लक्ष्मी पोखरेल
वर्गीय समाज
नेपाली समाज वर्गीय समाज हो । यो पुँजीवादी व्यवस्थामा आधारित छ । पुँजीवादी समाज शोषणमा आधारित व्यवस्था हो । यो समाजमा हत्या, हिंसा, बलात्कार, असुरक्षा, रोग, भोग, लुटपाट, बेथिति, तस्करी, बेरोजगारी आर्थिक असमानताजस्ता बेथिति हुन्छन् । गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य र सुरक्षाको सुनिश्चितता हुनुका साथै उत्पादनका मुख्य मुख्य साधन र सेवाहरू सामाजिकीकरण, आर्थिक समानता, व्यक्तित्व विकासमा समान अवसर, योग्यताअनुसार काम र कामअनुसार ज्याला, जघन्य अपराध गर्नेलाई मृत्युदण्डको सजाय हुने नयाँ समाज समाजवादी व्यवस्था हो । यस्तो व्यवस्था ल्याउन र पुँजीवादी व्यवस्थाका घृणित कु–संस्कारलाई हटाउन सबै प्रकारका अन्याय अत्याचार तथा शोषण दमनको विरुद्धमा लड्न हामी सचेत महिलाहरूको सङ्घर्षलाई यो २१ औं शताब्दीले आह्वान गरेको छ ।
हाम्रो समाज जसरी वर्गीय रुपमा विभाजित छ, त्यसरी नै महिलाहरू पनि वर्गीय रुपमा विभाजित छन् । हाम्रो समाज पुँजीवादी व्यवस्थामा आधारित समाज भएकोले यहाँ केही मुठीभर महिलाहरू राष्ट्रपति, सभामुख, मन्त्री, सांसद र न्यायाधीशसमेत बने तर उनीहरूले कामदार वर्गीय मुक्तिको लागि सिन्कोसम्म भाच्ने काम गरेनन् । बरु आफ्ना नजिकका आउरेबाउरे र नातागोता नजिकको लागि शुभलाभ उठाउनमै व्यस्त भए । पुँजीवादी विचार बोकेका महिलाहरूमा हुने यी अहङ्कार, उच्छृङ्खलता, पक्षपात र छाडापनले गर्दा नेपाली समाज उच्छृङ्खलता र बेथितितर्फ गइरहेको आभास हुन्छ । पुँजीवादी व्यवस्थामा हुने छाडापन र भड्किलो जीवन शैलीले समाजमा बेथिति छ ।
आजको तीज
नेपाली हिन्दू नारीहरूले मनाउने तीज पर्व नजिकिदै छ । गाउँ, सहर, टोल अनि बस्तीमा सङ्गीतका धुनहरू बज्न थालिसकेका छन् । प्रदेश ७ को अस्थाई राजधानी धनगढी पहाडी जिल्ला र सिङ्गो प्रदेशमा गौरा पर्वको रनक चलिसकेको छ भने तीजको रमाइलो सुरु भइसकेको छ ।
पहिले पहिलेको तीजपर्व मनाउने तरीकामा निकै फरकपन पाइन्छ यहाँ । पहिले समाज सरल थियो र तीज पर्व मनाउने तरीका पनि सरल नै थियो । तीजमा छोरी माइत आउने बुहारी माइत जाने गर्दथे । छोरी, बुहारी, सासू, नन्दले वर्षभरि भोगेका दुःख, पीडा बिर्सेर माइतीमा छोरीबुहारी नाच्ने, रमाउन मनका बेदना गीतमार्फत पोख्ने, गाउँघरमै उत्पादित दूध, दही, केरा फलफूल खाएर दिदी बहिनीले तीज पर्व संस्कार र संस्कृतिको रुपमा मनाउँदथे । गीत सङ्गीतबाटै चेलीका मर्का, समाजका कुप्रथा, विसङ्गतिप्रतिको असन्तुष्टी, वर्तमान सामाजिक, राजनीतिक विकृति, सासूले बुहारीलाई गरेको हेलाहोचोलाई गीत र सङ्गीतको भाकाको माध्यमबाट आफ्नो घर, आँगन, टोलटोलमा नाचगान गर्ने र दिदीबहिनीको भेटघाट गर्ने पर्वको रुपमा तीज मनाइन्छ ।
