बुटवल । नेपाल कम्युनिस्ट पार्टीले देशभर सामूहिक उत्पादन अभियान चलाएको छ । उक्त पार्टीका महासचिव विप्लव सीले आफै उत्पादनको नेतृत्व गरिरहेका छन् । अहिले उक्त पार्टीले ८० स्थानमा सामूहिक उत्पादन गरिरहेको बताएको छ । नेकपाको आत्मनिर्भर उत्पादनको नीति र प्रयोग लोकप्रिय र प्रभावकारी बन्दै गएको छ । कामरेड माओले चीनमा नयाँ जनवादी क्रान्ति सम्पन्न भएपछि देशलाई आर्थिक आत्मनिर्भर बनाउन ‘क्रान्तिलाई समाऊ, उत्पादन बढाऊ’को नारा दिनुभएको थियो ।
नेकपाले “क्रान्तिका लागि आत्मनिर्भर पार्टी, आत्मनिर्भरका लागि उत्पादन र उत्पादनका लागि समय र श्रमको उपयोग” नीति सहित उत्पादनलाई अगाडी बढाएको थियो । उत्पादनलाई दलालीकरणबाट बचाउन, पार्टीको दैनिक जटिलताहरूलाई हल गर्न, पार्टीलाई आत्मनिर्भर बनाउन, श्रम संस्कृतिको निर्माण गर्न र दलाल पुँजीवादसित सङ्घर्ष गर्न नेकपाले उत्पादनको नीति लिएको हो । नेकपाले काठमाडौंमा दुईवटा गार्मेन्ट उद्योग, कपिलवस्तुमा सफाइ सामग्री उत्पादन, काठमाडौं र नुवाकोटको बीचमा पानी उद्योग तथा सुनसरीको झुम्कामा आलु चिप्स उत्पादन उद्योग स्थापनाको तयारी गरेको छ । यस्तै काठमाडौंसहित प्रमुख शहरमा आफ्ना कृषि उत्पादन बिक्रीका लागि मार्ट (ठूला पसल) सञ्चालन गर्ने तयारी भएको नेकपा पोलिटब्युरो सदस्य एवं नेता सन्देश सीले बताएका छन् ।
कपिलवस्तुको शिवगढीमा रहेको नेकपाको केन्द्रीय कार्यालय अगाडी तीन बिघा जग्गामा खाद्यान्न बाली र अर्घाखाँचीको शीतगंगा नगरपालिकामा १५० रोपनी जग्गामा पशुपालन, कुखुरा, विभिन्न थरिका तरकारी तथा खेती गरिरहेको छ । चितवनको माडीमा १५ बिघा जग्गा ९ वर्षका लागि भाडामा लिएर ६ बिघामा माछापालन गरेको छ । त्यस्तै ५ बिघामा चैते धान र बाँकीमा मकै, तोरी, आलु खेती र मौरीपालन गरेको छ । रोल्पाको घर्तीगाउँमा १५ रोपनीमा आलु र लसुन खेती, दाङको घोराही उपमहानगरपालिका–१६ गेरूवाको ६ बिघामा कृषि फार्म, आलु र तरकारी खेती गरेको छ । दाङकै बेलझुण्डीमा २५ बिघा भाडामा लिएर खेती गरेको छ । जसमध्ये ५ बिघामा माछापालन गरेको छ । यस्तै सल्यानको छत्रेश्वरी गाउँपालिकामा १३ रोपनीमा जग्गामा कागती रोपेको छ भने बर्दियामा धानखेती गरेको छ । नेकपाले तराइ क्षेत्रका जिल्लाहरुमा उत्पादनलाई बढी केन्द्रीत गरेको छ भने हिमाली र पहाडी जिल्लाहरुलाई बहुबर्षीय खेतीमा जोड दिएको छ । यद्यपी हिमाल र पहाडका ३७ जिल्लाहरुमा बहुबर्षीय बाहेक अन्य उत्पादनहरू गरिरहेको छ । रूपन्देहीको छपियामा माछापालन गरिरहेको छ ।
नेकपाले क्रान्तिलाई उत्पादनसित जोड्ने नीति सहित प्रतिबन्धको समयदेखि नै उत्पादन सुरू गरेको थियो । कपिलवस्तुमा प्रतिबन्धको समयमा नेकपाले उत्पादन गरेको ८० क्वीन्टल धान प्रहरीले कब्जा समेत गरेको थियो । नेकपाको ८ औं केन्द्रीय समितिको ७ औं पूर्ण बैठकले ‘कम्युनिस्ट अर्थदृष्टिकोण’ पास गरेपछि पार्टी उत्पादनमा होमिएको थियो । नेकपाले उत्पादनलाई क्रान्तिको अंश बनायो र यसले देशभर नेता कार्यकर्तामा नयाँ उत्साह ल्यायो । कम्युनिस्ट पार्टीका नेता कार्यकर्तालाई उत्पादनबाट अगल गर्ने संसदीय स्कूलिङलाई ब्रेक गरिदियो । राज्यसत्ताको दोहन गर्ने, भ्रष्टाचार गर्ने र गलत धन्दा गरेर आर्थिक आर्जन गर्ने संसदीय पार्टीको स्कूलिङलाई नेकपाले तोडिदिएको छ । नेकपा विस्तारै आफ्नै उत्पादनमा आत्मनिर्भर बन्दै गएको छ । नेकपाले अहिले उत्पादनलाई पार्टी सदस्यताको एउटा अनिवार्य मापदण्ड बनाएको छ । अहिले नेकपाका केन्द्रीय कार्यक्रमहरूमा हुने अधिकांश खाद्यान्न खर्चमा आत्मनिर्भर हुँदै गएको छ ।

