गाउँमा गुञ्जिरहेछ तीजको लहर
दिदी, बहिनी र भाउजूहरू
भएर आगनमा जम्काभेट
लगाएर रातो साडी र गुन्युचोलो
गाएर पुर्ख्यौली र रत्यौली भाकाहरू
नाचिरहेछन् संगिनी नाच ।
ठिक यहीं बेला_
लोक धुन र गीतहरू बिर्सिएर
फोहोरी भाका र नाचहरू
मस्त नाचिरहेछन् स्कुले नानीबाबू
र भट्टीमा पसेर निस्किएको भर्खरको नयाँ पुस्ता
म रिसले अच्युत भएको छु
र सम्झिरहेछु
पचास साठ्ठीको दशकनिर
यहीं भूगोल र बस्तीमा गाइएका गीतहरू
'शिरैको शिरफूल बन्दकी राखेर'
'डिलै र मुनिको दुईपाते तुलसा'
स्मृतिमा घुमिरहेछन्
बिमाकुमारी दुरा र शर्मिला गुरुङहरू
म खोजिरहेछु
हुर्किदै गएका काकरीको झालहरूमा
लोक संगीतका भाकाहरू
म खोजिरहेछु
गुम्दै गरेको मौलिक संस्कृति
फकृदै गरेको करेलीका बोटहरूमा !
उनीहरू जीवनको ओझ र महत्त्वलाई बिर्सिएर
लोक भाका र गीतहरूको जरा काटेर
बेसुरमा गाइरहे पनि_बेसुरमा नाचिरहे पनि
म नयाँ आशामा सास फेरिरहेछु
पक्कै एकदिन_
माइतीघरमा नानी आए झै
रात ढलेर बिहानी आए झै
एकताका धुनहरू अन्तिम उचाइमा पुगेपछि
सदा सदाका लागी
गर्ल्यामगुर्लुम धल्नेछ- फोहोरी संस्कृति
अनि बोकेर जनताका सुखदुःखका गीत
फेरि नयाँ मार्गबाट आगमन हुनेछ- हरितालिका तीज ।
[ल्हुम्पेक कला तथा साहित्य यात्रा विषयगत शृङ्खला- ३ मा प्रस्तुत गरिएको कविता]
प्रतिक्रिया राख्नुहोस्