तर आज हिजोको संस्कार र संस्कृतिमा कमि आउन थालेको छ । समाजमा अश्लील र उच्छृङ्खलता निम्त्याउने खालका तीज गीत गाइने गरेको पाइन्छ । तीजमा ‘पोइल जान पाऊँ’, ‘केरा काटेर’ ‘यो केटी मैले ल्याउन पाऊँ’ जस्ता गीत पनि देखिए । तीज गीत होटेल, पार्टी प्यालेसमा गाइने गीतको बोलले तीजको गरीमालाई हलुका बनाइदिनुका साथै धर्म, साहित्य, गीत–सङ्गीत, खान–पिन, रीति–रिवाज आदि संस्कृतिलाई छोड्दै पश्चिमा शैलीका विकृति र विसङ्गतिको रुपमा भित्रिएको पाइन्छ ।
गहनाको प्रतिस्पर्धा
गौरा, तीज, दसैं, तिहारजस्ता चाडपर्व नजिकिंदै जाँदा गहनाको प्रतिस्पर्धा होडबाजिकै रुपमा अगाडि बढेको छ । अर्काको देखासिखीमा लागेर कोभन्दा म के कम भन्ने मनसायले गर्दा आफू र आफ्नो परिवार आर्थिक बर्बादीतर्फ धकेलिनुका साथै झै–झगडा हुने गर्दछ । चाडपर्व रीतिरिवाज भनेको गहना झकीझकाउ लगाएरमात्र मौलिकता झल्किने होइन, संस्कृति बच्ने होइन । मौलिकता झल्काउने र आफ्नो रीतिरिवाज, संस्कृति बचाउनका लागि त सामान्य तवरले नै चाडपर्व मनाउन सकिन्छ ।
तर यस्तो नभई बचत समूह, बैङ्क तथा सहकारीबाट ऋण झिकेर, साहु महाजनबाट ऋण झिकेर, ढुकुटीमा संलग्न भएर चाडपर्वमा अरुलाई देखाउनका लागि विभिन्नखाले सुनका गहना बनाउने प्रचलनले व्यापकता पाएको छ । सोही कारण कतिपय जेलको कालकठरीमा जीवन बिताइरहेका छन् भने कतिपयले मुद्दा खेपिरहेका छन् । कतिपयले मानसिक यातना लिएर जीवन बिताइरहेका छन् । आफ्नो घर परिवारको जे जस्तो आर्थिक अवस्था छ त्यसरी नै रमाउनुपर्दछ ।
यसर्थ तीजगीतमा भित्रिएको नग्नता र आभूषणको प्रतिस्पर्धाले तीजमात्र नभई सम्पूर्ण जीवन पद्धतिलाई समेत विकृत बनाउँदै लगेको छ । तीजमा लगाउने भड्किलो आभूषण, महँगा र धेरै झकिझकाउ गर्नाले निम्नवर्गीय तथा गरिब महिलाको लागि तीजपर्व लाज, डर र बोझिलो बन्दै गएको छ । आजभोलि पार्टी प्यालेस, ठूला–ठूला होटेल र रेस्टुरेन्टमा दर खाने कार्यक्रमको होड चल्ने गरेको छ । यस्तो हुने जमघट र खानपिनमा हुने गरेका अनावश्यक र अनुत्पादक खर्चले समाज र राष्ट्रलाई विकृत तुल्याउनुका साथै अधोगतितिर धकेल्ने निश्चित छ ।
प्रतिक्रिया राख्नुहोस्