२०५२ साल फागुन १ गतेबाट शुरु भएको जनयुद्धले आज २७ वर्ष पार गरेर २८ औं वार्षिक उत्सव मनाइरहेको छ । फर्केर हेर्दा जनयुद्धमा जन्मिएको बच्चा २८ वर्षको परिपक्व युवा बन्ने अवधि पुगेको छ । यो अवधिमा धेरै सरकार आए–गए । कांग्रेसका देउवा सरकार हुँदा सुरु भएको जनयुद्ध आज दाहाल तेस्रो पटक सरकारको कुर्चीमा विराजमान छन् । तर नेपाली जनताको आधारभूत अवस्था यथावत छ । नेपाली जनताको निम्ति पञ्च, कांग्रेस, एमाले र माओवादी जजसको सरकार बनेपनि ‘जुन जोगी आएपनि कानै चिरेको’ सावित भएको छ । प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र आयो । यो व्यवस्थाले जनतालाई दिएको राहत भन्दा हजारौं गुणा बढी सास्ती, थिचोमिचो, अन्याय–अत्याचार, शोषण–दमनको जाँतो मुनि पिसिन बाध्य भएको छ । राणा विरुद्ध २००७ साल, पन्चायत विरुद्ध २०२८ साल र २०५२ साल फागुन १ गते संसदीय व्यवस्था विरुद्ध नेपाली आमाका छोराछोरीहरूले शसस्त्र हतियार उठाएको दिन हो । यिनै शसस्त्र युद्धको बलमा ०३६, ०४६ र ०६२÷०६३ को जन आन्दोलन भयो । तर विडम्बना ! यी शसस्त्र या निशस्त्र जनयुद्ध वा जनआन्दोलनबाट प्राप्त उपलब्धी भनेको ‘पुटाल पहाड निकाल चुहा’ (मुसा) बाहेक केही हुन सकेन । नेपालका नेताहरू सडक, विपक्षी वा सत्ता वाहिर हुँदा त्याग आदर्श र सिद्धान्तका कुरा गर्छन् ।
तिनै नेतृत्व जव सत्ता, सरकारको कुर्चीमा वा लाभको पदमा पुग्दछन् अत्यन्तै स्वार्थ, पतित र नालायक कूकर्म गर्दै हिँड्दछन् । उनीहरू मूल्य, मान्यता, सिद्धान्त र आदर्शले मूखमा माड लाग्दैन भन्न थाल्छन् । वर्तमान नेपाली राजनीति यस्तै नेरोघेरोमा रिङिरहेको छ । के राजनीति फोहोरी खेल हो ? के जनयुद्ध यस्तै गर्न सन्चालन गरिएको थियो त ? नेपाली समाजमा तमाम प्रश्नै प्रश्न उब्जिएका छन् । हो संसदीय व्यवस्था फोहोरी खेल नै हो । तर जनयुद्ध संसदवादको विरुद्ध नेपाली श्रमिक जनताको विद्रोह थियो । विडम्बना आज जनयुद्धको मूल नेतृत्व नै संसदवादमा उम्कनै नसक्ने गरी डुवेको छ । जनयुद्धको मूल स्प्रीट संसदवाद थिएन । जनयुद्धको मूल स्प्रीट नयाँ जनवादी क्रान्ति हुँदै समाजवादी यात्रामा हिँड्नु थियो । वर्तमान काइते, लोकतन्त्रको महिमागानमा नाङ्गिने थिएन । राजतन्त्र जनयुद्धको बलमा फालिएको हो । नेपाली जनताको चाहाना त राजतन्त्र ०३६ वा ०४६ सालमै फाल्न चाहन्थे । तर तत्कालीन नेतृत्वको संझौताप्रस्ट नीतिका कारण जनभावनामा तुषारापात हुँदै आयो । वंशको आधारमा राजाको छोरा राजा हुने व्यवस्था भन्दा गणतन्त्र नीतिगत रूपमा प्रगतिशिल व्यवस्था हो । तर व्यवहारमा यो गणतन्त्रले जनयुद्धको मर्मको एक अंश पनि बोकेको छैन । यो गणतन्त्र त विचौलिया, दलाल पुँजीवादको टेकेसो मात्र वन्न पुगेको छ । स्मरण रहोस् जनयुद्धको थालनी