म एक श्रमिक ! -सुमिना

तिम्रो शरीरमा मगमगाउँछ
गुलाफ
मेरो शरीरमा पसिना
तिमी त्यसलाइ फ्लेवर भन्छौ
म भन्छु गन्ध !

छ तिमी र म मा भाषागत भिन्नता
समानता छैन
हाम्रा अभिरुचिहरूमा पनि
मलाई प्रेम छ पसिनाको गन्धसँग
तिमी त्यसलाई घृणा गर्छौ
र दुर्गन्ध भन्छौ !

तिम्रो सम्बन्ध छ
उच्च महत्वाकांक्षाहरूसँग
तर,
म भने बाध्य छु
भोको पेट र जिजीविषाका आदेशहरूसँग
मेरै श्रमको आगनमा उभिएर
आफ्ना आदेशका औंलाहरू ठड्याएर
तिमी आफूलाई मालिक भन्छौ
आफ्ना पसिनाका धाराहरूबाट
उब्जनीको मूल फुटाएर म कहलिन्छु दास !

म तिम्रो उत्पीडनको पराकाष्ठा
एक ‘उत्पीडित’
तिम्रो शासन व्यवस्थाले लुटेको
एक ‘सर्वहारा’
गरिखाने एक ‘श्रमिक वर्ग’ !
मेरा सपनाहरूमा
वर्गीयताको अङ्कुश लगाउने
२१औं शताब्दीका
ए ! अत्याचारी मालिकहरू हो
सुख ! सयल ! आराम र विलासी जीवन
भोग गरिरहेका
ए ! सुकिला मान्छेहरू हो

अनुमान गर !
के हुन्छ 
माटोले मुछिएका श्रमले चिथोरिएका
यी बलिष्ठ खस्रा हातहरूले
अब लस्करै उठाए भने मुठ्ठी ??

(यो कविता १३४ औं अन्तर्राष्टिय श्रमिक दिवसको अवसरमा लेखकको फेसबुकपेजबाट लिएका हौं ।)