चीनको अफिम युद्ध र परिणाम

सन् १८३० तिरको कुरा हो, चीनमा छिङ (Ching) वंशको सरकार थियो । चीन त्यसबेला आत्मनिर्भर किसानी अर्थतन्त्रमा आधारित एक सामन्ती समाज थियो । त्यसबेला बेलायत संसारको सबभन्दा अगाडि बढेको औपनिवेशिक शक्ति थियो । त्यसको पुँजीपतिवर्ग अन्य देशमा जस्तै चीनमा पनि घुस्न चाहन्थ्यो । तिनीहरू चीनमा आफ्ना कपास र ऊनले बनेका तयारी सामान बेच्न चाहन्थे र त्यहाँका कच्चा सामान लैजान चाहन्थे । चीनमा त्यतिबेला विदेशीहरू आएर बन्द व्यापार गर्न पाउँदैनथे । बेलायती पुँजीपतिवर्ग चीनमा बसेर आफ्नो व्यापार बढाई चिनियाँ जनतालाई ठग्न र लुट्न चाहन्थे । बजार कब्जा गर्न सरकारको स्वीकृति चाहिन्थ्यो वा ढोका खोल्नु आवश्यक थियो ।

बेलायती पुँजीपतिहरूले चीनमा अफिमको व्यापार गर्न थाले । त्यसबाट बेलायतले २–३ करोड स्वर्ण मुद्रा वा सुनको इँटा हात पा¥यो र १८३५ सम्ममा चीनका २० लाख ठूल–ठूला कर्मचारी, बुद्धिजीवीहरू, जमिनदारहरू, खान्दानी र साहु–महाजनहरू अफिमको लतमा परिसकेका थिए । अफिमको लतले एकातिर माथिल्ला चिनियाँ जनता काम गर्न नसक्ने ऐøयासी र खर्चालु भए भने अर्कोतिर सुनको भण्डार बेलायतीहरूको हातमा गयो । त्यसले चाँदीको मुद्राको भाउ बढ्यो, साथै तामाको मुद्राको मूल्य पनि बढ्यो । त्यसको प्रत्यक्ष प्रभाव किसान र अन्य कामगरी खाने तल्लोवर्गका जनतामा पर्यो । तिनीहरूले तिर्ने करको भार बढ्दै गयो । जनताको जीवनस्तर तल झर्यो र दैनिक जीवन कष्टकर हुँदै गयो ।

अफिमको व्यापारले देशको चौतर्फी नोक्सान गरेकोबारे दरबारमा दुईमत देखापर्यो । एउटा पक्ष, अफिमको व्यापारमाथि रोक लगाउनुपर्छ भन्ने थियो भने अर्को पक्ष त्यसको समर्थनमा थियो । अफिम व्यापारबाट फाइदा उठाइरहेका दरबारी गुट स्वाभाविकरूपमा बेलायतको पक्षमा थियो । तिनीहरू सारमा बेलायतका दलाल भइसकेका थिए । चिनियाँ सम्राट ताओ कुआङ (Tao Kuang) ले अफिमको व्यापारमा रोक लगाउन सैनिक अञ्चलाधीशको रूपमा लिन त्से स्यु (Lin Tse Hsu) लाई क्यान्टनमा खटायो । १८३९ को वसन्तमा क्यान्टन पुग्नासाथै अञ्चलाधीशले सबै विदेशी साहुमहाजन र व्यापारीहरूलाई सम्पूर्ण अफिम चीन सरकारलाई सुपुर्द गर्न (बुझाउन) र आयन्दा अफिम व्यापार नगर्न र नल्याउन हस्ताक्षर गर्न आदेश दियो । आज्ञा उल्लङ्घन गर्नेलाई मृत्युदण्ड दिने र सबै सामान जफत गर्ने आदेश पनि सुनाइयो ।

