२०८३, कार्तिक २० गते

Nov 05 2026

Logo

२०८३, कार्तिक २० गते | Nov 05 2026

images
  • समाचार
  • रुपन्देहीका १० दल सरकारविरुद्ध एकजुट, ८...
news

रुपन्देहीका १० दल सरकारविरुद्ध एकजुट, ८ बुँदे कडा चेतावनी

रुपन्देहीका १० दल सरकारविरुद्ध एकजुट, ८ बुँदे कडा चेतावनी

आइतवार, श्रावण १७ २०८३
आइतवार, श्रावण १७ २०८३
  • बुटवल | जनबाटो
    रुपन्देहीमा क्रियाशील १० राजनीतिक दलले सरकारका पछिल्ला गतिविधिप्रति गम्भीर असन्तुष्टि जनाउँदै ८ बुँदे संयुक्त चेतावनी जारी गरेका छन्। नेकपा (माओवादी) को समन्वयमा बसेको संयुक्त बैठकले सुनसरी र सिराहाका घटनादेखि भूमिहीन–सुकुम्बासीको व्यवस्थापन, महँगी, विद्युत् महसुल, किसानका समस्या तथा मिटरब्याज पीडितका विषयमा सरकारसँग तत्काल जनपक्षीय कदम चाल्न माग गरेको हो।
    संयुक्त विज्ञप्तिमा सुनसरीको देवानगञ्ज र सिराहाको गोलबजारमा भएका घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै मृतक ओमप्रकाश मेहता र गणेश यादवप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ। घाइतेहरूको शीघ्र, निःशुल्क र प्रभावकारी उपचारको व्यवस्था गर्न तथा घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनबमोजिम कारबाही गर्न सरकारसँग माग गरिएको छ।
    दलहरूले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक मुलुक भएकाले धार्मिक, जातीय वा साम्प्रदायिक द्वेष फैलाउने गतिविधि राष्ट्रिय हितविपरीत भएको उल्लेख गर्दै सामाजिक सद्भाव बिगार्ने गतिविधि नियन्त्रण गर्न सरकार गम्भीर बन्नुपर्ने बताएका छन्।
    त्यसैगरी भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई तत्काल लालपुर्जा वितरण गर्न, उचित व्यवस्थापनबिनाको विस्थापन र डोजर प्रयोग तत्काल रोक्न सरकारसँग जोडदार माग गरिएको छ।
    संयुक्त विज्ञप्तिमार्फत ५० युनिटभन्दा माथिको विद्युत् खपतमा लगाइएको ५ प्रतिशत भ्याट पुनर्विचार गर्न, दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि नियन्त्रण गर्न, कृत्रिम अभाव र कालोबजारीमा संलग्नमाथि कडा कारबाही गर्न तथा किसानलाई समयमै मल, बीउ र कृषि सामग्री सहज रूपमा उपलब्ध गराउन पनि माग गरिएको छ।
    यस्तै, मिटरब्याज, लघुवित्त, सहकारी तथा अन्य वित्तीय संस्थामार्फत भएका ठगी, शोषण र गैरकानुनी आर्थिक कारोबारको उच्चस्तरीय छानबिन गरी दोषीलाई कडा कारबाही तथा पीडितलाई क्षतिपूर्तिसहित न्याय दिन सरकारसँग माग गरिएको छ।
    संयुक्त विज्ञप्तिमा राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी, नेकपा (माओवादी), नेकपा (मसाल), क्रान्तिकारी कम्युनिस्ट पार्टी, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाका जिल्ला नेतृत्वको हस्ताक्षर रहेको छ।
    फरक–फरक राजनीतिक विचारधारा बोकेका १० दल एउटै मञ्चमा उभिएर सरकारलाई संयुक्त रूपमा खबरदारी गर्नु रुपन्देहीको राजनीतिक वृत्तमा अर्थपूर्ण घटनाका रूपमा हेरिएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij