एमसीसी कार्यान्वयन भए ०५२ साल दोहोरिने विप्लवको चेतावनी

‘यो संसद प्रति हाम्रो समर्थन त छैन’

एमसीसी कार्यान्वयन भए ०५२ साल दोहोरिने विप्लवको चेतावनी

शोभराज बराल, काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीले एमसीसी खारेज नभए ०५२ साल दोहोरिन सक्ने चेतावनी दिएका छन । नेपाल कम्युनिस्ट पार्टी ,क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल , नेपाल कम्युनिस्ट पार्टी र वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालले एमसीसी खारेजको माग गर्दै काठमाडौँमा आयोजना गरेको बिरोध प्रदर्शनलाई सम्बोधन गर्दै विप्लवले यस्तो चेतावनी दिएका हुन् ।

आगोको झिल्कालाई सानो भनेर हेपियो भने यसले डडेलोको रुप लिने भन्दै विप्लवले एमसीसी कार्यान्वयन गर्ने चेष्ट नगर्न सबैलाई अपि गरे । ‘जनताको तागत कस्तो हुन्छ भनेर कांग्रेसले बुझे हुन्छ, एमालेले बुझे हुन्छ ।’, सभालाई सम्बोधन गर्दै विप्लवले भने, ‘२०४९÷५० सालमा जनताको झिल्कोलाई अबमूल्यान गर्दा २०५२ साल जन्मियो । अहिले एमसीसी कार्यान्वयन गर्न खोजे फेरी २०५२ साल जिन्मन सक्छ ।’

महासचिव विप्लव सीले एमसीसी नेपाली जनताले अनुमोदन नगरेको बताउदै एमसीसी नेपालको बिकासको लागि नभई बिनासको लागि भित्रिएको ठोकुवा गरे । ‘नेपालको संसदमा देशको रक्षा गर्नका लागि जनताले पठाएका हुन् । तर जनताका प्रतिनिधि देश बेच्ने सम्झौता गर्न थाले ।’, विप्लवले भने, ‘यो संसद प्रति हाम्रो समर्थन त छैन, तर जनताका प्रतिनिधि भएपछि उनीहरुले जनताको पक्षमा काम गर्नुपर्ने हो ।’

नेपाली जनताको प्रतिनिधि जिउँदा नभएको भन्दै देशको पक्षमा, राष्ट्रको पक्षमा उभिएका व्यक्तिले आफू जिवित भएको प्रमाणित गर्नपर्ने बेला भएको बताए । कोषसभामा क्रान्तिकारी कम्युनिस्ट पार्टीका प्रवक्ता कन्चन, नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेल, पूर्व सुरक्षा परिषदका प्रवक्ता हेमकोण गिरी, नेपाली सेनाका पूर्व जर्नेल प्रमसिंह बस्न्यात र विद्रोही मशालका नेता चिन्तामणी पोखरेलले सम्बोधन गरेका थिए ।

कोषसभाको संचालन नेकपा पोलिटब्युरो सदस्य माइला लामाले गरेका थिए । सभालाई सम्बोधन गर्ने सबै बक्ताले एमसीसी कार्यान्वयन गर्न नदिने बताएका थिए ।