बुटवल, साउन ५। बुटवल हस्पिटल प्रा.लि.को आयोजनामा सम्पन्न रक्तदान कार्यक्रममा ५१ युनिट रगत संकलन भएको छ। बिरामीका लागि आवश्यक रगतको सहज उपलब्धता सुनिश्चित गर्ने उद्देश्यले आयोजित कार्यक्रममा चिकित्सक, नर्स, कर्मचारी, बिरामीका आफन्त तथा युवाहरूको उत्साहजनक सहभागिता रहेको थियो।
अस्पतालको वार्षिक कार्यतालिकाअनुसार आयोजित कार्यक्रम नेपाल रेडक्रस सोसाइटी, रक्तसञ्चार सेवा केन्द्र, बुटवल को प्राविधिक सहयोगमा सम्पन्न भएको हो। कार्यक्रममा पहिलो पटक रक्तदान गर्ने युवाहरूको समेत उल्लेख्य सहभागिता रहेको अस्पतालले जनाएको छ।
रक्तदान कार्यक्रमको उद्घाटन गर्दै बुटवल हस्पिटल प्रा.लि.का अध्यक्ष चुन्नु प्रसाद पौडेलले रक्तदान गर्ने सम्पूर्ण दाताप्रति आभार व्यक्त गर्दै बिरामीको आवश्यकता र मागअनुसार गुणस्तरीय स्वास्थ्य सेवा तथा सुविधा विस्तार गर्दै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले सामाजिक उत्तरदायित्वलाई आत्मसात गर्दै अस्पतालले स्वास्थ्य सेवासँगै मानवीय सेवाका कार्यक्रमलाई पनि निरन्तरता दिँदै आएको बताउनुभयो।
कार्यक्रममा अस्पतालका उपाध्यक्ष ललित प्रसाद खरेल, सचिव मोहन प्रसाद पाण्डे, बुटवल उपमहानगरपालिका–४ का वडा अध्यक्ष नरेश्वर शर्मा पौडेल, गोकर्ण पौडेल, अस्पतालका जनरल म्यानेजर देवेश कर्ण, प्रशासन प्रमुख विक्रम खड्का, सहायक मेट्रोन रश्मिता थपलिया तथा सुमन तिमिल्सिना लगायतले रक्तदानको महत्वबारे प्रकाश पार्दै यस्ता सामाजिक अभियानलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए।
'रक्तदान जीवनदान' भन्ने सन्देशलाई व्यवहारमा उतार्दै बुटवल हस्पिटलले सामाजिक उत्तरदायित्वअन्तर्गत नियमित रूपमा रक्तदानसहित विभिन्न जनहितका कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।
पछिल्लो समय दक्ष चिकित्सक, आधुनिक उपकरण, गुणस्तरीय स्वास्थ्य सेवा र सामाजिक उत्तरदायित्वका गतिविधिका कारण बुटवल हस्पिटल प्रा.लि. बुटवल क्षेत्रका सेवाग्राहीहरूको विश्वासिलो स्वास्थ्य संस्थाका रूपमा स्थापित हुँदै गएको छ।