नहुँदै कांग्रेसी सरकार कम्युनिस्ट सिध्याउने रणनीतिमा तीव्र लागिरहेको थियो । देशभर दर्जनौ कम्युनिस्ट नेता कार्यकर्तालाई झुट्टा मुद्दामा जेल नेलमा फसाउने कार्य तीव्र बढाइरहेको थियो । रोल्पा, रुकुममा रोमियो अप्रेशन सञ्चालन गरेर प्रहरी दमनमा उत्रिएको थियो । धनुषाको बर्मझियामा शिक्षक रामवृक्ष यादवलाई कांग्रेसी गुण्डाहरूले हत्या नै गरेका थिए । २०५२ माघ २१ गते संयुक्त जनमोर्चाको नामबाट सरकारलाई पेश गरेको राष्ट्रियता, जनतन्त्र र जनजीविका सम्बन्धी ४१ बुँदे मागपत्र बुझाउने कार्य तथा सय दिनको अल्टिमेटम दिइएको थियो । उक्त मागपत्र देउवा सरकारले रद्दीको टोकरीमा फालिदियो, टेर पुच्छर लाएन । कुनै सुनुवाई भएन । ततपश्चात माओवादी पार्टी गुणात्मक रूपमा दिर्घकालीन जनयुद्धको बाटोमा अगाडी बढेको थियो । २०५२ साल फागुन १ गते “प्रतिक्रियावादी राज्यसत्तालाई ध्वंस गरौं, नयाँ जनवादी व्यवस्था स्थापनार्थ जनयुद्धको बाटोमा अघि बढौँ ।” भन्ने मूल नाराको पोष्टर, पर्चा, भित्तेलेखन देशभर व्यापक बनाइयो । सोही दिन रोल्पा जिल्लाको होलेरी प्रहरी चौकी, रुकुमको राडी प्रहरी चौकी र सिन्धुलीको सिन्धुलीगडी प्रहरी चौकीमाथि शसस्त्र धावा बोलियो । गोर्खा च्याङलीको कृषि विकास वैंक, काभ्रेका सुदखोर दौलत विक्रम विष्ट तम्सुक कब्जा गर्न सफल भयो । यो योजनामा देशभर ६५०० (पैसठ्ठी सय) गतिविधी सम्पन्न भयो ।
पहिलो योजनामा मानविय क्षति नहोस् भन्नका लागि पार्टीले उच्च सतर्कता अपनाएको थिया । जनयुद्ध थालनीदेखि नै जनतामा दिन दुई गुना रात चौगुना झ्याङ्गिदै अगाडी बढ्यो । जनयुद्धले १० वर्षको अवधिमा नेपालको ८० प्रतिशत भूभागमा आफ्नो बर्चश्व राख्न सफल भयो । सामान्य भरुवा वन्दुक, वारवोर, एकमात्र थ्रि नट थ्रि राइफलबाट जनयुद्ध सुरुआत गरिएको थियो । जनसेना निर्माणको प्रक्रिया कुरुवा सेना (मिलिसिया) स्क्वायड (squad) हुँदै पलाटुन, कम्पनी, वटालियन, विग्रेड हुँदै सात डिभिजनमा (फर्मेसन) सुसंगठित गरियो । उक्त जनमुक्ति सेनाले ४५०० (पैतालिस सय) भन्दा बढी अत्याधुनिक हात हतियार कब्जा गर्न सफल भयो । जसमा सटगन, म्याग्नम थ्रि नट थ्रि, SLR SMG ईन्सास, गलिल, स्नाइपर, माउजर पेस्तोल, लन्चर, रकेट लन्चर, ग्रिनेट, तोप, माइनदेखि लामो दुरीका LMG, GPMG र 81mm मोर्टार आदि जस्ता हतियारले जनमुक्ति सेना सुसज्जित भएको थियो । यहि वलमा जनमुक्ति सेनाले १० वर्षभित्र प्रहरी चौकी ७६ वटा, इ.प्र.का. ३० वटा वडा प्र.का. २ वटा जिल्ला÷ अञ्चल सदरमुकाम ८ वटा एम्बुस १०८ वटा, भिडन्त ४६ वटा आक्रमण १८ वटा कमाण्डो ४८ वटा भन्दा बढी जित हासिल गर्न सफल भयो । भिषण दोहोरो लडाइले राज्यको उपस्थिति सदरमूकाम र व्यारेक वरपर सीमित हुन पुग्यो । जसका कारण ग्रामिण भेगको विशाल भूभाग खालि हुन पुग्यो । जसमा पार्टीले आफ्नो मातहतमा जनसत्ता निर्माण गर्दै न्याय, निसाफ घर–जग्गा विक्री वितरणसम्म जनताको अप्ठ्यारोमा सहजीकरण गर्यो । जसबाट जनसत्ताको भ्रुण विकसित भयो । जनसत्ता विस्तार वा.