विप्लव विरुद्धको हमला र प्रतिरोध

'सामाजिक चेतना उत्पादन सम्बन्धको उपज हो ।'

विप्लव विरुद्धको हमला र प्रतिरोध

देशमा एकातर्फ दलालहरुको हालिमुहाली बढ्दो क्रममा रहनु, जनताको पंक्तिंमा उकुसमुकुस मडारिनु, ठूलो बिद्रोहको आवश्यकता र संभावना देखिनु तर बिद्रोहलाई नेतृत्व प्रदान गर्नुपर्ने क्रान्तिकारी पार्टीले आन्दोलनलाई विकास गर्ने ठोस र मूर्त पहल लिई नहाल्नुले यतिबेला जनता र कतिपय पार्टीकै सदस्यहरु समेत के हुने हो त ? भन्ने प्रश्न सँगै आ–आफ्नै धारणा बनाउँदै कतै निराश र कतै उत्साहित भएको पाइएको छ । जनताले देख्ने र बुझ्ने गरि योजना र हाम्रा कार्यक्रमहरुको सम्प्रेशण र कार्यान्वयनमा हाम्रा अपुगताहरु रहन पुगेका छन् । जसकारण यो स्वभाविक पनि छ । तर यो निराश होइन उत्साहित हुने समय हो । किनकी यतिबेला पुरानो सत्ता संकटग्रस्त छ । यसलाई टिकाउन प्रयत्नशील कम्युनिष्ट नामधारी र गैरकम्युनिष्ट पार्टीहरुमा संकट पैदा भएका छन् र यसलाई भत्काउँछौ भन्ने क्रान्तिकारी पार्टीहरुमा यही समयमा समस्याहरु देखिएका छन् । 

क्वान्टम भौतिकीले यो सहमति दिन्छ कि कण र तरङ्ग द्धैधताको एकैसाथ स्थान र गतिको मापन गर्न नसकिए जस्तै– आफ्नै गतिविधी गर्दै आएका, एकअर्कामा टकराइरहेका यी भिन्न राजनैतिक प्रवृत्तिको निश्चितताको मापन गर्न सकिदैन । यसलाई यसरी लिन सकिन्छ कि स्थान र गतिका हिसाबले अनिश्चयमा रहेका सबै राजनैतिक प्रवृतिहरुको सामाजिक परिघटनामा रणनीतिक संघर्ष पुँजीवाद कि बैज्ञानिक समाजवाद भन्नेमा नै छ । तर यसलाई सचेततापूर्वक पुँजीवादीहरुले तोड्न मोड्न खोजिरहेका छन्, जसकारण अनिश्चयताको बावजुत पेचिलो संघर्ष पनि चलिरहेकै छ । जहाँ तरंङ्ग हुन्छ, त्यहाँ तरङ्ग समिकरण हुनै पर्दछ । न्युक्लियस केन्द्र वरिपरि घुम्ने इलेक्ट्रोन कक्षमा इलेक्ट्रोनको संभावित स्थान पुर्वानुमान गर्न सकिए जस्तै बैज्ञानिक समाजवादमा आकर्षित हुने बिशाल तरङ्ग यसको वरिपरि घुमिरहेको र यसले पुँजीवादलाई ध्वस्त गर्न ध्रुबीकरण पैदा गर्ने कुराको पुर्वानुमान गर्न सकिन्छ । यसले आन्दोलनको आँधी निकट भबिष्यमा निम्त्याउने कुरामा कुनै शन्देह छैन । यो कुरामा पंक्तिकार बिश्वस्त छ कि आगामी समय उथलपुथलको हुने छ । 

सामाजिक चेतना उत्पादन सम्बन्धको उपज हो । आजको उत्पादन सम्बन्धमा क्वान्टम मेकानिक्सको मुख्य प्रभाव छ । मानवीय चेतनाहरु क्वान्टम दुनियाँ हुँदै कृत्रिम वौद्धिकता (एआई) तर्फ दौड लगाईरहेको छ । समाजको उपरिसंरचनामा उल्लेख्य बदलाव आएको छ । पुँजीवादले गर्ने शोषणको तरिकाहरु बदलिएका छन् । साम्यवादीहरुले पनि पुँजीवादी शोषणबाट छुटकारा प्राप्त गर्ने तरिकाहरु खोज्नुपर्ने, तरिकाहरु बदल्नुपर्ने आवश्यकता पैदा भएको छ । आजको पुँजीवादलाई परास्त गर्न एकीकृत जनक्रान्तिले समाजका बिभिन्न साखाहरुमा ट्रान्जिस्टर फिट गर्नुपर्ने स्थिीति बनेको छ । त्यो ट्रान्जिस्टरमा क्वान्टम मेकानिक्सको छबि प्राप्त गर्न सक्नुभयो भने तपाईले एकीकृत जनक्रान्तिलाई बुझ्नु भयो । 

