बुटवल । पछिल्ला दिनहरूमा रुपन्देही जिल्लाका विभिन्न खोलानालाबाट मापदण्डविपरीत रूपमा नदीजन्य पदार्थ (ढुंगा, गिट्टी, बालुवा) को अवैध उत्खनन र चोरी निकासी भइरहेकोप्रति समाजवादी मोर्चा नेपाल, रुपन्देहीले गम्भीर आपत्ति जनाएको छ।
मंगलबार एक विज्ञप्ति प्रकाशित गर्दै मोर्चाले बुटवल, सैनामैना, देबदह, सियारी, सुद्धोधन, तिलोत्तमा, मायादेवी, गैडहवा, रोहिणी र कञ्चन पालिकाभित्र रहेका तिनाउ, दानब, चरङ्गे, कर्साघाट, रोहिणी, घोडाहा लगायतका खोलाहरूमा बिनानियन्त्रण र बिनामापदण्ड खनन भइरहेको भन्दै तत्काल रोक लगाउन माग गरेको हो।
विज्ञप्तिमा मोर्चाका रुपन्देही संयोजक एवं नेकपाका केन्द्रीय सदस्य सरद सी, माओवादी केन्द्रका जिल्ला संयोजक निर्मल जिसी र नेकपा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष हिराध्वज शाहको हस्ताक्षर रहेको छ। उनीहरूले अवैध रूपमा नदीजन्य पदार्थ संकलन गरी केही क्रसर उद्योगसम्म सिधै ओसारपसार भइरहेको, घाटगड्डी नगरी चोरी निकासी भइरहेको र नियमनकारी निकायहरूको मिलेमतोमा यो कार्य चलिरहेको आरोप लगाएका छन्।
मोर्चाले मापदण्डविपरीत खोलाबाट खननमा प्रयोग गरिएका मेसिनरी साधनहरू तत्काल हटाउन, अनुगमनलाई कडाइका साथ लागू गर्न, नियमनलाई प्रभावकारी बनाउन तथा दोषीहरूलाई कानुनी कारबाहीको दायरामा ल्याउन जोडदार माग गरेको छ। साथै, उनीहरूले आफ्नो मागलाई बेवास्ता गरिए संघर्षको बाटो रोज्ने स्पष्ट चेतावनीसमेत दिएका छन्।
विज्ञप्तिमा उल्लेख गरिएको अंश:
"हामी मापदण्ड विपरीत खनन र चोरी निकासी तत्काल बन्द गर्न, नियमित अनुगमन र कडाइका साथ नियमन गर्न सम्बन्धित निकायलाई आग्रह गर्दछौं। हाम्रो आग्रह बेवास्ता भए उत्पन्न हुने परिस्थितिको सम्पूर्ण जिम्मेवारी सम्बन्धित निकायले लिनुपर्नेछ," विज्ञप्तिमा भनिएको छ।
