कैलाली/ जिल्लाको घोडाघोडी नगरपालिका वडा न ९ मा रहेको रतिपुर उत्पादन केन्द्रले ४ सय २५ क्विन्टल तरबुज बिक्रि गरेको छ।हिउँदे खेती अन्तर्गत ४ बिघा जमिनमा लगाइएको तरबुज स्थानीय ब्यापारीमार्फत बिक्रि गरिएको उत्पादन केन्द्रका प्रमुख डबल बहादुर सी (भगतसिंह)ले बताए ।
उनका अनुसार प्रतिकिलो रु १६ का दरले व्यापारीहरुले होलसेल मूल्यमा तरबुज किनेका छन् । उत्पादन केन्द्रमा थप ३ सय क्विन्टल बढी तरबुज बिक्रि हुन बाकी रहेको छ।
उत्पादन केन्द्रले केहि समयअघि १ लाख केजी आलु उत्पादन गरी जनश्रम सहकारीलाई बिक्रि गरेको थियो। सहकारीले उक्त आलु उद्योगपति बिनोद चौधरी स्वामित्वको सीजी कम्पनीलाई बिक्रि गरेको थियो।
नेपाल कम्युनिस्ट पार्टी केन्द्रीय सदस्य एवम् संविधानसभा सदस्य समेत रहेका उत्पादन केन्द्र प्रमुख भगतसिंहसहित २२ जना नेताकार्यकर्ता शेयर सदस्य रहेका छन् भने स्थानीय नागरिकहरु समेत श्रम र उत्पादनमा जोडिदै आएका छन् ।
नेपाल कम्युनिस्ट पार्टीले पार्टी, पार्टी सम्बद्ध नेताकार्यकर्ता र जनताको समेत शेयर र लाभांशमा सहभागिता हुने गरि एकीकृत स्वामित्वको आर्थिक प्रणाली अनुसार देशका विभिन्न ठाउँमा कृषि उत्पादन, ब्यापार, पशुपालन र उद्योग तथा गार्मेण्ट सञ्चालन गरिरहेको छ।
सुदुरपश्चिम उत्पादन केन्द्र अन्तर्गत कैलाली र कञ्चनपुरमा बर्खेबाली अन्तर्गत २७ बिघामा धान खेती गर्ने तय भएको बताइएको छ भने उत्पादन उपकेन्द्रमा पार्टी केन्द्रीय सदस्यहरुले नेतृत्व गर्ने जनाइएको छ।
