तिहार र देउसी-भैलोबारे प्रा.राजाराम सुवेदीको टिप्पणी

बाह्रमगराँतको स्वर्णकाल उत्तरमध्यकालको बल्ढेङगढी सभ्यतालाई लिन सकिन्छ। बाह्रमगराँतलाई एकीकरण गरी बलिहाङ नाम गरेका मगर राजाले छरिएको मगर शक्तिलाई एकीकृत गर्ने प्रयास गरे । फलस्वरुप मगरहरुको लडाकू सेनाको संख्या चारहजार (बुलीह्वाङ) थियो । इस्विको चौधौं शताब्दीदेखि स्थापित बुलिह्वाङ राज्य कर्णाली प्रदेशको खसमल्ल शक्ति कमजोर भई विभाजित हुने अवस्थामा आइसकेको वेलामा स्थापित भएको कुरा ऐतिहासिक क्रमबाट मिल्ने बुझिन्छ । त्यहाँको पहिलो राजा बलिहाङ भनेको पाइन्छ भने उनी पछिको त्यहाँ शासक भए सो कुरा स्पष्ट र क्रमबद्ध जानकारी भएको छैन।

लिच्छवीकालको उत्तरान्तकालीन परिस्थितिमा नेपालमण्डलको अवधारणाले उपत्यकालाई केन्द्र र मोफसललाई विषय (जिल्ला) भनी मण्डलाकार दिई त्यसलाई शास्त्रीय ढाँचामा नेपालमण्डल भन्ने गरियो । हालसम्ममा त्यस नेपाल मण्डल अन्तर्गत एघारवटा विषय (जिल्लाहरुका) को पत्तो लागेको छ । ती विषयहरुमा क्रमैसँग यसरी प्राप्त भएका छन् । जस्तैः गण्डीगुल्मविषय, जिल्लोदग मविषय, पन्नगविषय, धवलस्रोतपुरविषय, पञ्चावतदेशविषय, उदयपुरविषय, फनपिङविषय, लमजुङगुङकेविषय, मग्ग्वरविषय, विनायकमाध्यमविषय र खलम्पिम्विषय आदि रहेको पत्तो लागेको छ । अन्य विषयको पत्तो लाग्न सकेको छैन, पत्तो लागिहाल्ला, अनुसन्धान गर्दै जान सकेमा। यसबाट के थाहा हुन्छ भने पाल्पा, पर्वत, गुल्मीतिर वि.सं. ११५७ ताका मगरहरुको बसोवास भइसकेर त्यस भेकलाई जिल्लाको नाम नै मग्ग्वर विषय राखिएको कुरा प्रमाणित हुन्छ त्यस वेला राजा शिवदेव तथा विषयपति श्री साहेव राने (रानामगर) भएको कुरा प्रमाणित भएको छ ।

त्यस क्षेत्रका सामन्त राजा रामदीव भएको भन्ने पनि जानकारी पाइन्छ। मग्ग्वरविषय नेपालमण्डल अन्तर्गत रहेको प्रमाणित भएको कुरा माथि वर्णन गरिएको तथ्यबाट खुलस्त हुन्छ । नेपाल मण्डलको शासन साह्रै कमजोर भएको अवस्थामा कर्णालीप्रदेशको सिंजालाई केन्द्र बनाई हूणमूलका खसमल्लपदधारी राजाहरुले शासन आरम्भ गरेका थिए । १,२५,००० पहाडखण्ड र झारखण्ड (तराईमधेश) सम्म फैलिएको उक्त साम्राज्यमा मग्ग्वरविषय पनि गर्दथ्यो । कर्णालीप्रदेशको खसमल्ल साम्राज्यको शक्ति कमजोर भएपछि मात्र बल्ढेङगढी (बलिहाङराज्य) को स्थापना भएको थियो । मगरहरुका नायक बलिहाङ (बलिराजा) ले राज्य स्थापना गर्दा चारहजार योद्धा भएबाट बुलीहाङ भनिएको र बुलिहाङ सेनाले निर्माण गरेको कटककिल्लालाई बलीहाङगढी भनियो । त्यसै बलिहाङगढी आजकल बल्ढेङगढी भनिन्छ ।

