भदौ २३ बुटवल
आज बुटवलमा रहेका विभिन्न व्यावसायिक संघ संस्थाको बैठक सम्पन्न भएको छ ।
होटल तथा रेष्टुरेन्ट व्यवसायी संघका अध्यक्ष लेखनाथ भण्डारीको अध्यक्षतामा सम्पन्न उक्त बैठकले बुटवल उपमहानगरपालिकाले पसलमा लगाएका बोर्डहरुको समेत कर लिन शुरुआत गरेको भन्दै बोर्डको कर नबुझाउने निर्णय गरेका छन् । व्यवसायीहरुलाई नै आतंकित गराउने तरिकाबाट बुटवल उपमहानगरपालिका अगाडि बढेको निस्कर्स निकाल्दै यस विषयमा बुटवल उपमहानगरपालिकाको ध्यानाकर्षण गराउने निर्णय समेत व्यवसायी संघ संस्थाहरुले गरेका छन् । साथै उक्त बैठकले बुटवल बजारको सुन्दरतालाई कायम राख्दै एउटा पसलमा एउटा मात्र बोर्ड राख्न आ आफ्नो संगठनमा आवद्ध व्यवसायीहरुलाई निर्देशन दिने समेत निर्णय भएको रुपन्देही घर बहाल सरोकार संघका अध्यक्ष राजु लिगलले जानकारी गराएका छन् ।
बुटवल उपमहानगरपालिकाको राजस्व परामर्शको बिषयमा बुटवलका चार ठुला संगठनहरुको मात्र बोलबाला रहेको र अन्य संगठनलाई बेवास्ता गरेको भन्दै रुपन्देहीमा रहेका झन्डै ३० वटा संघ संस्थाहरु एकजुट भइ सामाजिक संजाल ग्रुपको रुपमा आफ्ना गतिविधि समेत कडा रुपमा अगाडि बढाइरहेका छन् ।
आजको बैठकमा भने बुटवल उद्योग संघ , रुपन्देही व्यापार संघ , बुटवल उद्योग वाणिज्य संघ , रुपन्देही उद्योग ब्यापार संगठनका अध्यक्ष तथा प्रतिनिधिहरुको समेत सहभागीता रहेको थियोे ।
आजको बैठकको संचालन भने रुपन्देही घर बहाल सरोकार संघका अध्यक्ष राजु लिगलले गरेका थिए ।