त्यसबेला बेलायती व्यापारको मुख्य अधिकारी क्याप्टेन चाल्र्स इलियट (Captain Charles Elliot) थियो । उसले चीन सरकारको त्यो निर्देशनलाई असफल पार्न बेलायती साहुमहाजनहरूलाई अफिम सुपुर्द नगर्न र अब आयन्दा अफिमको व्यापार नगर्ने कागतमा हस्ताक्षर नगर्नसमेत आदेश दियो । बेलायतीहरूको त्यस अवज्ञाको जवाफमा अञ्चलाधीश लिन त्से स्युले विदेशीहरूका सबै गोदामहरूलाई चिनियाँ सिपाहीहरूले घेर्न लगाए, दानापानी अर्थात् तरकारी र पानी आपूर्ति रोके, तिनीहरूलाई बहालमा दिइएका सबै ठाउँ छोड्ने आदेश दिए तथा बेलायतीहरूकहाँ काम गर्ने सबै चिनियाँ कर्मचारीहरूलाई विदेशी व्यापारीहरूको गोदाम र व्यापार केन्द्रहरू छोड्न निर्देशन दिए ।

तीन दिनको घेराबन्दीपछि क्याप्टेन इलियटले आत्म–समर्पण गर्यो र अफिमको २० हजार बाकस चीन सरकारलाई बुझायो, त्यसमा अमेरिकी साहु–महाजनहरूको एकहजार अफिमको बाकस पनि थियो । ३ जून १९३९ को दिन ह्युमेन (Human) भन्ने समुद्री किनारमा तीन दिन लगाएर जफत भएको अफिमलाई आगो लगाई खरानी पारियो । त्यो दिन चिनियाँ इतिहासमा विजयको दिन जत्तिकै खुसीको दिन थियो र अञ्चलाधीश एक वीरको रूपमा स्मरण गरिए ।

युद्धको तयारी
प्रतिक्रियावादीहरू अन्तसम्म हार मान्दैनन् भनेजस्तै बेलायती पुँजीपतिवर्गले हार मानेन । बेलायतीहरूले युद्धको तयारी गरेको थाहा पाएपछि अञ्चलाधीश लिन से स्युले पर्ल नदी (Pearl River) का किनाराहरूमा फलामे सिक्री र काठहरूले छेकवारहरू बनाउन दिए । नयाँ–नयाँ किल्ला बनाइए र ३ सय तोपसहितका सिपाहीँहरू नदीका किनारमा तैनाथ गरिए । चिनियाँ पल्टनको उत्साह उँचो थियो र परेड खेलाइयो । त्यहाँ जलसेनाका नायक क्वान तिइन पाइ (Kuan Tien Pai) थिए ।

बेलायती आक्रामकहरूले क्वाङतुङ प्रान्तमा समुद्री किनाराबाट घुस्न अनेक प्रयत्न गरे तर सकेनन् । ठाउँ ठाउँमा आफ्नो देशलाई जोगाउन स्वयंसेवक दलहरू उपस्थित थिए । सेना र जनताको घनिष्ठ सम्बन्धले गर्दा बेलायती आक्रमण असफल हुँदै गयो । पानी परेको हुँदा बारुद भिजेर बेलायती सेनाको बन्दुक पड्केन र किसान जनताले पछाडिबाट गएर बेलायती सिपाहीहरूमाथि हमला गरे । अन्ततः बेलायती आक्रमण असफल भयो ।

तर, बेलायती साम्राज्यवादीहरूले अप्रिल १८४० मा पुनः आक्रमण गर्न जर्ज इलियट (George Elliot) को अगुवाइमा नयाँ तयारी गरे । अर्कोतिर बेलायती सरकारले पेइचिङको राजदरबारमा सुनको घडी उपहार दिएर मेलमिलाप गर्ने र दुई देशको बिचमा झगडा लगाउने काम गरेको भनी अञ्चलाधीश लिन त्से स्युलाई दोष दियो । दरबारभित्र अफिम व्यापारले फाइदा उठाइरहेका बेलायती दलालहरू लिन से स्युको विरोधमा कुरो लगाउँदै थिए । दलालहरूको कुरा सुनेर सम्राट ताओ क्वाङले अञ्चलाधीश लिन त्से स्युलाई बर्खास्त गरे र बेलायतसँग मिल्ने चि शान (Chi Shan) लाई अञ्चलाधीश नियुक्त गरे ।

