योजनाभन्दा इन्डक्सन चुल्हो वितरण गर्ने योजना ल्याउनुपर्ने धारणा राखेका छन्।

    ‘ग्यास सिलिन्डर होइन, अब इन्डक्सन चुल्हो बाँड्ने स्किम सरकारले ल्याउनुपर्छ। देशमा उत्पादित विद्युत् खेर फाल्ने अनि ग्यासमा लाइन लगाउने—यो कस्तो विडम्बना हो?’ घिसिङले प्रश्न गरेका छन्।

    नेपालको विद्युत् पूर्वाधारले इन्डक्सन चुल्होको व्यापक प्रयोग र विद्युतीय सवारीसाधनको चार्जिङबाट आउने थप माग धान्न सक्ने अवस्था रहेको दाबी गर्दै उनले आवश्यक प्राविधिक समस्या आए तत्काल समाधान गर्न सक्ने क्षमता प्राधिकरणले विकास गरिसकेको बताएका छन्।

    ‘मेरो घरमा भान्सा र गाडी सबै विद्युत्बाटै चल्छ। अब सबैको घरघर विद्युत्बाट चलाऔँ,’ घिसिङले आह्वान गरेका छन्।

    विद्युत्को घरेलु खपत बढाउँदा एलपी ग्यास तथा पेट्रोलियम पदार्थको आयात घट्ने, विदेशी मुद्रा सञ्चिति बढ्ने र देश आत्मनिर्भर अर्थतन्त्रतर्फ अघि बढ्ने उनको तर्क छ।

    ‘भ्याट फिर्ता लिनुस्, अर्बौं बक्यौता उठाउनुस्’

    घिसिङले सरकारले विद्युत्मा लगाएको १३ प्रतिशत भ्याट तत्काल फिर्ता लिनुपर्ने माग गरेका छन्।

    उनले अत्यावश्यक सेवा तथा उत्पादन क्षेत्रसँग जोडिएको विद्युत्मा करको भार थप्नुको सट्टा डेडिकेटेड र ट्रंक लाइनको अर्बौं रुपैयाँ बक्यौता तत्काल उठाउन सरकारलाई आग्रह गरेका छन्।

    विद्युत्को उत्पादन बढ्दै गएको अवस्थामा खपत विस्तार गर्ने नीति लिनुपर्नेमा विद्युत् प्रयोगलाई नै महँगो बनाउने नीति गलत भएको घिसिङको निष्कर्ष छ।

    उनले सिँचाइ, खानेपानी, उद्योग, घरायसी भान्सा र विद्युतीय सवारीसाधनसम्म विद्युत्को प्रयोग विस्तार गरेर विद्युत् खपत बढाउने र आयातित ग्यास तथा पेट्रोलियम पदार्थमाथिको निर्भरता घटाउने नीति लिन सरकारलाई सुझाव दिएका छन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij