वरिष्ठ साहित्यकार दिल साहनी सम्मानित

बुटवल । नेपाली साहित्य परिषद्, शिलाङको स्वर्णजयन्तीको अवसरमा बुटवलमा सम्मान तथा कविता सङ्ग्रह विमोचन कार्यक््रmम गरी मनाइएको छ ।

सन् १९७०मा भारतको शिलाङमा नेपाली भाषी साहित्यकारहरुले स्थापना गरेको ‘नेपाली साहित्य परिषद्’ र परिषद्को प्रकाशन ‘मादल’ प्रकाशन आरम्भ गरेका थिए । कार्यक्रममा परिषद्का संस्थापक सचिव दिल साहनी, सहसचिव धर्मलाल भूसाल र दुर्गाप्रसाद अधिकारीलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा नेपाली साहित्य परिषद्, शिलाङका सहसचिव तुल्सीराम फुल्लेलले संस्थापक सचिव, सहसचिव र सदस्यलाई सम्मानपत्र र खादाद्वारा सम्मान गर्नुभएको थियो । कार्यक््रmममा बोल्दै सम्मानित व्यक्तित्व लेखक दिल साहनीले कारणवश शिलाङको कार्यक्रममा उपस्थित हुन नसकेका नेपालका साहित्यकारहरुलाई नेपालमै आएर सम्मान गरी नेपाली साहित्य परिषद्ले इतिहासको सम्मान गर्दा गौरव अनुभव गरेको बताउनु भयो ।

त्यस्तै शुभकामना मन्तव्य दिंदै साहित्यकार डा. कपिलदेव लामिछानेले कार्यक््रmमले रुपन्देही र शिलाङका साहित्यकारहरुलाई जोड्ने सम्बन्ध सेतुको काम गरेको उल्लेख गर्नुभयो । त्यस्तै साहित्यकार ऋषिराम भूसालले लेखक दिल साहनीले नेपाललाई शिलाङसँग जोड्ने उल्लेखनीय योगदान गर्नुभएको चर्चा गर्नुभयो ।

कार्यक्रममा कवि तुल्सीराम फुल्लेलको कविता सङ्ग्रह ‘तिमी नहुँदा’ विमोचन गरिएको थियो । विमोचित कृतिको समीक्षा राजेन्द्रकुमार आचार्यले गर्नुभएको थियो ।

कार्यक्रममा डा. मुरारि पराजुली, रुद्र ज्ञवाली, ज्ञानु केसी, दिपक विश्वकर्मा, कविराज पौडेल, छवि ज्ञवाली, साया किरण, पुरुषोत्तम पाण्डे, यज्ञलाल सुवेदीलगायतले रचना वाचन गर्नुभएको थियो । विमोचन तथा रचना वाचन सत्र कविराज पौडेलेका अध्यक्षता र रामचन्द्र श्रेष्ठको सञ्चालनमा सम्पन्न भएको थियो ।