बुटवल । अखिल नेपाल जनसांस्कृतिक महासंघले सञ्चालन गरेको नियमित मासिक श्रृंखला सृजना चौतारीको दोस्रो श्रृंखला बुटवलमा सम्पन्न भएको छ । कार्यक्रममा १२ जना स्रष्टाहरुले गीत कविता, मुक्तक लगायतका सृजनाहरु प्रस्तुत गरेका थिए ।
कार्यक्रममा बोल्दै अखिल नेपाल जनसांस्कृतिक महासंघ लुम्बिनी प्रदेश सदस्य तथा रूपन्देही जिल्ला अध्यक्ष विहानी मगरले साहित्य कला र विचारको संयोजन सृजना चौतारी रहेको र स्रष्टाहरुको सृजनालाई निखारपन ल्याउने थलो रहेको बताउँदै लेखक साहित्यकार र सांस्कृतिक कर्मीहरुले साहित्य, कला, गीत संगाीत तथा बौद्धिक क्षेत्रबाट सांस्कृतिक रुपान्तरण गर्नुपर्ने बताइन् ।
कार्यक्रममा बोल्दै अखिल (क्रान्तिकारी)का केन्द्रीय सदस्य तथा रूपन्देही जिल्ला अध्यक्ष इन्दु वलीले रचना प्रस्तुत गर्दै साहित्य र कलाको माध्यमबाट समाज र संस्कृति रुपान्तरण गर्नु पर्ने बताउँदै मासिक सृजना चौतारीलाई फराकिलो बनाउँदै निरन्तरता दिनुपर्ने बताइन् ।
अखिल (क्रान्तिकारीका) केन्द्रीय सदस्य तथा रूपन्देही जिल्ला उपाध्यक्ष पारस राहादी मगरले सृजना सहित कार्यक्रममा प्रस्तुत भएका रचनाहरुको समिक्षा गर्दै हाम्रो नेपालको संस्कृति किन्ने र प्रयोग गर्ने बानी भएकोले पूराना संस्कृति भित्रका राम्रा पक्षहरुलाई संरक्षण गर्दै गलत संस्कृतिलाई फालेर नयाँ र सुन्दर संस्कृति निर्माण गर्नु पर्ने बताए ।
उनले हाम्रा रचनाहरुले हामी र हाम्रो समाज परिवर्तन गराउन भुमिका खेल्ने खालको हुनु पर्ने बताए । उनले दलाल पुँजीवादी संस्कृति र उपभोक्तावादी संस्कृतिको विरुद्ध एकाकार भएर सृजना चौतारी मार्फत अगाडि बढ्नु पर्ने बताए ।
कार्यक्रममा सिद्धान्त कुँवर, प्रकाश चौधरी, अनुष्का पोख्रेल, सुनिता बोगटी, प्रसुन ज्ञवाली, प्रविन न्यौपाने लगायतले आफ्नो सृजना प्रस्तुत गरेका थिए ।
कार्यक्रम प्रमिसा क्षेत्रीको अध्यक्षता र महेन्द्र घर्तिमगरको सञ्चालनमा भएको थियो ।
सृजना चौतारीको नियमित तेस्रो शृंखला जेठ ७ गते हुने विहानी मगरले बताइन् ।