यिनै सारहरुलाई पकड्दै समाजको आजको चेतनालाई क्रान्तिको पक्षमा परिचालित गर्न हाम्रो पार्टीले गरेको शश्लेषणलाई समेत बिभिन्न आरोपहरु लगाउँदै क्रान्तिलाई समेत अनिश्चितताको बिषय बनाईयो भनेर जनतालाई भ्रमित गर्ने रुन्चे प्रयासहरु भइरहेको पाईएको छ । यिनै कुराहरुलाई टिपोट बनाएर महासचिव विप्लव बिरुद्धका पागल प्रलापहरु जारि छन् । यस्ता प्रयासहरु यो भन्दा अगाडीका समयहरुमा पनि हसँदै आइरहेकै थिए । तर, यो बुझ्न जरुरी छ कि आजको लडाई पुँजीवाद बिरुद्ध साम्यवादकै हो यहाँ सार्वभौम रुपमा रहेको बिज्ञान र यसको उत्पादन सम्बन्धमा रहेको प्रभाव र बनेको सामाजिक चेतनालाई परिचालन गर्ने बाटो पत्ता लगाइएको मात्र हो । अर्थात् परिस्थितीको अनिश्चितता भित्रै हामीले रणनीतिक निश्चितता प्राप्त गर्नेछौं–त्यो साम्यवाद हो । यसको निम्ति हामीले एकीकृत जनक्रान्तिलाई ठिक ढंगले बुझ्न र लागु गर्न एक कसर पनि बाँकी राख्न हुँदैन । 

यतिमात्रै पनि होइन,पार्टी आन्दोलन बिरुद्ध भइरहेका चौतर्फी घेराबन्दी, षड्यन्त्र र अमेरिकन दलालहरुको हमलालाई मलजल गर्न र उकास्न पार्टीभित्रै जन्मिन पुगेका लिन प्याओवादीहरु, दिमाग सन्तुलित नभएका उटपट्याङ भ्रान्तिवादीहरुले र्याल सिंगान काडेर महासचिब विप्लव र एकीकृत जनक्रान्ति बिरुद्ध निरन्तर जारी राखेका फोस्रा हमलाहरुले पनि जनताको पंक्तिलाई सिंगो आन्दोलनप्रति केही हदसम्म भ्रमित गर्ने काम गर्यो । यसले उनीहरुको बहुला आत्मारतिमा केही हलुका हावा पक्कै दिएको होला तर उनीहरुको धरातलमा रातो होइन, कहिलै उक्सन नसक्ने षड्यन्त्रका गहिरो र कालो खाडल परेको देशभक्ति र कम्युनिष्ट दृष्टिकोणप्रति स्पष्ट एउटा नागरिकले सहजै ठम्याउन सक्छ । यसले क्रान्तिको होइन प्रतिक्रियावादी कुपमण्डुकहरुका षड्यन्त्रहरुलाई उल्लेख्य मद्दत पुर्याउने काम गरेको छ । 

दलाल सत्ताले भीषण दमन गरेको बेला जनतालाई यो बलिदान गर्न सक्ने पार्टी हो भनेर चिनाउनुपर्ने समय विभिन्न बहाना बनाएर भागेका भगौडा, काठमाडौका गल्ली चाहारेर गुजारा गर्ने, ठूलाठुला क्रान्तिका गफ हाँक्दै पार्टीको नाम बेचेर धनकुवेर बन्दै आएका एक हुल हुतिहाराहरुको साहारामा अलग पार्टी बनाउने र यो देशमा क्रान्तिको ढोङ्ग पिट्ने एक दुई पुर्व नेताहरुको बुद्धि देखेर त झन लाज र दया लागेर आउँछ । यस्ता कार्टुन अखबारहरु वास्तबमा यो देश र कम्युनिष्ट आन्दोनमा बिकसित हुँदै आएका सबै भन्दा ठूला रोग हुनु, जसको उपचार भने सामन्य छ जो हाल समयलाई छाड्न नै उपयुक्त हुनेछ । त्यसैले, पागलहरुको एउटा झुण्डको चित्कारले काठमाडौंका सडकलाई फोहोर पारिरहेको छ–उनीहरुलाई याद होस् एक दिन त्यो फोहोर आफै साफ गर्नुपर्ने छ । जतिबेला उनीहरु सँग फोहोर साफ गर्ने समय नहुन सक्छ । किनकी आज उनका यी व्यबहारहरु क्रान्तिका प्रतिकुल छन् । साम्राज्यवादीहरु हाँस्ने र रमाउने खालका छन् । 

