नेपालको कम्युनिस्ट आन्दोलनमा अध्ययन, बहस र विमर्श संस्कृतिको खडेरी परिरहेको बेला चारवटा प्रकाशन हातमा आइपुगेको छ । यो संस्कृतिको खडेरीले कम्युनिस्ट आन्दोलन बाँझो धर्तीजस्तै खण्डहर र उजाड भएको छ । कम्युनिस्ट आन्दोलनको ठूलो पंक्ति संशोधनवादको भासमा पतन भएपछि वैचारिक बहस, विमर्श र प्रकाशनको क्षेत्र कमजोर हुनु स्वभाविक हो । उनीहरू अहिले सामान्य वामपन्थी र प्रगतिशील चरित्रका समेत छैनन् । अर्थात् वामपन्थी अवसरवाद दक्षिणपन्थी अवसरवादमा पतन भएको छ । क्रान्तिबाट भाग्ने प्रवृत्ति दक्षिणपन्थी अवसरवाद हो । जीवनभर क्रान्ति भनिरहने तर सिन्को नभाच्ने प्रवृत्ति जडसुत्रवाद हो । यी दुवै प्रवृत्ति जनताका लागि तातो पानीले घर जलाउने कोसिस मात्रै हो ।
‘राजनीतिक क्रान्ति सकियो’ भन्ने नौरङ्गीहरुको चर्चा त अव आवश्यक छैन । तर क्रान्तिकारी आन्दोलनले दर्शन, राजनीति अर्थशास्त्र, समाजवाद वा वर्गसङ्घर्षको पक्षमा घनिभूत बहसको माग गर्दछ । समय, संगठन र संघर्षको चरित्रबारे व्यापक बहस हुन जरुरी छ । क्रान्तिकारी आन्दोलनमा यो पक्ष न्युनीकरण हुँदै जानु दुखद् पक्ष हो ।
पछिल्लो पटक नेकपाले यसलाई व्यवस्थित गर्न खोजे पनि सन्तोषजनक हुन सकेको छैन । केही छिटपुट प्रकाशनले क्यै शीतलता दिएको अनुभूत भएपनि पूर्ण छैन । जनपक्षधर भनिएका थुप्रै डिजिटल अनलाइनहरु सञ्चालनमा भएपनि ती सबै टपरट्याईमा नै सीमित छन् । उनीहरुले वैचारिक पक्षलाई सिञ्चित गर्न सकेका छैनन् । श्रमजीवी जनतालाई आकर्षित गर्न सकेका छैनन् ।
क्रान्तिकारी आन्दोलनलाई अगाडी बढाउन नेकपाले प्रकाशन गरेका केही प्रकाशनले सहयोग नै गरेको छ । यहाँ ती प्रकाशनहरुको संक्षिप्त परिचय दिइएको छ ।
१. जनक्रान्ति
जनक्रान्ति नेकपाको मुखपत्र हो । अहिले २०८० साउन महिनाको अंक ७ प्रकाशित भएको छ । मुखपत्रमा समाजवादी मोर्चा नेपालको गठनबारे नेकपा महासचिव विप्लव सीको मुख्य लेख रहेको छ । सन्तोष सीले संयुक्त मोर्चाको आवश्यकता र स्वतन्त्रताको द्धन्द्धवादबारे विश्लेषण गरेका छन् । गोकुलको माक्र्सवाद र कम्युनिस्ट पार्टीको संगठनबारे खोजमूलक र महत्वपूर्ण सामग्री रहेको छ । उमा सीले समाजवादी मोर्चा र राष्टिय राजनीतिबारे लेखेकी छन् । भरत सीले नयाँ कम्युनिस्ट स्कूलबारे लेखेका छन् । मुखपत्रमा लेनिन र माओका सम्झौताबारे महत्वपूर्ण अन्तराष्टिय सामग्रीहरु राखिएको छ ।
२. जनपत्रिका
जनपत्रिका जनप्रचार तथा प्रकाशन प्रालिले प्रकाशन गर्दै आएको मासिक पत्रिका हो । पत्रिकाले नेकपाले वैचारिक पक्षलाई समर्थन गर्दै सामग्री प्रकाशन गर्दै आएको छ । अहिले असारको तेस्रो अंक बजारमा आएको छ । पत्रिकामा नेकपाका प्रवक्ता प्रकाण्ड सीको अन्तरवार्ता छापिएको छ । समाजवादको आवश्यकताबारे सन्तोस सीको लेख रहेको छ भने अनिल सीले पार्टी एकता, धु्रवीकरण र संयुक्त मोर्चाबारे लेखेका छन् । उमा सीले पुँजीवादी संकटको विकल्प समाजवादको आवश्यकताबारे मोर्चाका सन्दर्भ जोडेर लेख लेखेकी छन् । यो अंकलमा जनपत्रिकाले नेकपाले चलाएको श्रमसंस्कृतिबारे सामग्रीहरु राखेको छ ।
३. नाङ्गेली
नाङ्गेली महिलाहरुको वैचारिक प्रकाशन हो । अखिल नेपाल महिला संघ क्रान्तिकारीले यो प्रकाशन सुरुवात गरेको छ । पत्रिकामा लघुवित्त र मिटरव्याजको चक्रव्युहमा परेका महिलाहरुको दर्दनाक जीवनबारे बन्धु सीको महत्वपूर्ण सामग्री छापिएको छ । नाङ्गेलीको अमरगाथाबारे भेसराज सी, महिला जागरण र संघर्षबारे विप्लव सी, महिला र क्रान्तिबारे सन्तोस सी, महिलाबारे दुई दृष्टिकोणबारे भरत सीको लेख रहेको छ । त्यस्तै महिला आन्दोलन केन्द्रीत आस्था सी, राजकुमारी सी, दाना केसीका लेखक रहेका छन् । पत्रिकामा संस्मरण, अनुभूति, कविताहरु रहेका छन् भने क्लारा जेटकिनको संस्मरण समेत रहेको छ ।
४. जनपत्रकार
जनपत्रकारहरुले प्रकाशन गर्दै आएको जनपत्रकारको दोस्रो अंक छापिएको छ । पत्रिकामा सूचना प्रविधिमा आएको क्रान्तिको प्रभाव, यसमा बहुराष्टिय निगमको नियन्त्रण, चौतर्फी मिडियाकरण, नेपाली पत्रकारिता र अवको मिसनबारे महत्वपूर्ण लेखहरु रहेका छन् । पत्रिकामा सन्तोष सी, अनिल सी, भगतसिंह सी, शेरबहादुर विश्वकर्मा, खोमा तरामु मगरलगायतका सामग्री प्रकाशित छन् ।