बेलायत समर्थक नयाँ अञ्चलाधीश चि शानले क्यान्टन र समुद्री किनारामा बनाइएका सबै किल्ला, रक्षा पङ्क्ति र चौकीहरू भत्काउन दिए । बेलायतले आक्रमण सुरु गर्यो । चिनियाँ सम्राटले सम्झौता गर्न खोजे । बेलायतले हङकङ लिने र ६० लाख चाँदीको मुद्रा क्षतिपूर्ति माग गयो । चीनले त्यस सर्तलाई अपमान सम्झ्यो र बेलायतको अगाडि नझुक्ने दृष्टिकोण अगाडि सा¥यो ।
बेलायतले चिनियाँ सम्राटको मनसाय बुझेर ह्युमेन (Human) गढमा हमला गर्यो । चिनियाँ जलसेना नायक क्वान तिइन पाइ अन्तिम व्यक्ति भएसम्म लड्दै रहे । चीनको पराजय भयो र बेलायती सेना क्यान्टनको पर्खालसम्म पुग्यो र राति व्यापक हत्याकाण्ड, लुटपाट र आगो लगाउने काम भयो ।

त्यस घटनाले चिनियाँ जनतामा ठूलो आक्रोश फैलियो । त्यसको बदला लिन चिनियाँ जनताले ‘बेलायती सेना दबाउने’ (Ping Ying Tuan) सङ्गठन बनाए । १८४१ को मई महिनामा क्यान्टनमा बेलायती सिपाहीहरूले उत्पात मच्चाउँदा अचानक घण्टा बज्यो र दसौँ हजार चिनियाँहरूले कुटो कोदाली र साधारण हातहतियार लिएर हमला सुरु गरे । महिला र केटाकेटीले लडाकूहरूलाई खानेकुरा र पानी पु¥याउँथे । पानी परेको हुनाले बेलायती सिपाहीहरू हिलोमा फसे । बेलायतको अगाडि आत्मसमर्पण गर्ने सरकारी अधिकारीहरूले किसानहरूलाई फकाई–फुलाई घर फर्काए र बेलायतीहरूलाई भाग्न दिए ।

चिनियाँ सरकारले लडाइँ समाप्त भएको सम्झी समुद्र किनारका सबै अवरोध र किल्ला भत्काए । तर, बेलायतले २५ अगष्ट १८४१ मा पुनः ठूलो आकारको हमला गर्यो र अमोइ (Amoy) सहर कब्जा गर्यो । एक महिनापछि बेलायतले अमोइको उत्तरको तिहाइ (Tinghai) ६ दिन ६ रात लडाइँ गरी हात पा¥यो र त्यसपछि त्यसको पश्चिमको नगर निङपो (Nigpo) लाई १३ अक्टोबरको दिन हात पा¥यो ।

ती लडाइँहरूमा चिनियाँ सेना नायकहरूले अत्यन्त वीरतापूर्वक लडे, घाइते र रक्ताम्य हुँदै देशको रक्षा गरे । तर, माथिल्ला पदाधिकारीहरू भित्रभित्र बेलायतसँग मिलेका थिए । त्यस्ता दलालहरूले चीनलाई खाल्डोमा पार्दै थिए ।

बेलायती सेनाले ६ अगष्ट १८४२ मा नानकिङ नजिकै हमला गर्यो । २९ अगष्टको दिन नानकिङ बाहिर बेलायती जहाजमा पहिले असमान सन्धिमा चीनले हस्ताक्षर गर्यो । त्यस सन्धिअनुसार क्यान्टन, फुचाउ, अमोइ, निङपो र साङ्घाई गरी ५ वटा बन्दरगाह सहरमा बेलायतलाई व्यापार गर्न दिने भयो । हङकङ बेलायतलाई छोड्ने, दुई करोड १० लाख चाँदीको मुद्रा चीनले क्षतिपूर्ति दिने तथा बेलायतसँग सल्लाह गरेरमात्रै बेलायती सामानमा करको दर निर्धारण गर्न पाउने सर्त चीनलाई मान्न बाध्य बनाइयो ।

