संसारमा कुनै यस्तो जातजाति वा समुदाय छैन, जसको कुनै चाडपर्व नहोस् । चाडपर्व मानिसको जीवनको अभिन्न अंग हो । चाडपर्वले मानिसमा हर्ष उल्लास पैदा गर्दछ र उनीहरूमा सामुहिक जीवनको आभास गराउँछ । कुनै चाडपर्व कहिलेदेखि र के कारणले प्रारम्भ भए ? त्यसको जरो पत्ता लगाउन कठिन छ । त्यसको इतिहास पत्ता लगाउन कठिन छ । भएपनि मान्छेहरूका धेरै चाडपर्वको पृष्ठभूमि धार्मिक नै हुन्छ । यही भएर एकपल्ट उतिबेलाको पेकिङ रिभ्युमा एउटा लेख छापिएको थियो, जसमा भनिएको थियो–चीनका हरेक चाडपर्वको पृष्ठभूमि धार्मिक रहेको हुन्छ । जुनसुकै चाडपर्वलाई जनताले धर्मसित जोडेर मनाइरहेका हुन्छन् । यस्ता धार्मिक पृष्ठभूमि बताएर मनाइने चाडपर्वले वैज्ञानिक वा भौतिकवादी चिन्तनलाई कमजोर पार्न खोज्दछन् । कमजोर पार्न सक्दछन् । मान्छेलाई अन्धविश्वासी बनाउँछन् । चीनमा मनाइने चाडपर्वले अन्धविश्वासलाई बढावा दिने काम गरिरहेका छन् । तैपनि हामी जनतालाई चाडपर्व नमनाऊ भन्न सक्दैनौ । चाडपर्वको परम्परालाई उन्मूलन गर्न सक्दैनौं । यसैले हामीले हरेक चाडपर्वलाई धर्मसित जोड्ने कुरालाई क्रमशः हटाउँदै र घटाउँदै लैजानु पर्दछ । त्यसको सामाजिक पक्षमा मात्र जोर दिनुपर्दछ । सामाजिक पक्षलाई मात्र महत्व दिनुपर्दछ ।
नेपालमा भौतिकवादी वा वैज्ञानिक विचारमा विश्वास गर्ने माक्र्सवादी चिन्तकका पनि यस्तै कुरा हुन सक्दछन् । नेपालका माक्र्सवादीहरू धार्मिक पृष्ठभूमि भएका चाडपर्व मनाउने कुरामा जनतालाई रोक्न सक्दैनन् । उनीहरू जनतालाई चाडपर्वमा सहभागी नहुनु भन्न सक्दैनन् । फेरि पनि उनीहरूलाई अन्धविश्वासी विचार र भावनाबाट क्रमिक रुपमा मुक्त गराउन भने सक्दछन् र मुक्त गराउन पनि आवश्यक हुन्छ ।
नेपालमा मनाइने तीज, दशैं, तिहार र होलीलाई सबैभन्दा ठूला चाडपर्वमध्ये केही हुन् । यी सबै चाडपर्वलाई धर्मसित जोडिएको छ । धार्मिक कथा वा पुराणसित जोडिएको छ । उदाहरणको लागि तीजलाई शिव पार्वतीसित जोडिएको छ । दशैंलाई महिषासुर राक्षसको बध वा रावणको बधसित जोडिएको छ । तिहारलाई राम सिता र लक्ष्मणको १४ बर्षको बनवासपछि घरमा फर्केको दिनको संझनामा दीप जलाएर मनाइएको कथासित जोडिएको छ । होलीलाई होलिका दहनसित जोडिएइको छ । यी सबै मिथक हुन् । मिथक इतिहास होइन । पुरै काल्पनिक कुरा हुन् । लेखक कविको कल्पनाका उपज हुन् । माक्र्सवादी चिन्तक यही कुरा भन्दछन् । द्वन्द्वात्मक भौतिकवाद यही कुरा भन्दछ ।
तीज दुर्गा पूजा दीपावली तथा होली आदिलाई हिन्दुहरूका चाडपर्व मानिन्छ । तर सबै हिन्दुहरूले एकै प्रकारले यी चाड पर्व मनाउँदैनन् । वास्तवमा भारतमा दुर्गा पुजालाई बंगाली र नेपालीको चाड भनिन्छ । तर फरक के छ भने बंगालीले नेपालीले जस्तै मौलो स्थापना गरेर बलि दिएर दशैं मनाउँदैनन् । मौलो स्थापना गरेर बलि दिनु नेपालीको मौलिक परम्परा हो । दशैमा बंगालीहरूले नेपालीहरूले जस्तै ठूला बडाका हातबाट टिका लगाउँदैनन् । बिहुलाई आफ्नो सबभन्दा ठूलो चाडपर्व मान्ने आसामी र दिपावलीलाई सबभन्दा ठूलो चाडपर्व मान्ने मारवाडीले पनि दुर्गा पुजा मान्दछन् । तर उनीहरू बंगाली र नेपालीेले जस्तै धुमधामसित मनाउँदैनन् । बंगालीले दीपावली मनाउँछन् । तर उनीहरूले राजस्थानीले जस्तै धुमधामसित मनाउँदैनन् । तीज राजस्थानीले पनि मनाउँछन् । तर नेपालीले जस्तै मनाउँदैनन् । नेपालीले भने सबै चाडपर्व यहाँसम्म कि अरुका चाडपर्व पनि धुमधामसित मनाउने गर्दछन् ।