देशमा यतिबेला जनताले यो पुँजीवादी संसदीय ब्यवस्थाबाट बिकल्प खोजेका छन् । अमेरिकन दलालहरुले सुबिचारित ढंगले मुख्य बहस बैज्ञानिक समाजवाद कि संसदीय पुँजीवाद भन्ने बिषयलाई गुमारोहमा पार्न बिभिन्न चालहरु चल्दै आईरहेको छ । पछिल्लो चाल रबि लामिछाने, सिके राउत, र कांग्रेस संसदीय दलको नेतामा पराजित हुने जान्दा जान्दै गगन थापालाई स्थापित गर्न गरिएको प्रयास आदि हुन् । हामीले संचालन गरेको आन्दोलन र सरकारसँग भएको तीन बुँदे सहमतिभित्र हामीले शान्तिपूर्ण तवरले नै रणनीतिक बहसलाई आमनेसामने गर्न सक्छौं वा प्रयत्न गरेर हेर्नुपर्छ भन्ने हाम्रो ध्येय थियो । हाम्रो पार्टीका महासचिवको छलफल, हाम्रा प्रयत्नहरु र देशैभरि चलेको बहसले एउटा तरङ्ग आइरहेकै थियो । सरकार तीन बुँदेलाई कार्यान्वयन गर्नुको साटो हाम्रो आन्दोलनले पैदा गरेको बललाई मथ्थर गर्दै आफ्ना दलालहरुलाई अगाडी सारेर नेपाली जनतालाई भ्रमित गर्ने अमेरिकी स्वार्थको कठपुतली बनिरह्यो । यसले राजनीतिक तवरले हामीले शान्तिपुर्ण रुपमा खोजेको समाधानको बिधीलाई धेरै परको बिषय बनाईदिएको छ । मुख्य कुरा राजनीतिक कुरा नै हो, हामीमाथि थोपरिएका झुट मुद्दा राजनीतिक मुद्दा भन्दा अलिकति कम महत्वका बिषय हुन् । अमेरिकी स्वार्थमै हौसिदै आएको सरकारको ब्यवहारले स्पष्ट गरेको छ कि तीन बुँदेको औचित्य समाप्त भइसकेको छ । अब कि त सरकारले वा हाम्रो पार्टीले यो सहमतिको औचित्यता नरहेको घोषणा गर्नुपर्ने छ । 

अमेरिकन स्वार्थ अनुसार नै प्रचण्डलाई रातारात प्रधानमन्त्री बनाइएको छ । अहिलेको सरकारले अमेरिकी स्वार्थ अनुसार काम गरिदिनु पर्नेछ । एमसीसी, एसपीपीलाई नेपालमा लागुगर्नु नै अमेरिकाको मुख्य काम हो । यिनै कामहरुद्धारा नेपालमा संसदवादी कम्युनिष्टलाई समेत बदनाम गरेर सक्ने र त्यही कभरमा अमेरीकन स्वार्थमा संचालित योजना बिरुद्ध संघर्ष गरिरहेका सच्चा क्रान्तिकारी कम्युनिष्टहरुलाई समेत बदनाम गर्ने, दमन गर्ने यस्तो योजना अगाडी बढाउन सक्ने देखिन्छ । सरकार भित्रैबाट सरकारको बिरोध गराउने, कार्यकारी राष्ट्रपतिको बिषयलाई उचाल्ने, संघियता खारेजीको मागलाई चर्काउने, राजाको मुद्दा उचाल्ने, मधेसका मुद्दाहरु समेत उचाल्ने र एउटा कृत्रिम आन्दोलन खडा गर्ने र त्यही आन्दोलन मार्फत् कार्यकारी राष्ट्रपतिको नाममा भ्लादिमीर जेलेन्सिकीको जन्म गराउने र सत्ताको चाबी आफ्नै हातमा राख्दै निर्वाध रुपमा नेपालमा अमेरीकीहरुले परेड खेल्ने योजनाको समेत पुर्वानुमान गर्न सकिन्छ । यसो गर्दा अहिले महासचिव विप्लवको विरुद्धमा घाँटीको नसा फुलाई फुलाई बोल्नेहरुको, अर्थात् केहीको राष्ट्रपतिमा उठ्ने सपना पनि पुरा हुन सक्छ । अहिले नेपालमा रहेको ब्यवस्था बारेको मुख्य बहसलाई मोड्न सकिने र क्रान्तिकारी पंक्तिलाई नामेट गर्न सकिने मात्रै होइन, नेपालबाट कम्युनिष्ट नामको बिउ नै मास्न समेत सफलता मिल्न सक्ने बिषयलाई अमेरिकीहरुले नहेरी बसेका होलान भनेर मान्न सकिन्न । 