नानकिङ सम्झौतापछि अर्थात् चीनको कमजोरी थाहा पाएपछि बेलायतले चीनमाथि एकपछि अर्को असमान सन्धि थोप्दै गयो । १८४३ मईमा बेलायतले ‘सबभन्दा महत्व दिएको राष्ट्रको व्यवहार गर्ने’ अर्थात् बेलायतलाई अरू शक्ति राष्ट्रभन्दा बढी सहुलियतहरू दिने, चिनियाँ र बेलायती साहु महाजनबिच कुनै विवाद भएमा बेलायती न्यायिक क्षेत्रभित्र पर्ने अर्थात् बेलायतको कानुनअनुसार फैसला गर्ने आदि चीनमा सर्वाधिकार सम्पन्न महावाणिज्यदूतको बन्दोबस्त गर्न चीन राजी भयो ।
बेलायतले यसरी चीनको सार्वभौमिकता तथा क्षेत्रीय अखण्डतामाथि भाँजो हाल्दै गयो ।

अफिम युद्धको परिणाम
संरा अमेरिकासँग वाङहिया सम्झौता
बेलायतसँग नानकिङ सम्झौताले चीनसँग निहुँ खोज्न संरा अमेरिकालाई उत्साहित गर्यो र १८४४ फेब्रुअरी महिनामा उसले मकाउ (Macao) का सर्वाधिकार सम्पन्न दूत पेइचिङ पठायो । बेलायतसँग डराएको छिङ सरकारले १८४४ जुलाई महिनामा मकाओ नजिकैको एउटा गाउँ वाङहिया (Wanghia) संरा अमेरिकासँग एक असमान सन्धि ग¥यो । ३४ धारा भएको वाङहिया सन्धिले बेलायतसँगको सन्धिमा भन्दा बढी सहुलियतहरू अमेरिकालाई दिने भयो र विदेशी पुँजीवादी शक्तिको निम्ति चीनको बाटो चौडा हुँदै गयो ।

फ्रान्ससँग ह्वाङपो असमान सन्धि
ओरालो लागेको मृगलाई बाछोले पनि लखेट्छ भनेजस्तै चीनमाथि फ्रान्सले पनि ३६ धाराको असमान सन्धिमा हस्ताक्षर गरायो । त्यस सन्धिमा बेलायत र संरा अमेरिकाले पाएको सरह सबै सहुलियतहरू पाउने र चीनमा रोमन क्याथोलिक धर्म प्रचार गर्न पाउने भयो । त्यस सन्धिअनुसार चीनको ५ वटा बन्दरगाहहरूमा चर्च वा गिर्जाघर बनाउने र चिहानहरू बनाउन पाउने भयो । ती चर्चका पादरीहरूले चीनविरोधी गतिविधि पनि गर्थे ।

तिनीहरूको अधिकार क्षेत्रभित्र पस्ने वा अतिक्रमण गर्ने चिनियाँहरूलाई र चीनको स्थानीय प्रशासनलाई सजाय वा कारबाहीको निम्ति बुझाउने पनि सन्धिमा उल्लेख थियो ।
चीन एक अर्ध–उपनिवेश देश बन्यो, नानकिङ सन्धिपछि बेलायती र अरू साम्राज्यवादी देशहरूको तयारी सामानले चीनको गाउँ–गाउँसम्म बजार पायो । बेलायती कपडाले चीनको कुटीर व्यवस्था ध्वस्त पा¥यो । बेलायतले फेरि अफिम बेचेर चीनको चाँदीको सम्पत्ति सोह¥यो र बजार मूल्य बढेर जनता झन्झन् गरिबीमा डुबे । चीनको आत्मनिर्भर अर्थतन्त्रलाई विदेशी पुँजीवादको प्रहारले ध्वस्त पा¥यो । चीन एक सामन्ती अर्थतन्त्रबाट अर्ध– उपनिवेशवादी अर्थतन्त्र र अर्धसामन्ती अर्थतन्त्रमा फेरियो । १८४९ मा क्यान्टनका जनताले विदेशीहरूलाई नगरभित्र पस्न नदिन ठूलो भिडन्त गरे तर सरकार झुक्यो । चिनियाँ जनताले विदेशी आक्रमणकारी र विदेशीको दलाली गर्ने र जनतालाई शोषण गर्ने स्थानीय सामन्ती शासकहरूको विरोधमा सङ्घर्ष गर्न थाले ।

स्रोत : चीनका प्रसिद्ध युद्ध र विद्रोहहरू