शान्तिपूर्ण तरिकाबाट संसदीय पुँजीवादलाई समाजवादमा रुपान्तरण गर्न सकिन्छ भन्ने विचार संशोधनवाद हो । संशोधनवादको पिता एडवर्ड वर्नस्टिन हुन् भने आधुनिक संशोधनवादका नेता निकिता खु्रश्चेभ हुन् । संशोधनवादीहरु पुँजीवादी चुनावमार्फत् संसदमा बहुमत ल्याएर राज्यसत्तामा विजय हासिल गर्न सकिन्छ भन्ने विचार राख्दछन् । अर्थात् उनीहरुले वर्गसंघर्ष र बल प्रयोगको सिद्धान्तलाई अस्वीकार गर्छन् । यो मालेमावाद विरोधी विचार हो । बलप्रयोग मार्फत् श्रमिक वर्गले आफ्नो राज्यसत्ता प्राप्त गर्न सक्छ भन्ने विचार माक्र्स एंगेल्सको हो । श्रमजीवी वर्गको हितलाई छाडेर अस्थायी स्वार्थका लागी मुख्य सवाल छोड्ने काम संशोधनवादी नीति हो ।
कम्युनिस्ट आन्दोलनमा एडवर्न बर्नस्टिनले सुरु गरेको संशोधनवाद विभिन्न देश हुँदै नेपाल आइपुगेको छ । आफुलाई कम्युनिस्ट भन्ने हँसिया हथौडा झण्डा बोकेका ठूला दल र नेताहरुले वर्गसंघर्षको बाटो छाडिसकेका छन् । उनीहरु संसदीय व्यवस्थाको चुनावमार्फत् सरकारमा सहभागी भएर बदनाम भइरहेका छन् । नदीनाला बेचिरहेका छन् । भ्रष्टाचारको चास्नीमा डुबेका छन् । कांग्रेस भन्दा चारित्रिक फरक छैन । उनीहरुले वर्गसंघर्षको कुरा गर्ने पार्टीहरुलाई संकीर्ण, रुढीवादी, जडसुत्रवादी, उग्रवामपन्थी र कुरा नबुझ्ने गवारको आरोप लगाउँछन् ।
नेपालमा कम्युनिस्ट नाउँ गरेका ठूला संसदीय दलहरुले सत्ता स्वार्थका लागि भारतीय र अमेरिकी साम्राज्यवादको पृष्ठपोषण गर्दै आएका छन् । उनीहरुले नेपाल र नेपाली जनताको हित विरुद्ध विदेशीहरुको हितमा काम गरिरहेका छन् । उनीहरु वैज्ञानिक समाजवादी क्रान्तिबारे प्रचार र नेतृत्व गर्नुको सट्टा संसदीय व्यवस्थाको विकल्प नभएको प्रचार गरिरहेका छन् । उनीहरुले माक्र्स एंगेल्सका सिद्धान्तहरु पुरानो भएको र यसको औचित्य सकिएको भनेर भ्रामक प्रचार गरिरहेका छन् । माक्र्सवादको तोडमोड गर्दै आफ्नो अनुकूल व्याख्या गर्ने र ‘सिर्जनात्मक प्रयोग’को नाउँमा माक्र्सवादको सारतत्वबाट आफुलाई अलग गर्दै गएका छन् । उनीहरु कम्युनिस्ट नभई संशोधनवादीहरु हुन् ।
नेपालमा श्रमजीवी जनताले क्रान्तिकारी चरित्र र सारतत्व बोकेको असल कम्युनिस्ट पार्टी खोजिरहेका छन् । उनीहरुले सिद्धान्त र विचारको राजनीति गर्ने इमान्दार, देशभक्त, जनताप्रति समर्पित पार्टी र नेतृत्व खोजिरहेका छन् ।
