हामी त्यस्तो विश्वमा बसेका छौं, जुन पचास बर्षअगाडिको जस्तो छैन । हाम्रो विश्वत्यस्तो छ, जसको विशेषता पूर्वी युरोप र सोभियत संघमा समाजवादको पराजय र संयुक्त राज्य अमेरिका कुनै प्रतिद्धन्द्धी शक्तिबिनाको विश्वको सबैभन्दा ठुलो सैनिक शक्तिमा रुपान्तरण हुनु हो, जुन अवस्थाले बामपन्थी र प्रगतिशील शक्तिहरुलाई ठुलो धक्का लागेको छ । हाम्रो संसार एउटा त्यस्तो संसार हो, जसको विशेषता वैज्ञानिक–प्राविधिक क्रान्तिद्धारा सृजित विकासहरु र तिनीहरुको उत्पादन प्रक्रिया र प्रकृतिमाथि प्रभाव हो : अर्थतन्त्र र संस्कृतिको भूमण्डलीकरण र आमसञ्चारको बढ्दो शक्ति । हामी त्यस्तो संसारमा बस्दछौं, जहाँ पूँजीवादले आफ्नो सबभन्दा क्रुर छद्मरुप, नव–उद्धारवादमा आफ्नो लाभको लागि प्राविधिक विकासहरुको उपयोग गरिरहेको छ, विश्वको जनतालाई अत्यन्तै कठिन अवस्था सृजना गरिरहेको छ र प्रकृतिलाई निर्ममतापूर्वक विनाश गरिरहेको छ, किनभने यसले ‘केवल वातावरणले पुनर्नवीकरण गर्न नसक्ने फोहोर मात्र होइन, बरु सामाजिक रुपले पुनर्नवीकरण हुन नसक्ने निकम्मा मानिसहरुको पनि’ सृजना गर्दछ, जसबाट सामाजिक समूहहरु र सम्पूर्ण जातिहरु नै सामूहिक बहिष्कारमा पर्दछन् ।
तर पनि, विस्तृत सामाजिक क्षेत्रहरुमा एउटा बढ्दो असन्तोष महसुस हुनथालेको छ । यो असन्तोषले आफुलाई रुपान्तरण गर्न थालेको छ – पहिले निष्क्रिय प्रतिरोधमा र त्यसपछि सक्रिय प्रतिरोधमा । विगत केही बर्षहरुमा– र नव– उदारवादले यो प्रतिरोधलाई निष्क्रिय बनाउनको लागि अपनाएको सामाजिक विखण्डनको रणनीतिको बावजुद–यसले खुल्ला रुपमा विद्यमान भूमण्डलीकृत व्यवस्थाको विरुद्ध प्रदर्शनहरु र कारबाहीहरुमा आफुलाई व्यक्त गर्नथालेको छ, जसबाट संघर्षहरुको एउटा नयाँ अन्तर्राष्ट्रिय चक्र उत्पन्न भएको छ । नयाँ क्षितिजहरु खुलिरहेका छन्, तर हामीले सामना गर्ने चुनौतीहरु पनि असीमित छन् । र, हामी तिनीहरुको सामना गर्नको लागि सही आकारमा छैनौं । हामीले बामपंथको पुनर्निर्माण गर्नु आवश्यक छ – र त्यो पनि तुरुन्तै । यो गर्नको लागि हामीले सर्वप्रथम ती कमजोरीहरु, गल्तीहरु र विचलनहरुमाथि एउटा निर्मम दृष्टि दिनुपर्दछ, जुन हाम्रो विगतमा भएका थिए, र हामीले यो निश्चित गर्नुपर्दछ कि तिनीहरुको कारण के हो, किनभने यो नै एकमात्र विधि हो, जसद्धारा हामी तिनीहरुमाथि विजयी हुन समर्थ हुनेछौं । यो पुस्तकले त्यो प्रयत्नमा एउटा योगदान गर्न चाहन्छ ।
