अखिल (क्रान्तिकारी) रूपन्देहीद्वारा  लुम्बिनी बौद्ध विश्वविद्यालयमा मागपत्र पेश

अखिल (क्रान्तिकारी) रूपन्देहीद्वारा  लुम्बिनी बौद्ध विश्वविद्यालयमा मागपत्र पेश

बुटवल । आखिल (क्रान्तिकारी) रूपन्देहीका लुम्बिनी बौद्ध विश्वविद्यालय र सिटी कलेज बुटवलमा अध्ययनरत  विद्याथाीहरुले  लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपतिको कार्यालय, रजिष्टारको कार्यालय, परिक्षा नियन्त्रण कार्यालय र डिनको कार्यालयमा माग पत्र पेश गरेका छन् । 

विद्यार्थीहरुले विभिन्न माग राख्देै आएको तर विश्वविद्यालय प्रशासनले विद्यार्थीका जायज माग सम्बोधन नगरी मागप्रति बेवास्ता गरेको भन्दै विश्वविद्यालय प्रशासन समक्ष ४ दिन भित्र पुरा गर्नुपर्ने अल्टीमेटम सहित माग पत्र पेश गरेको हो । 

माग प्रति बेवास्ता गरिए थप शसक्त आन्दोलन गर्ने र त्यसको जिम्मेवार विश्वविद्यालय नै हुने बोधार्थ सहित निम्नलिखित मागहरु यसप्रकार रहेका छन् ।

श्री उपकुलपति ज्यू,
लुम्बिनी बौद्ध विश्वबिद्यालय
लुम्बिनी, रूपन्देही ।

बोधार्थ–
उपकुलपतिको कार्यालय, लु.बौ.बि.बि.
रजिस्ट्रारको कार्यालय,लु.बौ.बि.बि.
परिक्षा नियन्त्रण कार्यालय,लु.बौ.बि.बि.
डीनको कार्यालय,लु.बौ.बि.बि.
                                                                                               बिषय – मागपत्र

हाम्रो महान तथा गौरवशाली संगठन अखिल (क्रान्तिकारी) जनजीविका, जनतन्त्र र राष्ट्रियता तथा शैक्षिक र विद्यार्थीको पक्षमा तथा सबैखाले बेथितिहरूको विरुद्धमा शशक्त आन्दोलन र सङ्घर्ष गर्दै आइरहेको संगठन हो ।

यसै क्रममा विगत लामो समयदेखि यस लुम्बिनी बौद्ध विश्वविद्यालय, सिटी कलेज,बुटवलमा अध्ययनरत विद्यार्थीहरूले विभिन्न मागहरू राखि आन्दोलन गर्दै आइरहेकोमा कलेज प्रशासनको सुनुवाइ नभएको अवस्था रह्यो । बरु उल्टै विद्यार्थीहरूको जायज माग सम्बोधन गर्नुको साटो मागहरूप्रति वेवास्ता गरिरहेको अवस्था छ । तसर्थ,निम्न लिखित मागहरू यस विश्वविद्यालय प्रशासनसमक्ष, ४ दिनभित्र पूरा गर्नुपर्ने अल्टिमेटमसहित यो मागपत्र पेश गर्दछ । मागप्रति वेवास्ता गरिएको खण्डमा थप शशक्त आन्दोलन हुनेछ, त्यसको सम्पूर्ण जिम्मेवार विश्वविद्यालय प्रशासन हुनेछ ।

मागहरू  ः

१  यस कलेजका केही लेक्चरहरूद्वारा विद्यार्थीमाथि गरिएको अस्वभाविक र अमर्यादित व्यवहार तथा विभिन्न वहानामा मानसिक डर, धम्की, त्रास, प्रलोभन दिने काम बन्द गरियोस् । साथै विद्यार्थीहरूले भयरहित, सुरक्षित, विद्यार्थी मैत्री र भेदभावरहित वातावरणमा अध्ययन गर्न पाउने अधिकारको सुनिश्चितता गरियोस् । यसप्रकारका गतिविधिमा संलग्न लेक्चररहरूलाई तुरुन्त कारबाही गरियोस् ।
२  कोरोना महामारीको समयको सेमेस्टर शुल्कमा ५०  प्रतिसत छुट गरियोस् ।
३  आन्तरिक मूल्यांकनको नतिजा पारदर्शी र ग्रेडसिटमा उल्लेख गरियोस् । विश्वविद्यालयका परीक्षा, सुचना र नतिजाहरू विश्वविद्यालयको नियमानुसार प्रकाशित गरियोस् ।
४  विद्यार्थीको लागि यातायातको व्यवस्था गरियोस् ।
५  पुस्तकालयमा आवश्यक पाठ्यपुस्तक तथा सन्दर्भ सामग्रीको यथासिघ्र व्यवस्था गरियोस् ।
६  कक्षा नियमित र समयमै सञ्चालन गरियोस् ।
७  कुनै पनि बहानामा कुनै लिङ्ग, जाति, भाषा, क्षेत्र, शारीरिक बनावट तथा वर्णको आधारमा विभेद हुने व्यवहारहरू प्रदर्शन भइरहेकोले सो व्यवहारलाई निशेध गर्ने वातावरण बनाइयोस् ।
क्रान्तिकारी अभिवादनसहित 

मिति– २०७८/१२/३०
आविस पौडेल
संयोजक, अखिल (क्रान्तिकारी)
लुम्बिनी बौद्ध बिश्वबिद्धालय, सिटी कलेज, बुटवल