कम्युनिस्टहरु आमूल परिवर्तनका पक्षधर हुन् । कम्युनिस्ट सिद्धान्त क्रान्तिकारीहरुको आदर्श हो । क्रान्तिका निम्ति सबै तयारी गर्नुपर्ने कम्युनिस्टहरु संसदीय राजनीतिको झिलीमिलीमा फस्नु हुँदैन । यसले कम्युनिस्ट आन्दोलन अगाडी बढ्न सक्दैन । अहिले कम्युनिस्ट नाउँ गरेका दलहरु संसदीय रंगीचंगीको झिलीमिलीमा फसेका छन् । साँचो अर्थमा उनीहरु कम्युनिस्ट होइनन् । उनीहरुले कम्युनिस्ट ब्राण्डलाई ‘ट्रेडमार्क’ बनाएका छन् । कम्युनिस्ट हुनुको भ्रम दिइरहेका छन् ।
कुनै दल ठूलो वा सानो हुनु मुख्य कुरा होइन । उनीहरुले देश र श्रमिक जनताका लागि के गरेका छन् ? मुख्य कुरा त्यो हो । श्रमिक नेपाली जनताले सच्चा कम्युनिस्ट पार्टी कुन हो वा होइन भनेर ठम्याउन सकिरहेका छैनन् । त्यसो त नेपालमा कम्युनिस्ट पार्टी नै छैन भन्दा हुन्छ । कम्युनिस्ट हुनलाई नाउँ भएर मात्रै हुँदैन । कम्युनिस्ट आदर्श, सिद्धान्त, निष्ठा र अनुशासन चाहिन्छ । माओवादी आन्दोलन त अहिले नाम निशानै छैन । अहिले कतिपय मित्रहरुले पुष्पकमल दाहालमाथिको वैचारिक प्रहारलाई ‘माओवादी आन्दोलनमाथिको प्रहार’को रुपमा अर्थाइरहेका छन् । यो भ्रमपूर्ण छ । उनी माओवादका खोल ओढेका मात्र हुन् । तर माओवादी सिद्धान्त, विचार र आदर्श उहिल्यै परित्याग गरी संसदीय राजनीतिमा छन् । आफुलाई कम्युनिस्ट वा माओवादी भन्नेहरु सिद्धान्त र विचारलाई बन्धक राखेर सत्ता टिकाउने खेलमा लागिरहेका छन् । उनीहरु संसदीय पुँजीवादी व्यवस्थालाई बलियो बनाउन, दलाल पुँजीपति वर्गको संरक्षण गर्न गरिरहेका छन् ।
कम्युनिस्टहरु पद र पैसाको निम्ति संघर्ष गर्दैनन् । उनीहरु बैभवको जीवन विताउन, पद, पैसा वा व्यक्तिगत स्वार्थ पूरा गर्न कम्युनिस्ट बन्दैनन् । कम्युनिस्टहरु दलाल पुँजीवाद, साम्राज्यवाद वा संशोधनवादको विरोध गर्छन् । विदेशी हस्तक्षेपको विरोध गर्छन् । एमसीसी सम्झौताको विरोध गर्छन् । यो सम्झौता पास गर्ने साम्राज्यवादका मतियारहरुसित संघर्ष गर्छन् । अहिले देशमा संसदीय पुँजीवादी व्यवस्था छ । कम्युनिस्टहरु यो पुँजीवादी व्यवस्थाको अन्त्य गरी वैज्ञानिक समाजवादी व्यवस्थाका लागि संघर्ष गर्छन् । तर देशमा आफुलाई कम्युनिस्ट भन्नेहरु यही व्यवस्थालाई बलियो बनाउन न्वारनदेखिको बल लगाइरहेका छन् । उनीहरु स्वयं वैज्ञानिक समाजवादी यात्राका बाधक बनिरहेका छन् । संसदीय व्यवस्थामा गएका कम्युनिस्ट पार्टीहरुको क्रान्तिकारी चरित्र उहिल्यै सकिएको हो ।
माक्र्सवाद लेनिनवाद माओवाद नै श्रमिक जनताको एकमात्र मुक्तिको वैचारिक हतियार हो । समाज विज्ञानमा यो भन्दा नयाँ र उन्नत चिन्तन विकास भएको छैन । यो आजको समयको सबैभन्दा उन्नत विचार हो । मालेमावाद द्धन्द्धात्मक तथा ऐतिहासिक भौतिकवादद्धारा निर्देशित छ । यो दुँनिया बदल्ने सिद्धान्त हो । यो अन्धविश्वास होइन । क्रान्ति कसैको आदेश र दवावमा हुने पनि होइन । यो समाज विज्ञानको नियम हो । अहिले क्रान्तिका लागि सबैभन्दा अनुकूल परिस्थिति हो तर आत्मगत स्थिति कमजोर रहेको छ । कम्युनिस्टहरु सिद्धान्तनिष्ठ हुनुपर्छ । अहिले कम्युनिस्ट आन्दोलनमा देखिएको विचारधारात्मक समस्या र विश्व साम्राज्यवादका विरुद्ध कम्युनिस्टहरु सचेत हुनुपर्दछ । विश्व साम्राज्यवाद र विचार संशोधनवाद विरुद्ध अहिले कम्युनिस्ट मोर्चा जरुरी छ । त्यसले मात्र दुनियाँलाई बदल्न सक्छ ।