मेरा प्रमुख विषयहरुमध्ये एउटा सम्भावनाको कलाको रुपमा राजनीतिको अवधारणको आलोचना हो, किनभने यसले हामीलाई विद्यमान अवसहरुलाई ग्रहण गर्न उन्मुख गराउँदछ । मेरो तर्क के छ भने क्रान्तिकारीहरुको लागि राजनीति असम्भवलाई सम्भव बनाउने कला हो, चीजहरुलाई बदल्ने केही स्वैच्छिक आग्रह होइन, किनभने हाम्रा प्रयत्नहरु यथार्थवादी ढंगबाट वर्तमान शक्ति–सन्तुलनको परिवर्तन माथि केन्दि«त हुनुपर्दछ, जसबाट आज असम्भव देखिएको कुरा भोलि सम्भव होस् । अर्को धेरै महत्वपूर्ण बिषय हामीलाई कस्तो प्रकारको राजनीतिक उपकरणको आवश्यकता छ भन्ने कुराको सम्बन्धमा चिन्तन हो, यदि हामीले एक्काईसौं शताब्दीले हाम्रो अगाडि राखेका नयाँ चुनौतीहरुको सामना गर्नुछ भने : एउटा त्यस्तो उपकरण, जसले हामीलाई एउटा सामाजिक र राजनीतिक शक्तिको निर्माण गराउनेछ, जसले त्यस्ता पूर्ण सामाजिक परिवर्तनहरु सम्भब बनाउँदछ, जसको लागि हामी संघर्ष गरिरहेका छौं । यदि हामीले यो उद्देश्य प्राप्त गर्नुछ भने, हामीले विगतका आंगिक रुपहरुलाई पार गर्नुपर्दछ, जुन पार्टीको बोल्शेभिक प्रारुपको अन्ध–नक्कलको परिमाण थिए, र यो प्रारुपका सैद्धान्तिक आधारहरुबाट पनि मुक्त हुनुपर्दछ । यी आधारहरुले माक्र्सको यो केन्द्रिय विचारसँग कुनै सम्बन्ध राख्दैनन् : त्यस्तो कार्यको रुपमा सामाजिक व्यवहार, जसले मानिसहरुलाई आफ्नो वरिपरिका परिस्थितिहरुलाई बदल्दा आफुलाई पनि बदल्न लगाउँदछ, र यसो गर्दा मानवीय विकासको एउटा उच्च चरण प्राप्त गराउँदछ ।
तर पनि, मेरो विचारमा विगतमा प्रयोग गरिएको पार्टी वा संगठनको आंगिक रुपको आलोेचना गर्नुको अर्थ एउटा राजनीतिक उपकरणको आवश्यकतालाई अस्वीकार गर्नु होइन, जसरी केही अन्य सिद्धान्तकारहरुको लागि हुन्छ । मलाई लाग्दछ कि यस्तो उपकरण आवश्यक छ, किनभने इतिहासले हामीलाई यो दर्शाएको छ कि एउटा लोकप्रिय पूँजीवादविरोधी सामाजिक शक्तिको निर्माण कुनै त्यस्तो कुरा होइन, जुन स्वतःस्फुर्त रुपले हुन्छ : यसलाई एउटा त्यस्तो निर्माणकर्ताको आवश्यकता छ, जो आफ्ना कार्यहरुको मार्गदर्शनको लागि सम्पूर्ण सामाजिक तथा राजनीतिक गतिको विश्लेषणलाई उपयोग गर्न सक्षम हुन्छ, एउटा त्यस्तो कर्ताको आवश्यकता छ, जो राजनीतिक रणनीतिको विकास गर्न सक्षम हुन्छ, जसले विद्यमान नव–उदारवादी भूमण्डलीकरणको विरुद्ध अन्तर्राष्ट्रिय स्तरको साथसाथै राष्ट्रिय स्तरमा अत्यन्तै विविध सामाजिक तथा राजनीतिक क्षेत्रहरुलाई एकीकृत गर्न सम्भव बनाउँदछ, एउटा त्यस्तो राजनीतिक उपकरणको आवश्यकता छ, जसले विविध, बहुकर्ताको