हिन्दुहरूमा पनि भारतीय हिन्दु्हरू र नेपाली हिन्दुहरूका चाडपर्वमा आकाश पातालको फरक पाइन्छ । नेपालीहरूले तीज आउनृुभन्दा लगभग एक महिना अगाडिबाट नाच्दै गाउँदै र यहाँसम्म कि दर खाँदै तीज मनाउँदै गरेका हुन्छन् र तीज गएको लगभग एक महिनासम्म तीज मनाउँदै गइरहेका छन् । पहिले त होइन अहिले तीज नेपालीहरूको सबभन्दा लामो चाडपर्व हुन पुगेको छ । दशैं त त्यसै पनि दश दिनसम्म अझ पन्ध्र दिनसम्म मनाइने गरिन्छ । भैलो खेलले गर्दा तिहार पनि लम्बिदै गएको छ । होली पनि लम्बिने खतरा बढेको छ ।
हामीले हाम्रा चाडपर्वलाई सामाजिक परम्परा मूल्य र मान्यताको आधारमा मनाउनृु ठीक हुन्छ । जस्तै तीजलाई विवाह गरेर टाढा गएका दिदी बहिनी चेलीबेटीलाई माइत बोलाएर खुलाउने पिलाउने र नाचगान गरेर मनोरञ्जन लिने दिने तथा दुःख सुखका कुरा गर्ने चाडपर्वको रुपमा मनाउने । दशैंलाई आफू भन्दा ठूलालाई भेट्ने उनको हातमा टिका लगाउने र आर्शीवाद (शुभ कामना) लिने । यसले हामीलाई आफूभन्दा ठूलालाई सम्मान गर्ने कुरा सिकाउँछ । साथै दशैलाई हामी टाढिएका परिवारलाई नजिक ल्याउने चाडपर्वको रुपमा पनि लिन सक्दछौं । भेटघाट गर्ने अवसरको रुपमा पनि लिन सक्दछौं । तिहारलाई हामी दिदी बहिनीको हातको टिका लगाउने र उनीहरूलाई सम्झिने र सम्मान गर्ने चाडपर्वको रुपमा पनि लिन सक्दछौं । यस चाडपर्वले पनि हाम्रो सामाजिक जीवनलाई जीवन्त पार्दछ । होली बसन्त ऋुतुमा पर्दछ । बसन्त ऋतु बर्षभरिको सबभन्दा रमाइलो समय हो । यस्तो अवस्थामा रमणीय बसन्त ऋतुलाई रंगको चाडपर्वको रुपमा मनाउनु उचित नै देखिन्छ । यसरी हेर्दा हामी हाम्रा चाडपर्वलाई हाम्रो सामाजिक जीवनसित जोडेर पनि मनाउन सक्दछौं भन्न सकिन्छ । यसको सामाजिक महत्व छ भन्न सकिन्छ ।
आज भोली केही मगर समुदायमा मुख्यतः दशैं क्षेत्री बाहुनले गोर्खाको खड्का मगर राजालाई मारेर विजय प्राप्त गरेको उपलक्ष्यमा रातो अक्षेता लगाएर विजय उत्सव मनाउने चाडपर्व हो भन्ने भावनाले घर गरेको छ । यसैले उनीहरूले यस चाडपर्वलाई मनाउन हुन्न भन्ने कुरा गरेको पनि चाल पाइन्छ । केही मगरले दशै मनाउन छोडेको पनि देखिन्छ । मलाई जस्तै हिन्दु बाहुन क्षेत्रीले दशैं दुर्गाले महिषासुर राक्षसलाई मारेको उपलक्ष्यमा वा रामले रावणमाथि विजय प्राप्त गरेको उपलक्ष्यमा मनाउन थालिएको चाडपर्व हो भन्नु र केही मगर अगुवाहरूले दशै खड्का मगर राजाको हत्यापछि क्षेत्री बाहुनले विजयको रुपमा राता अछेताको टिका लगाएर मनाउन थालेका भन्नु र रातो रंग मगर राजाको रगतको प्रतीक मानिएको हो भन्नुमा खासै कुनै अन्तर छ जस्तो लाग्दैन । यसमा कुनै