आजको लडाई मुख्य गरेर अमेरीकी स्वार्थ बिरुद्धकै लडाई हो । नेपालका देशभक्त, प्रगतिशील, सच्चा लोकतन्त्रबादी र क्रान्तिकारीको बीच बृहत ध्रुबीकरण यतिबेलाको आवश्यकता हो । यो देशमा मात्र होइन आजको बिश्व नै पुँजीवादी शोषणबाट छुटकारा पाउन चाहन्छ । यसको निम्ति लुटेरा पुँजीवादी आर्थिक प्रणालीको अन्त्य र बैज्ञानिक समाजवादको स्थापना अपरिहार्य छ । बैज्ञानिक समाजवादी सत्ता स्थापनाको निम्ति सचेततापूर्वक लडिरहेको पार्टी नेपालमा हुनु र नेपालमा कम्युनिष्ट जनमत हुनु पुँजीवादी बिश्वको निम्ती चुनौति हो । उनीहरु यो चुनौति पन्छाउन चाहन्छन् । उनीहरु यसको निम्ति क्रान्तिकारी पंक्तिलाई फुटाउने, कम्युनिष्ट नामलाई समेत बदनाम गर्ने, कम्युनिष्ट नेतृत्वलाई बदनाम गर्ने, समाजलाई भाँड्ने यस्ता गतिबिधि गर्न तल्लीन हुन्छन् । नेपालमा आज उनीहरु यस्तै गतिबिधी गरिरहेका छन् । एमसिसि, एसपिपि नेपालमा लागु हुने अमेरिकी सत्ता हो, उनीहरु यो सत्ता मार्फत् नेपाललाई लुट्न र पुँजीवादको आयु बढाउने आफ्नो प्रोजेक्टलाई संचालन गर्दैछन् । यसको बिरुद्ध नेपाली जनताले राष्ट्रिय स्वाधिनताको संघर्ष संचालन गर्नुपर्ने छ । र आफ्ना दुखहरुबाट मुक्त हुनलाई घनिभुत बर्गसंघर्ष संचालन गर्नुपर्ने छ । 

आजको नेपालमा दलाल पुँजीवादी संसदीय सत्ता र यसका गोटी संसदवादीहरुलाई ध्वस्त गर्ने संघर्षको नेतृत्व नेपाल कम्युनिष्ट पार्टीले गरिरहेको छ । देश र जनताको पक्षमा निर्भीकतापुर्वक लडिरहेको पार्टी र नेतृत्व बिरुद्ध भयानक षड्यन्त्रहरु भइरहेका छन् । बिचारमा, राजनीतिमा, संघर्षमा, संगठनमा, आर्थिक लगायत बिभिन्न क्षेत्रहरुबाट नेपाल कम्युनिष्ट पार्टी र यसको नेतृत्व बिरुद्ध बाहिर, भित्र सबै क्षेत्रहरुबाट हमलाहरु जरी राखिएको छ, भित्रैबाट हमलाहरु गराइएको छ । ती हमलाहरु निक्कै निकृष्ट र आपराधिक थिए । एकदिन जनताको अदालतले सबै बिषयको फैसला लिनेछ । हाम्रो पार्टीको नवौं महाधिवेशले गरेका शश्लेषणहरु यो युगलाई नेतृत्व दिने दार्शनिक हतियारहरु हुन् । एकदमै नयाँ कुरा यति सहजै यो आम जगतमा प्रष्ट हुने र सहजै बुझ्न सकिने बिषय होइन । हाम्रो पार्टीले यसलाई ब्यवहारिक प्रयोगमा लैजाने छ र यसका आम दार्शनिक मान्यताहरुलाई सबैले बुझ्ने र प्रयोगमा लैजान सक्ने बनाईने छ । यसमा हामि सबैले धर्यतापुर्वक, संयमतापूर्वक र धेरै सचेत भएर आफ्नो भुमिकाहरुलाई पुरा गर्नुपर्नेछ ।

