मुक्तक : तेलपानी मिल्छ भन्छन्

अन्तिम झड्का अवस्थालाई बदल्न व्यवस्था नै फेर्ने भन्छन् ।

मुक्तक : तेलपानी मिल्छ भन्छन्

यहाँ  यस्तै हुन्छ रे ! पिना फाल्तु गरी तेलपानी मिल्छ भन्छन् 
अचल भई बस्नु रे ! महमा लत्रिएको मौरीले चिल्छ भन्छन् 
जाली झेली धुर्त र मतलबीहरु मौका खोजिरहन्छन् रे यहाँ 
यदि मौका पायो भने फेरी आंैला दिँदा हातै निल्छ भन्छन् ।
                                   
सियो भई पस्ने हात्ती बनी निस्कने त्यस्तै चरित्र छ भन्छन्
लडाउने फुटाउने र स्वार्थ खिच्ने नियत नै अभद्र छ भन्छन्
भताभुङ्ग पार्छ मानवलाई पशुमा तुलना गर्छ र मनपरी गर्छ  
ललाई फकाई सताउने ए ...कुरा नगर्नुस् विचित्र छ भन्छन् ।
                                     
गाउँ बस्ती बस्तीहरुमा ललीपपले माहोल तातेको छ भन्छन्
सत्य नै हो भनी झुट्टा उसले जनतामा साटेको छ भन्छन्  
शीतको आयु त घाम नउदाउँदा सम्म हो अझ कति हाँस्नु
म सुनिरहेको छु उसलाई छोपेको पर्दा फाटेको छ भन्छन् ।
                                    
अब त अति भइसक्यो कति धेरै दिन तमासा हेर्ने भन्छन्
आऊ साथी हो, एकजुट बन दलालहरुको घर घेर्ने भन्छन्
यसरी पनि हुन्न, त्यसरी पनि हुन्न भने सबैको एउटै स्वर छ 
अन्तिम झड्का अवस्थालाई बदल्न व्यवस्था नै फेर्ने भन्छन् ।