यतिखेर विचार, राजनीति, संगठन र संघर्षका हिसाबले ठोस परिस्थितिको ठोस विश्लेषणसहित एकीकृत जनक्रान्तिमार्फत वैज्ञानिक समाजवादी व्यवस्था प्राप्तिको सङ्घर्षमा केन्द्रीत रहेको नेकपाविरूद्व अहिले चौतर्फी रुपमा गोयबल्स शैलीमा भ्रामक प्रचारहरु भइरहेका छन् । नेकपाका तमाम क्रान्तिकारी कार्यकर्ता, क्रान्तिकारी जनसमुदाय र महान सहिद तथा बेपत्ता परिवारजनमा नेकपाको नीति तथा नेतृत्वप्रति अविश्वास पैदा गराउने र एकीकृत जनक्रान्तिलाई ‘सेबोटेज’ गराउने दुराशयपूर्ण उद्देश्यमा आधारित रहेर यस्ता मनोवैज्ञानिक आक्रमणहरु भइरहेका छन् ।
विशेषगरी चैत ५ देखि कपिलवस्तुको शिवगढीमा सुरू भएको नेकपाको १२ औं केन्द्रीय समितिको बैठकमा उठेको स्थानीय तहको चुनावबारे दक्षिणपन्थी अवसरवाद, जडसुत्रवाद, नवसंशोधनवाद र दलाल प्रतिक्रियावादी कित्ताबाट यस्ता आक्रमणहरु केन्द्रित गरिएको देखिएको छ । त्यसको क्रान्तिकारी पंक्तिले डटेर प्रतिवाद गर्न जरुरी देखिन्छ ।
नेकपाले चुनावलाई कार्यनीतिक प्रश्नको रुपमा लिएको छ । वैज्ञानिक समाजवाद प्राप्तिको संघर्षमा जनमत तयार गर्न र दलाल पुँजीवादी सत्ता तथा व्यवस्थाको विरोध एवम् भण्डाफोर गर्न नेकपाले उपयुक्त कार्यनीति तय गर्न सक्छ । अर्थात् बहिस्कार वा उपयोग दुवै गर्न सक्छ । यो नेकपाले केन्द्रीय समितिको बैठकबाट ठोस परिस्थितिको ठोस विश्लेषण गर्दै देशको वस्तुगत परिस्थितिका आधारमा तय गर्छ । त्यसैको अहिले लागी केन्द्रीय समितिको बैठक जारी छ । तर बैठकले नीति नटुङ्ग्याउदै अहिले सामाजिक सञ्जाल र अनलाइन समाचारहरुमा व्यापक भ्रामक टिप्पणीहरु आइरहेका छन् । जसको खण्डन मंगलबार नेकपाले इरातोखर डटकम मार्फत् गरेको छ ।
पार्टी स्रोतले भनेको छ, “जनतासँग जोडिएर जानुपर्ने आवश्यकता र औचित्यका विषयमा केन्द्रीय सचिवालय सदस्य र केन्द्रीय सदस्यबीच छलफल केन्द्रित छ । विभिन्न सञ्चारमाध्यममा पार्टीको बैठकमा कोको चुनावका पक्षमा र कोको चुनावका विपक्षमा भनी आएको टिप्पणी सत्य छैन ।”
नेकपा केन्द्रीय सदस्य एवं रातोखबरका निर्देशक प्रज्वलनले पार्टीका सम्पूर्ण नेता–कार्यकर्ता क्रान्तिका पक्षमा एक ढिक्का भएर अघि बढ्ने विषयमा बहस र छलफल केन्द्रित रहेको जानकारी दिनुभएको छ । चुनाव प्रयोग वा बहिष्कार गर्ने विषय कार्यनीतिक विषय भएकाले छलफल हुनु स्वाभाविक रहेको र जनताको रुचि र चासोका विषयमा पार्टीमा बहस हुनु कुनै अस्वाभाविक विषय नभएको बैठकमा सहभागी केन्द्रीय सदस्यहरूले बताएका छन् ।
पार्टी महासचिव विप्लवले बैठकमा प्रस्तुत गरेको प्रतिवेदनको ‘एकीकृत जनक्रान्तिका कार्यनीतिहरू र स्थानीय निर्वाचन’ उपशीर्षकमा भनिएको छ, ‘हामीले कार्यनीति ठोस गर्दा जहिले पनि देश, श्रमिक जनता, मित्रशक्ति र पार्टीपङ्क्तिको अवस्थालाई केन्द्र भागमा राखेर गर्नुपर्छ । कस्तो कार्यनीतिले देशको हितमा, नागरिकहरूलाई ध्रुवीकृत गर्न मद्दत गर्छ, जनता र पार्टीको सम्बन्धलाई मजबुत बनाउँछ, जनतालाई एकताबद्ध र सक्रिय बनाउँछ, पार्टी पङ्क्तिलाई जनतामा पुग्न सहज तुल्याउँछ र क्रान्तिलाई अगाडि बढाउन मद्दत गर्छ भन्ने पक्षहरूलाई ध्यान दिएर बनाउनुपर्छ ।’
नेपाली सर्वहारा श्रमिकवर्गकोे एकमात्र प्रतिनिधि पार्टी भनेको नेकपा भएकोले नै यस पार्टीलाई जनताबाट कटाउन र क्रान्तिबाट अलगावमा पार्न उनीहरु पार्टीका विरुद्ध गोयबल्स प्रचारमा उत्रेका छन् । नेकपाको पक्षमा देशव्यापी आकर्षण देखेपछि विशेषतः माकेलगायत कतिपय समूहभित्र बेचैनी बढेको छ र उनीहरु नेकपाका विरुद्ध प्रचार आतंकमा उत्रिएका छन् । उनीहरुले प्रायोजित रुपमा प्रचारित गरिरहेका छन् । यो उनीहरुको पराजित र आतंकित मानसिकताको उपज हो । तर यसले जनतामा भ्रम पारिरहेको छ । यसको नेकपा पंक्तिले डटेर प्रतिवाद गर्नैपर्दछ ।