कार्यलाई संयोजन गर्दछ, जसमा भिन्नताहरुलाई सम्मान गरिन्छ र शासक वर्गहरुको शक्तिलाई विखण्डित गर्नको लागि सवभन्दा उपयुक्त तरीकाहरु के हुन भन्ने कु्रा निर्धारण गरिन्छ र एउटा त्यस्तो समाजको निर्माणतिर अगाडि बढ्न शुरु गरिन्छ, जसले एउटा मानवीय र सह–सम्बन्धमा आधारित सिद्धान्तको निर्माण गर्नको लागि पूँजीको निकृष्ट, व्यक्तिवादी सिद्धान्तलाई छोड्दछ– एउटा त्यस्तो राजनीतिक उपकरणको आवश्यकता छ, जसले हामीलाई एक्काईसौं शताब्दीको लागि समाजवादको निर्माण गर्न लगाउँदछ, जसको अन्तिम लक्ष्य पूर्ण मानवीय विकास होे ।
यी सम्पूर्ण प्रश्नहरुमा विचार गरिसकेपछि म सुधार र क्रान्तिको बिषयलाई विश्लेषण गरेर पुस्तकको अन्त्य गर्दछु र त्यसमा यी अवधारणाहरु कसरी बोलिभारियन क्रान्तिकारी प्रक्रियामा, एउटा अद्धितीय क्रान्तिकारी प्रक्रियामा लागु हुन्छन् भन्ने कुरा दर्शाउँदछु, जसले ल्याटिन अमेरिका बामपंथलाई धेरै कुराहरुमा पुनर्चिन्तन गर्न बाध्य बनाएको छ । यो पुस्तक–जसले धेरै चिन्तनहरु र सन् १९९९ र २००६ को बीचमा प्रकाशित कृतिका सम्पूर्ण अध्यायहरुलाई एकसाथ ल्याउँदछ–धेरै मात्रामा स्वयं लाटिन अमेरिकी क्रान्तिकारी आन्दोलनको व्यवहारद्धारा उत्प्रेरित छ । मैले विगत पन्ध्र बर्षदेखि ऐतिहासिक संस्मरणलाई पुनप्र्राप्ति गर्ने कृतिमा यो व्यवहारको एउटा व्यवस्थित अभिलेख बनाउदै आएकी छु । मैले पाठकहरुलाई के सावधान गराउनुपर्दछ भने मैले उपलब्ध ग्रन्थसूचीको पूर्ण अध्ययन गरेकी छुइनँ, मैले अधिकांशतः ती पुस्तकहरुको उपयोग गरेकी छु, जुन मसँग थिए । तर पनि, अंग्रेजी भाषी पाठकहरुले के पाउन सक्दछन् भने मैले धेरै ल्याटिन अमेरिकी लेखकहरुका कृतिहरु उद्धत गरेकी छु, जसमा उनीहरुको पहिले पहँुच थिएन । यदि एउटा महत्वपूर्ण लेखकको पुस्तक ती पुस्तकहरुमा छैन भने, जसको मैले सहयोग लिएकी छु, यो यसकारणले होइन कि मैले जानीबुझी त्यसलाई छोडेकी छु,बरु सामान्यतया यसकारणले हो कि लेखनको समयमा म त्यसलाई पर्याप्त ध्यान दिएर अध्ययन गर्न समर्थ भइनँ ।
म यी बिषयहरुमध्ये धेरैमा पनि गहि¥याइमा जान चाहन्थे र अन्य धेरै बिषयहरु छन्, जसलाई मैले छोएकी पनि छुइनँ । मलाई के विश्वास छ भने मेरा पाठकहरुको यो पुस्तकका सीमाहरुलाई बुझ्ने छन् र यसमा वर्णन गरिएका बिषयहरुमा बढी विस्तृत तथा गहन रुपमा जनाको लागि उत्प्रेरित भएको महसुस गर्नेछन् – मेरो विचारमा जसमध्ये धेरै वादविवादको रुपमा छन्–र यिनीहरुसँग सम्बन्धित नयाँ दृष्टिकोणहरु ल्याउनेछन् । यदि