उटपट्याङ गर्नु, दुईचार हतियार पड्काउनु, एक दुई घटना घटाउनु र क्रान्तिकारी रोमान्टिसीज्म गर्नु क्रान्ति होइन, यो आवेगात्मक अपराध हो । सिंगो देशलाई लड्ने बनाउनु र परिस्थितिलाई आफ्नो पहलमा लिंदै जनताको सत्ता बनाउनु क्रान्ति हो । र, त्यो काम एकीकृत जनक्रान्तिले गर्नेछ । पंक्तिकार बिश्वस्त छ । आगामी नेपालमा धु्रवीकरणको एउटा केन्द्र बैज्ञानिक समाजवाद हुनेछ  । त्यसलाई नेतृत्व प्रदान गर्न कम्युनिष्ट आन्दोलनका आधारभुत शर्तहरु जसले पुरा गर्न सकेका छन्, जनताले जसलाई पत्याउँछन्, जसले आफुलाई सम्हाल्न सकेको छ, जसले मित्र र शत्रु छुट्याएर ब्यवहार गर्न जानेको छ । जोसँग बिचार र सीपले पोख्त लडाकु युवाहरु छन्, जो जनताबाट रुचाइएको छ, जसले नयाँ संभावनाहरुलाई पकड्न सक्छ र जोसँग युगले जन्माएको नेता छ उसैले नेतृत्व गर्ने हो । 

अमेरिकन दलालहरुको खतरनाक षड्यन्त्र चलेको यो समय आफुलाई चिन्नु, सच्याउनु र क्रान्तिकारी एकता, देशभक्ती एकता कायम गर्न भुमिका खेल्नु एउटा सच्चा मान्छेको काम हो । यो बेला देश र जनतालाई माया गर्नेहरु निराश होइन उत्साहित हुने बेला हो । हामीले के गर्दा नयाँ गर्न सकिन्छ ? हाम्रा कामहरु कसरी ट्रान्जिस्टर जस्तो बनाउन सकिन्छ ? हाम्रो ब्यवहारहरु कसरी जताततै हलचल ल्याउन सक्ने बनाउन सकिन्छ ? हामीले हाम्रो शक्तिका प्रत्येक इकाईहरु जोडेर कसरी प्रकाशको गतिमा परिणामहरु निकाल्न सक्छौं ? पुँजीवादको शोषणकारी साम्राज्यको भ्रमबाट जनतालाई कसरी मुक्त गर्ने र पुँजीवादका हरेक इकाई माथि धावा बोल्ने ? हामीले कसरि उत्पादन गर्ने ? हामीले कसरि कम्युनिष्ट बन्ने र आजको युगको कम्युनिष्ट कस्तो हुने ? यो युगको दिशा बदल्न हामीले हरेक समय यस्ता विविध प्रश्नहरुको जन्म गराउने र समाधान खोज्ने प्रयत्न गरिरहनुपर्छ । पार्टीको नवौं महाधिवेशनका शश्लेषणहरुलाई समृद्ध गर्न त्यसको ब्यवहारिक जीवनको गति समात्नै पर्छ । चाहे त्यो जतिसुकै निर्मम किन नहोस्, त्यसले हाम्रो ज्यान नै किन नलिओस् हामीले हाम्रा शश्लेषणहरुलाई प्रमाणित गर्न जोखिम मोल्नैपर्छ । हाम्रो पार्टी तयार छ ।  हाम्रो काँधमा युग प्रवर्तक बन्नुपर्ने जिम्मेवारी छ । हामी सक्छौं जित्न र निर्माण गर्न बैज्ञानिक समाजवाद । त्यसैले आउनुस् हामी मिलेर सम्पन्न गरौं एकीकृत जनक्रान्ति ।