भरपर्दो विश्वासनीय आधार भएको रहेको पाइन्न । भेटिन्न । मलाई लाग्दछ, दशैंका बेलामा ठूला बडाको हातबाट चामलका राता अछेता निधारमा लगाउनु र कानमा वा शिरमा जमरा लगाउनृु नेपालीको मौलिक विशेषता हो । नेपालीहरूको मौलिक संस्कृति हो । यो चलन भारतीय हिन्दुमा हुँदैन । यसैले उनीहरू नेपालीलाई मान्छेले खानलाई चामलका दाना पाउँदैन नेपालीहरूले निधारमा चामलका टिका लगाएर हिँड्छन् भन्छन् । जव कि अक्षेता नेपालीको ठूलो सम्पत्ति हो । त्यसरी नै हामी नेपालीले तीज मनाउने कुरा कुनै अन्य हिन्दुसित मिल्दैन । ठीक त्यसरी नै हामी नेपालीले तिहार मनाउने कुृरा पनि अरु हिन्दुसित मिल्दैन । तिहारमा दिदी वहिनीको हातबाट टिका लगाउने प्रचलन अरु हिन्दुमा छैन । अरु हिन्दुहरूले तिहारमा तोरन टांंग्ने, काग तिहार कुकुर तिहार, गाई तिहार र भाई तिहार जस्ता तिहार मनाउने कुरा गर्दैनन् । यसैले हामी भन्न सक्दछौं हाम्रा चाडपर्वले हाम्रै विशेषता बोकेका छन् । हाम्रै मौलिकता बोकेका छन् । हाम्रै समाजको विशेषता बोकेका छन् । हाम्रै मौलिकता बोकेका छन् । फेरि हाम्रो नेपाली समाजमा गुरुंग मगर, राई, लिम्बु, तामाङ, थारु, थकाली, मधेसी आदिका अलग अलग विशेषता बोकेका चाड र्वहरू पनि छन् । नेवार समुदाय त चाड पर्वको दृष्टिले सबभन्दा बढी धनी छन् । इन्द्र जात्रा, रातो मछिन्द्रनाथ जात्रा, घोडे जात्रा आदि नेवारी चाडपर्व हुन् । हाम्रा देशमा धार्मिक दृष्टिकोणले बौद्ध धर्म सम्बन्धी चाड पर्वहरू छन् । बुद्ध पूर्णिमा लोसार आदि पनि बुद्ध धर्मसित सम्बन्धित चाडपर्व हुन् । त्यसरी नै हाम्रो देशमा मुस्लिम चाडपर्व पनि धुमधामले नै मनाइन्छ । जसमा रमादान ईद आदि पर्दछन् । थारु समुदायको लागि माघी सबभन्दा ठूलो चाड पर्व हो । छठ पर्व मधेसी समुदायको ठूलो चाड पर्व हो ।
क्रिस्तान धर्मालम्बीहरूको संख्या नेपालमा दिन प्रतिदिन बढ्दो छ । क्रिस्तानहरूको सबभन्दा ठूलो चाड पर्व क्रिस्मास हो । यो दिसम्बर महिनाको २५ तारिकमा पर्दछ । नेपालमा मनाइने सबै चाडपर्व नेपाली संस्कृतिका अभिन्न अंग तथा सम्पति हुन् । यी चाडपर्वलाई समय अनुकुल परिमार्जन गर्दै लैजानु पर्ने हो । यो अहिलेको हाम्रो आवश्यकता हो । हामीले कसैका पनि चाडपर्वलाई हेलाहोचो गर्नुहुँदैन । हामीले सबै जातजातिका चाडपर्व रीतिरिवाजलाई सम्मान गर्न सिक्नु पर्दछ । तर एउटा कुरा भने खट्किदो छ । हामीले हाम्रो देशमा विदेशी चाडपर्व वा उत्सवहरूलाई नांगो तरिकाले भित्र्याउन थालेका पनि छौं । यदि हामील यसरीे हाम्रो देशमा विदेशी चाडपर्वलाई नांगो तरिकाले भित्र्याउन थाल्यौं भने हाम्रो मौलिक संस्कृति प्रदुषित हुन सक्दछ । जस्तो कि भ्यालेइन्टाइन डे हाम्रो मौलिक परम्परा, दिवस वा चाडपर्व होइन । यसले पनि हाम्रो मुलुकमा प्रवेश पाउँदै छ । निश्चित रुपमा यो स्वागतयोग्य कुरा होइन । यसले हाम्रो मौलिक संस्कुति र सामाजिक जीवनमा नकारात्मक प्रभाव पार्न सक्दछ ।
१४–६–२०७९
(लेखकको यो निजी दृष्टिकोण हो, लेखको शीर्षक हामीले राखिदिएका हौं)