ज.स., गा.ज.स. हुँदै जिल्ला जनसरकार, स्वायत्त प्रदेश र केन्द्रीय जनपरिषद् गठनसम्म फैलियो । जसको परिणाम स्वरुप आधार क्षेत्र निर्माण गर्दै आधार क्षेत्रमा मोडेल स्कूल, मोडेल हस्पिटल, जन कम्यून (सयौ घरको सम्पत्ति कम्यूनमा मिसाइयो) गठन भयो । सहकारी, कृषि उत्पादनदेखि ड्राइफुट उत्पादन गर्ने साना उद्योग सञ्चालनमा जोड गरियो । आफ्नै आन्तरिक सञ्चार सेट, वाकिटकी\करलेक्सदेखि जनादेश, महिमा, जनआह्वान जस्ता आधा दर्जन साप्ताहिक तथा पार्टी मूखपत्र “माओवादी” “जनसेना” नियमित प्रकाशित हुन्थ्यो । आफ्नै FM रेडियोहरू सञ्चालनमा थिए । हजारौं हजार नेता कार्यकर्ताहरू गाउँदेखि शहरसम्म जनताको वीचमा माछा र पानीको सम्बन्धमा चलायमान थिए । सम्पूर्ण पार्टी त्याग तपस्या र वलिदानको उच्च संस्कृतिले सुसज्जित थियो । पार्टीभित्र जातभात छुवाछुतको अन्त्य भैसकेको थियो । विचारको आधारमा एकनिष्ट प्रेम र जनवादी विवाह हुन्थ्यो । धनि–गरीब, उचनिचको पार्टीमा कुनै गुन्जायस थिएन । पूर्वको कुनै कमरेडलाई दमन हुँदा, पश्चिममा भएको कमरेडको रगत उम्लन्थ्यो । पार्टी र नेतृत्वप्रति वलिदानी भावका साथ समर्पण थियो । आफ्नो वलिदानले राष्ट्रको रक्षा र जनताको मूक्ति हुन्छ भने वलिदान सहजै स्वीकार्य हुन्थ्यो ।
सिङ्गगो पार्टी पङ्क्ती खुकुरीको धारमा पाइला चाल्न तयार थियो । सम्पूर्ण नेता, कार्यकर्ता टाउकोमा कात्रो बेरेर उच्च मनोवलका साथ वर्ग दुश्मनप्रति जाइलाग्न र पार्टी योजना पुरा गर्न तछाडमछाड नै हुन्थ्यो । मोर्चामा लड्दै गर्दा घाइते कमरेडहरूलाई तानेर पछाडी उपचारमा पठाउँदा पूनः मोर्चामा अगाडी आएर लड्थे । लड्दा लड्दै वीरतापूण शहादत प्राप्त गर्दा, गरेका रुकुम जिल्ला चुनवाङका शहिद सकुन्तका वावा–आमाले आफ्नो कोखबाट जन्मिएको छोरा शहीद भएकोमा गर्व गर्थे । जुन आमा–बुवाको कुरा सुन्दा हाम्रो आङ जिरिङ जिरिङ गथ्र्यो । घाइते कमरेडले आफ्नो खुट्टा गुमाएर आफ्नो कर्तव्य पुरा गरेर क्रान्तिमा ईट्टा थप्न पाएको गर्विलो महसुस गर्थे । लडाइमा दुईवटै आँखा गुमाउँदा घाइतेलाई सहयोग गर्दा प्रेम गरेर विवाह गर्ने सल्यानका जोडी अनि दाङ घोराही व्यारेक आक्रमण गर्दा गर्दै शहीद हुने रुकूम जिल्लाका जोडी सपना र वियोग हाम्रो प्रेरणाका स्रोत हुन्थे । जेलमा धैर्यतापूर्वक १२ (वाह्र वर्ष) वर्ष रहने रोल्पाका कमरेड, या जेलका पर्खाल फोडेर मोर्चा समाल्न आइपुग्ने योद्धाहरूप्रति उत्तिकै सम्मान हुन्थ्यो । वेपता योद्धाका परिवारजनहरू पार्टी क्रान्तिको निम्ति