मैले प्रयत्न गर्दछु भने, मैले ती लक्ष्यहरुमध्ये एउटा प्राप्त गर्नेछु, जुन स्वयं मैले निर्धारित गरेकी छु – किनभने म यसलाई एउटा खुल्ला पुस्तक हो र एउटा सामुहिक प्रयत्नको भाग हो भन्ने सोच्दछु । म मेरा सहकर्मी माइकेल लेबोबिट्जलाई उनका मूल्यवान सुझावहरुको लागि धन्यवाद दिन चाहन्छु, जसका धेरै आशाहरु र सपनाहरु मेरा जस्तै छन् । म उनलाई त्यो सम्पूर्ण तनावको बीचमा धैर्यता गर्न मलाई साथ दिएकोमा धन्यवाद दिन्छु, जुन त्यसबेला उत्पन्न हुन्छ, जब कुनै पनि व्यक्तिले चिन्तनको लागि ती असंख्य कार्यहरुसँग समय मिलाउने प्रयत्न गर्दछु, जुन ठोस राजनीतिक व्यवहारले अगाडि ल्याउँदछ । म राष्ट्रपति ह्युगो चाभेजलाई हाम्रो अमेरिका र विश्वमा नवीन आशा ल्याउनुभएकोमा विशेष धन्यवाद दिन चाहन्छु ।
मलाई आशा छ कि यो पुस्तकले हाम्रो बीचमा एउटा नयाँ राजनीतिक संस्कुतिको सृजना गर्न सहायक हुने विचारहरु प्रदान गरेर बामपथको पुनर्निमाणमा थोरै काम गर्न सक्दछ : एउटा त्यस्तो संस्कुति, जुन बहुलवादी र सहिष्णु हुन्छ, जस्तो कि, मैले अन्य अवसरहरुमा बताएकी छु । एउटा त्यस्तो संस्कुति, जसले त्यो हरेक कुरालाइृ पछाडि छोड्दछ, जसले हामीलाई विभाजित गर्दछ र त्यो हरेक कुरालाई अगाडि राख्दछ, जसले हामीलाई एकिकृत गर्दछ । त्यसले हामीलाई सह–सम्बन्ध, मानवता, विविधताको सम्मान र प्रकुतिको प्रतिक्षा जस्ता मूल्यहरुको वरिपरि एकीकृत गर्दछ । त्यसले मानव गतिविधिका प्रमुख उत्प्रेरकहरुको रुपमा लाभको इच्छा र बजारका नियमहरुलाई तिरस्कार गर्दछ । त्यसले यो तथ्यप्रति सचेत गराउन थाल्दछ कि आमूल परिवर्तनवादी हुनु अत्यन्त आमूल परिवर्तनवादी कार्यहरु गर्नु होइन–जसमा थोरै मानिसहरु मात्र सामेल हुन्छन्, किनभने तिनीहरुले अधिकाशं मानिसहलाई बेवास्ता गर्दछन् । बरु आमूल परिवर्तनवादी हुने कुरा त त्यस्ता स्थानहरु सृजना गर्नुमा हुन्छ, जहाँ व्यापक क्षेत्र एकसाथ आउन र संघर्ष गर्न सक्दछन् । किनभने मानव जातिहरुको रुपमा हामी संघर्षमै विकसित हुन्छौं र आफुलाई रुपान्तरित गर्दछौं । हामी धेरै छौं र एउटै उद्देश्यहरुको लागि संघर्ष गरिरहेकाछौं, भन्ने कुराको बोधले हामीलाई बलियो र आमूल परिवर्तनशील बनाउँदछ । क्रान्तिकारी राजनीतिलाई असम्भव बनाउने कलाको रुपमा मात्र हेर्न सकिन्छ ।
(यो सामग्री मार्ता हार्नेकरको प्रसिद्ध पुस्तक ‘एक्काइसौं शताब्दीको समाजवाद’को भूमिका हो । अनुवाद रमेश सुनुवार र नन्दनहरि दाहालले गरेका हुन्)
प्रतिक्रिया राख्नुहोस्