बुटवल । माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक सकिएको छ । बैठकमा एमसीसी सम्झौताको बिषयमा छलफलबारे विभिन्न चर्चाहरु सार्वजनिक भएका छन् । बैठकमा प्रचण्ड एमसीसीबारे आफुले गरेको निर्णयको सम्पूर्ण पार्टीपंक्तिले रक्षा गर्नुपर्ने चर्चा बाहिर आएको छ भने कृष्णबहादुर महरा, देव गुरुङ र लिलामणी पोखरेलले फरक मत राखेको सार्वजनिक भएको छ । मिडियाहरुमा एमसीसीबारे विरोध गर्दै आएका नारायणकाजी श्रेष्ठलगायत उनका समूहले (लिलामणी पोखरेलबाहेक) यसबारे बैठकमा लिखित रुपमा कुनै फरक मत पेश गरेका छैनन् ।
फागुन १५ अर्थात् संसदमा मतदान हुनुअघि माकेले यसबारे कडा विरोध गरेजस्तो गरेपनि अन्ततः यसको समर्थन गरेका थिए । यसअघि माकेका कार्यकर्ता एमसीसीको विरोधमा थिए तर फागुन १५ पछि एकाएक उनीहरुको बोली र व्यवहार फेरिएको थियो । त्यहाँभित्रका इमान्दार केही (थोरै संख्या) कार्यकर्ताहरुको शीर लत्रिएको छ । माकेका केन्द्रीय सदस्य सञ्चारमाध्यममा लेखनाथ न्यौपानेले एमसीसी पास गरे नेतालाई जुत्ता हान्ने बताएका थिए भने लिलामणि पोखरेलले पार्टी छोड्ने सार्वजनिक अन्तर्वार्ता दिएका थिए । तर माकेकै समर्थनमा सम्झौता अनुमोदन भयो । अर्थात् माकेले इतिहासमा कहिल्यै नमेटिने गम्भीर राष्ट्रघातको पक्षमा आफुलाई उभ्यायो ।
प्रचण्डले एमसीसी अनुमोदन गर्ने निर्णयलाई सही ठहर्याउन पत्रकार सम्मेलन गरेर हजार कोशिश गरे । एमसीसीको विरोध गर्ने नारायणकाजीहरुलाई पार्टी छोड्न सल्लाह समेत दिए । फागुन १४ गतेसम्म सडकमा प्रहरीसित भिडेका माकेका कार्यकर्ताहरु विद्रोह त कता हो कता, साम्राज्यवादसामु प्रचण्डले गरेको आत्मसमर्पणमा लुरूलरु लामबद्ध भए । माकेभित्रका ‘इमानदार’ भनिएका कार्यकर्ताहरुको अवसरवादी, द्वैद्व चरित्र, आत्मसमर्पणवादी र निम्नस्तरको वैचारिक चिन्तनले सिंगो पार्टीको अवस्थालाई सतहमा ल्याइदियो ।
एमसीसीप्रति माकेको निर्णयले उसको राष्ट्रघाती चरित्रलाई उदाङ्गो पारिदियो । प्रचण्डले ‘व्याख्यात्मक प्रस्ताव’को फोहोरी रूमालले कार्यकर्ता र जनतामा आफ्नो लाज ढाक्ने कोशिस गरे । प्रचण्डले आफुलाई ‘माओवादी’ देखाइरहन चाहने तर वैचारिक स्खलनको निम्नस्तरलाई स्वीकार्न पनि नसकेको योगफल स्वरूप यस्तो द्विविधा देखिएको हो । प्रचण्डहरू अहिले पनि जनतालाई आफ्नो स्खलित रूप देखाउन पनि तयार छैनन् । तर, यथार्थमा माके अहिले एमालेभन्दा कुनै हिसाबले फरक पार्टी रहेन । अर्कोतिर उनीहरुको जीवनशैली एमाले र कांग्रेसभन्दा कुनै फरक छैन । राष्ट्रघातको शृंखलामा माके कांग्रेस, एमालेको लाइनमा उभियो ।
माके (प्रचण्ड) समूहले ‘व्याख्यात्मक घोषणा’लाई ठूलो उपलब्धि भएको, सभामुख जोगाएको, आफुलाई हेग लानबाट बचाएको आदि प्रचार गरिरहेको छ । तर 'व्याख्यात्मक घोषणा' कार्यकर्तालाई झुक्याएर चोरबाटोबाट एमसीसी पास गरेर अमेरिकाको चाकडी गर्ने र आफ्नो अनुहार लुकाउने फोहोरो तालोमात्र थियो । यथार्थमा प्रचण्डको अमेरिकी साम्राज्यवादसामु आत्मसमर्पण थियो । यसको परिणाम प्रचण्डले आगामी दिनमा भोग्दै जानेछन् ।
प्रचण्डको यो चिन्तन र शैली राजनीतिकको निम्नस्तरको शैली हो । नैतिकहीन र सिद्धान्तच्युतको प्रमाण हो । प्रचण्ड निकृष्ट सीमामा पुगेको प्रमाण हो । कम्तीमा एमालेले महाकाली सन्धि गर्दा नेता कार्यकर्ताले विद्रोह गर्ने आँट गरेका थिए तर माकेभित्रका कार्यकर्ता प्रचण्डसित सँगै सती गए । अर्थात् माके पार्टी अब देशभक्त पार्टी त रहेन नै, कम्युनिस्ट र माओवादीको नाममा राष्ट्रघात गर्ने देशघाती बदनाम पार्टीको रूपमा आफुलाई नाम लेखाएको छ ।