आवश्यक पर्दा आफू थप वेपत्ता हुन तयार भएको विषय कृत्रिम नभई अन्तरमर्मवाट यथार्थ पढाइरहेको महसुस हुन्थ्यो । यूरोपबाट आधार क्षेत्र भ्रमणमा आउने भाइचारा कमरेडहरू रोल्पा जिल्लाको टिला इलाकामा जनसेना र जनतासँग बाटो खन्दै हातमा ठेला परेको देखाउँदै, जनयुद्धमा पसिना बगाउन पाएकोमा आनन्द महसुस गर्थे । यो खुसी यूरोपका कमरेडलाई साटासाट गर्ने वाचा गर्थे । यी र यस्ता कालजयी वीरताका गाथा जनयुद्धको समयमा दिन–दिनै उस्तै परे घण्टा घण्टामा देख्न, सुन्न र व्यहोर्न पाइन्थ्यो । किनकी शान्तिका हजार दिनहरु युद्धका एकदिनमा संकेन्द्रत हुन पुग्दथ्यो । महान जनयुद्धमा हरेक नेता, कार्यकर्ताहरू ‘संघर्षको सुख नै सर्बोत्तम सुख’ भन्ने मेक्सीम गोर्कीको भनाई र ‘म हारेर घर फर्कने छैन, बरु मलाई मृत्यु नै स्वीकार्य छ’ भन्ने चे–ग्वेभाराको आदर्श पदचापलाई पछाइरहे जस्तो लाग्दथ्यो । जनयुद्धका १० वर्षमा नेपाली आमाका सर्बोत्तम छोराछोरीले अदम्य साहसका साथ सामन्ति राजतन्त्रात्मक संसदीय व्यवस्थाको विरुद्ध क्रान्तिको वलिवेदीमा होमिनु सामान्य कार्य होइन । जनयुद्ध महान तथा गौरवपूर्ण असाधारण कार्य थियो ।
तत्कालीन व्यवस्थाका मतियारहरूले सामन्ती राज्यव्यव्स्थाका सम्पूर्ण शक्ति र संयन्त्र परिचालन गरेर आफ्नो लुटको स्वर्ग टिकाउन अन्तिम अस्त्रको रूपमा चरम हत्या, हिंसा र दमनको सहारा लियो । उक्त राज्य आतंकद्वारा तत्कालिन माओवादी पार्टीका नेता, कार्यकर्ता र सर्वसाधारण जनतासहित ८५०० (आठ हजार पाँच सय) जनाको हत्या गर्न पुग्यो । सुरक्षाकर्मीद्वारा नेपाली नागरिक ३५०० (पैतिस सय) जनालाई अझै वेपत्ता पारिएको छ । जेननेल, हिरासत अङ्गभङ्ग कुटपिट र घाइते अपाङ्ग त लाखको हाराहारीमा पुगेको छ । यी सारा कालरात्री पार गरेर जनयुद्ध विजय उन्मूख भइरहेको थियो । तर तत्कालिन नेतृत्व प्रचण्ड र वावुरामहरूले कथित लोकतान्त्रिक गणतन्त्रसँग सौदावाजी गरेर जनयुद्धको विसर्जन गर्न पुगे । जनयुद्धको विसर्जन गर्दै संसदवादको गुलियो चास्नीमा डुबुल्की मारेको तत्वसँग सम्बन्ध विच्छेद गर्दै, नेकपाको पूनर्गठन भयो । पुनर्गठित नेकपाले जनयुद्धको अधूरो सपना पुरा गर्ने अठोटका साथ आफ्नो स्थापनाकालदेखि नै जटिल अन्तरसंघर्ष र निर्मम वर्गसंघर्षको भूमरी छिचोल्दै आफू लाई अब्बल कम्युनिस्ट पार्टी निर्माण गर्न प्रयासरत छ । जनयुद्धमा सर्वहारा वर्गले पाएको धोकाधडी र पछिल्लो भूमण्डलीकृत पूँजीवादका विशेषतालाई अध्ययन गर्दै नेकपाले ‘एकीकृत जनक्रान्ति’ मार्फत् वैज्ञानिक समाजवाद प्राप्तिको सुस्पष्ट लक्ष्य तय गरेको छ । यो नै नेपाली समाजको एक विकल्प हो । यही विकल्प प्राप्तिको मार्गमा सम्पूर्ण नेपाली जनता लागौँ । महान लक्ष प्राप्ति सम्भव छ ।
प्रतिक्रिया राख्नुहोस्