पार्टीले सञ्चालन गरेको उत्पादनबारे नेता सन्देश सीले भने, ‘हाम्रो पार्टीको अहिलेसम्म सातवटा केन्द्रीय उत्पादन ब्यूरो, २२ वटा उत्पादन ब्यूरो, ४१ वटा जिल्लास्तर, ७ वटा जनवर्गीय सङ्गठनस्तर र ३ वटा विभागस्तरका इकाइमार्फत् उत्पादन भइरहेको छ’, उनले भने, ‘जिल्ला कमिटीसम्मका कम्तीमा तीन सयजना नेता कार्यकर्ताहरू उत्पादन र उद्योगमा प्रत्यक्ष संलग्न छन्, एक्लै भन्दा सामूहिक खेती गर्दा धेरै सहज र आम्दानी पनि बढी हुँदोरहेछ ।’
नेकपाका महासचिव विप्लव सीको नेतृत्वमा केही महिना अगाडी जुम्ला र कालीकोटमा १५ सय भन्दा बढी स्याउका बिरूवा रोप्ने कार्यक्रम भएको थियो । मुगुमा ३ सय स्याउ र हुम्लाले स्याउ र ओखर रोपेको छ । केन्द्रीय कम्युनबाट लाखौंका बोका, कुखुरा र कुचो विक्री गरिएको छ । अझै यो थपिने क्रम जारी छ । आगामी तेस्रो आवधिक योजनासम्म उत्पादन दोब्बर पुग्ने नेकपाले बताएको छ । अर्को वर्षसम्म जुम्ला, कालीकोट र आसपासका जिल्लामा २२ हजार वर्गमिटर क्षेत्रफलमा १० हजार बोट स्याउ रोप्ने लक्ष्य नेकपाको छ ।
सिलाइ कटाइ, कपाल काट्ने, पानीपुरी बेच्ने व्यवसायमा पनि पार्टीका कार्यकर्ता सामूहिक रूपमा जुटेका छन् । नेकपाले आफ्नो उत्पादनबाट रूकुम, जाजरकोट, सल्यान र बझाङमा भुइँचालो पीडितलाई एक करोड बराबर नगद, २५ क्वीन्टल चामल, दाल र अन्य जिन्सीहरू सहयोग गरेको थियो । काठमाडौंको सडकमा लामो समय आन्दोलन गरिरहेका लघुवित्त र सहकारी पीडितहरूलाई नेकपाले आफ्नो उत्पादनको खाद्यान्न दिएर सहयोग गरेको थियो ।
नेकपाले हरेक बर्षको असार १० देखि ३० गतेसम्मलाई श्रम दिन घोषणा गरेको छ । उक्त अवधिमा नेकपाका नेता कार्यकर्ता व्यक्तिगत, पार्टी र समुदायको खेतबारीमा पुगेर अनिवार्य श्रमदान गर्ने तथा हरेक दुई महिनामा एकदिन श्रम गरेर पारिश्रमिक पार्टीलाई दिनुपर्ने नीति बनाएको छ । यो नीतिलाई कार्यान्वयन गर्न नेकपाले जिल्ला–जिल्लामा श्रमकोष समेत खडा गरेको छ ।
नेकपाले उत्पादनमा एकीकृत स्वामित्व लागु गरेको छ । नेकपाका नेता सन्देश सीले भने,‘उत्पादनको ६० प्रतिशत आम्दानी हिस्सा पार्टी केन्द्रमा जान्छ ।’ बाँकी ४० प्रतिशतलाई सय प्रतिशत मानेर ७० प्रतिशत आम्दानी कृषि फार्ममा काम गर्ने नेता कार्यकर्ताले राख्छन् भने ३० प्रतिशत सञ्चालन खर्च राखिनेछ ।’
तीन वर्षभित्र देशभर एक हजार बिघामा खाद्यान्न, तरकारी, फलफूल खेती तथा पशुपंक्षी, माछा र मौरीपालन सहीतका कृषि उद्यम गर्ने र १० हजार जना नेता कार्यकर्ता उत्पादनमा जोडिने लक्ष्य नेकपाले राखेको छ । कृषिको काम सहकारीमार्फत् गर्ने उद्देश्यले नेकपाका ३० जना नेता कार्यकर्ता सञ्चालक रहेको ‘जनश्रम कृषि सहकारी संस्था’ दर्ता गरिएको छ । नेकपाले बित्तीय व्यवस्थापनका लागि ‘नवयात्रा बहुउद्देश्यीय सहकारी’ दर्ता गरेर काम अगाडी बढाएको छ । अहिले नेकपाको पाँचौं पूर्ण बैठकद्धारा पारित गरिएको तेस्रो आवधिक योजनामा आत्मनिर्भरताका लागि कृषि उत्पादनलाई औद्योगिक उत्पादनसँग जोडौं, उत्पादनका लागि सङ्गठन, समाजवादका लागि सङ्गठनको नारा तय गरेको छ । यो योजनामा बर्खेबाली २ सय विघामाथि पुर्याउने, सबै नेता कार्यकर्तालाई उत्पादनमा जोड्ने र आर्थिक परिचालन समाजवादी विशेषतामा गर्ने लक्ष्य लिएको छ ।
(लालदिशा, अंक ४, २०८१ असार-भदौमा प्रकाशित)
