काठमाडौं। नेकपा (माओवादी) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले वर्तमान बालेन नेतृत्वको सरकार जनअपेक्षा पूरा गर्न पूर्ण रूपमा असफल भएको आरोप लगाउँदै सुशासन, भ्रष्टाचार नियन्त्रण र जनजीविकाका सवालमा सरकारले गम्भीर विफलता प्रदर्शन गरेको बताएका छन्।
काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा महासचिव विप्लवले वर्तमान सरकार "क्याप्टेनविहीन" बनेको टिप्पणी गर्दै देशलाई सही दिशा दिन नसकेको आरोप लगाए। उनले जनताले परिवर्तन, सुशासन र समृद्धिको अपेक्षा गरे पनि सरकार जनभावनाविपरीत अघि बढेको दाबी गरे।
उनले शिक्षा, स्वास्थ्य, विद्युत् लगायत आधारभूत सेवामा समेत करको भार थपेर सरकारले जनताको ढाड सेक्ने काम गरेको बताए। भ्रष्टाचारका ठूला प्रकरणमा संलग्न व्यक्तिहरूमाथि प्रभावकारी कारबाही गर्न नसकेको भन्दै सरकारले भ्रष्टाचार नियन्त्रणमा पूर्ण असफलता देखाएको उनको भनाइ थियो।
महासचिव विप्लवले सरकारले जनताको चाहना र आवश्यकताअनुसार काम गर्न नसक्दा देशमा निराशा र असन्तुष्टि बढ्दै गएको दाबी गरे। देशको अवस्था "शरणार्थीहरूले चलाएको जस्तो" देखिएको टिप्पणी गर्दै उनले राष्ट्रिय स्वाधीनता र जनउत्तरदायित्व कमजोर बन्दै गएको आरोप लगाए।
उनले जेन–जी (Gen Z) पुस्ताले खोजेको राजनीतिक परिवर्तन, रोजगारी र सुशासनको आकांक्षालाई सरकारले बेवास्ता गरेको बताए। सुनसरीलगायतका घटनाको उल्लेख गर्दै बल प्रयोग, हत्या, दमन तथा साम्प्रदायिक द्वन्द्व बढ्ने अवस्थाको सिर्जना भएको आरोप पनि लगाए।
राजा फर्काउने अभियान र दलाई लामासम्बन्धी विषयमा सरकारको भूमिकाप्रति पनि प्रश्न उठाउँदै राज्य निष्पक्ष हुनुपर्नेमा उनले जोड दिए।
पत्रकार सम्मेलनमा महासचिव विप्लवले वर्तमान राजनीतिक नेतृत्वले देशलाई आर्थिक संकट, भ्रष्टाचार र बेथितितर्फ धकेलेको आरोप लगाउँदै आफ्नो पार्टी जनताको पक्षमा सशक्त वैकल्पिक राजनीतिक शक्तिका रूपमा अघि बढ्ने घोषणा गरे।
उनले नेपालको कम्युनिस्ट आन्दोलनको गम्भीर समीक्षा गर्दै समयअनुकूल नयाँ विचार, नयाँ कार्यदिशा र नयाँ शैलीबाट आन्दोलनलाई पुनर्गठन गर्नुपर्ने आवश्यकता औँल्याए। जनअधिकार, राष्ट्रिय स्वाधीनता, उत्पादनमुखी अर्थतन्त्र र सुशासनको पक्षमा आफ्नो पार्टी अझ सशक्त रूपमा अगाडि बढ्ने प्रतिबद्धता पनि व्यक्त गरे।
