बुटवल । रुपन्देहीमा ११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस सम्पन्न भएको छ । बुटवलमा अखिल नेपाल महिला संघ क्रान्तिकारी,रुपन्देही र वैज्ञानिक समाजवादी महिला संगठन,रुपन्देहीले संयुक्त रुपमा कार्यक्रम गरेको हो ।
सभालाई सम्बोधन गर्दै अखिल नेपाल महिला संघ क्रान्तिकारीका केन्द्रीय सदस्य तथा रुपन्देही जिल्ला अध्यक्ष उषा सीले नेपालमा महिला उत्पीडनको मुख्य कारक दलाल पुँजीवादी संसदीय व्यवस्था भएको भन्दै यो व्यवस्थाले महिलाहरुलाई विज्ञापनका साधन बनाएको बताइन् । उनले जनयुद्धमा २५ सय महिलाहरुको बलिदान संसदीय व्यवस्थाका लागी नभएको भन्दै यसको अन्त्य नगर्दासम्म महिला मुक्ति सम्भव नभएको बताइन् ।
उनले महिलाहरुको पितृसत्तात्मक व्यवस्था र दलाल पुँजीवादी व्यवस्थाबाट उत्पीडनमा परेको भन्दै यसका विरुद्ध संघर्षको विकल्प नभएको बताइन् । उनले महिलामाथिको शोषण, हिंसाको अन्त्य र समान अधिकारका लागी वैज्ञानिक समाजवाद एक मात्र विकल्प भएको भन्दै संसदीय व्यवस्था रहँदासम्म महिलामाथि शोषण, अन्याय, बलात्कार र हिंसा नरोकिने भन्दै दलाल पुँजीवादी राज्यसत्ता विरुद्धको संघर्षमा महिलाहरु अग्रभागमा हुनुपर्ने बताइन् ।
वैज्ञानिक समाजवादी महिला संगठनकी प्रदेश संयोजक शकुन्तला गैरेले महिलामाथि हुने हिंसा र शोषणका विरुद्ध संघर्ष जरुरी भएको भन्दै देशभक्त र क्रान्तिकारी महिलाहरु एकजुट हुनुपर्ने बताइन्। उनले राज्यसत्ताका कारण महिलाहरु विभेद र उत्पीडनमा पर्नुपरेको भन्दै महिलाहरु सचेत रुपमा संगठित नहुँदासम्म महिला मुक्ति सम्भव नहुने बताइन् । अनेमसंघ क्रान्तिकारी जिल्ला उपाध्यक्ष देवि सीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
बुटवल अस्पताल लाइनबाट सुरु भएको जुलुस बजार परिक्रमा गर्दै अमरपथको टक्सारचोकमा पुगेर सभा सम्पन्न भएको थियो ।