बल्ढेङगढी हाल पाल्पा जिल्लाको दक्षिणपश्चिम तानसेन बजारबाट भैरवथान हुँदै हाडथोकमा निस्की गूल्मी तम्घास जानेबाटो छोडि दक्षिणपश्चिमतिर लाग्यो भने खुर्साने पुगिन्छ । तराईतिरबाट साल्झुण्डी हुँदै उत्तरतिर लाग्दा पनि बल्ढेङगढी पुग्न सकिन्छ। लुम्बिनी अञ्चल पाल्पा जिल्ला, बल्ढेङगढी गा.वि.स. वडा नं. ५ मा बल्ढेङगढी पर्दछ । त्यहीं ऐतिहासिक सामरिक किल्लाको उपस्थितिको कारण नै त्यस गाउँका नामकरण गरिएको हो । महाभारत श्रृङखलाको दक्षिणी भागमा पर्ने उक्त गढी पहिले पहाड मधेश गर्ने बाटोमा पर्ने हुँदा चौकी पनि बसेको थियो । मध्यकालमा यस गढीको ऐतिहासिक र सामरिक महत्व रहेको थियो बल्ढेङगढीमा पहिले मगर उमराउ बस्दथे र यसको निर्माण बलिहाङ राजाले गरेका थिए । ती बलिहाङ राजा मृत्युको मुखमा पुगेका बेलामा त्यस राज्यका सारा जनताले नाचगान, द्यौंसी र भैलो खेल खेली यमराजसँग आफ्ना राजाको आयू बढाइदिन प्रर्थाना गरे । फलस्वरुप राजा बलिहाङ अकाल मृत्युबाट बचेका थिए । पछि त्यो साँस्कृतिक परम्पराको रुपमा विकसित भएर दर्शैंपछि तिहारमा द्यौंसी र भैलो खेल्ने मगराँतको परम्परा विकसित भएको लोक इतिहास पाइएको छ। पाल्पामा सेनवंशीय राजाहरुको राज्यस्थापना हुनु पूर्वकालसम्म बल्ढेङगढी राज्य शक्तिशाली रहेको थियो वि.सं. १४९३ मा गुल्मी, १५५० मा पाल्पा, १४९० मा अर्घा, १४९२ मा खाँची, १४६५ मा धुर्कोट, १५५० मा ।

मुसीकोट र इश्मा राज्यहरुको स्थापना भएपछि बलिहाङ राज्य स्वभाविक रुपमा कमजोर पर्दै गएको थियो । ती सातवटै राज्यहरु मिलेर बलिहाङ राज्यमाथि एकैचोटी हमलागरी ध्वस्त पारे। त्इस राज्यलाई टुक्राटुक्रा पारी सातै राज्यले आफुहरुलाई पायक पर्ने क्षेत्र दखल गरे । त्यसरी दख्खल गर्दा पहाडी भाग अरु राज्यलाई बढी तराइको भाग पाल्पालाई बढी गरिएको थियो । वि.सं. १६०० को आसपासमा गरिएको उक्त आक्रमणमा जग्गा बाँडफाँड गर्दा खिदिम क्षेत्रमा खिचलो परेकाले वि.सं. १६६९ मा खाँचीका राजाले जुम्ला गोतामबाट आएका श्रीधर गौतमलाई रामसिंह वर्मा (शाह) ले कुशपानी समातेर विर्तादान गरेका थिए। बल्ढेङगढी राज्यका संस्थापक बलिहाङ रानामगर थिए भनी माथि चर्चा गरियो र यहाँका अन्तिम मगर राजा रनवीर रानामगर ।

सात चौवीसी राज्यहरुले पहिले नुवाकोट डाँडाको नेपानेमाथि आक्रमण गरे । त्यतिवेला मगर राजा त्यही ठाउँमा बसी तमाख खाइरहेका बेलामा सातराज्यका सेनाले छोडेको धनुकाँध लागी हुक्का भाँचियो । त्यति नै बेला राजाले “अब बल्ढेङगढी राज्य नटिक्ने” भविष्यवाणी गरे भन्ने कुरा त्यताको लोक इतिहासबाट जानकारी भएको छ । त्यसपछि बल्ढेङगढी चर्चा वि.सं. १८७२ को कुरालाई श्री ५ सुरेन्द्रबाट अनुमोदन गरी श्रीधरका एघारौ पुस्ताका विष्णु उपाध्य गौतमलाई विर्ता थामेको, १८९८ मा पुनर्नवीकरण गरेबाट त्यसको ऐतिहासिक महत्व रहेको र मगरराज्यको अस्तित्वलाई पुष्टि गर्ने आधार पाइएको छ।

- प्रा. राजाराम सुबेदीको ‘मगर जातिको नालिबेली’