‘गौंडा कुरेर मार हान्ने’ लिनपियाओवादीहरु

वर्ग समाज र सत्ता सङ्घर्षको नियम नै हो कि क्रान्तिभित्र विभिन्न खाले अवसरवादहरु पैदा भइरहन्छन् । त्यसलाई उत्तेजित र प्रकट हुने वातावरण क्रान्तिमा बन्दै जाने नयाँ परिस्थिति र विषयहरुले बनाइदिन्छन् । परिस्थितिअनुसार अवसरवादीहरुले छेपाराले रङ फेरेजस्तो शैलीहरु फेरिरहन्छन् । कहिले उनीहरु उग्रवामपन्थीका रुपमा प्रकट हुन्छन्, कहिले मध्यमार्गी ढुलमुले रुपमा देखापर्छन, कहिले दक्षिणपन्थी आत्मसमर्पणवादी बन्छन्, कहिले चाकडीबाज बन्छन्, कहिले षड्यन्त्रकारीका रुपमा आइलाग्छन् । बाहिरका दुश्मनसँग मिलेर मौका मिल्यो भने लेनिनलाई जस्तो गोली हान्न र माओलाई जस्तो बम हान्न पनि पछि पर्दैनन् । यस्ता अवसरवादीहरु क्रान्तिकारी सङ्घर्षले जोड पक्रेको समयमा चिसोमा सर्प सित–निद्रामा बसेको जस्तो हुन्छन् तर जब परिस्थिति क्रान्तिकारीहरुका लागि थोरै प्रतिकूल बन्छ या सबैकुरा प्रष्ट भन्न नसकिने स्थिति आउँछ सारा कुडाकर्टटहरु वर्षामा जुका जागे जसरी क्रान्ति र नेतृत्वका विरुद्धमा एक सूत्रीय रुपले खनिन आइपुग्छन् । उनीहरु आँखीभौँ उचाली–उचाली, नाकका पोरा फुलाइ–फुलाइ, मुखबाट फिँज निकाली–निकाली डुडाउँछन् । सुदर्शन–कञ्चनको खोक्रो वामपन्थी अवसरवाद भयानक षड्यन्त्रसहित अनुभववादी जमिनलाई प्रयोग गर्दै यसैगरी नै खनियो ।

वास्तवमा उनीहरु राष्ट्रिय स्वाधीनताको खासगरी एमसीसी विरोधी सङ्घर्ष, भ्रष्टाचार विरोधी सङ्घर्ष चल्दासम्म उदास अनुहारमा बसिरहेका थिए । औपचारिकताका लागि भाग लिए पनि जोस–जाँगर र उत्साह थिएन । बानेश्वरमा लडाइ चेलेको छ, जुलुस र भिडन्त चलेको छ तर उनीहरु कोठामा बसेर नेताहरुको भण्डाफोर चलाइरहेका छन् । तथापि पार्टी र नेतृत्वका विरुद्ध बोल्ने ठाउँ थिएन । जब चुनावी कार्यनीतिबारे प्रस्ताव गरियो, खुदो परेजसरी बुर्लुक्क उम्लिए । यसमा उनीहरुको कुनै मालेमावादी सोच होइन कि हतासा, कुण्ठा, निराशा, डाह छताछुल्ल भएर पोखियो ।

चुनावलाई प्रयोग गर्ने कार्यनीति नेतृत्वले लिन्छ भन्ने उनीहरुलाई थाहा थियो । काठमाडौँका अँध्यारा कोठामा काम नै यत्ति गरेछन् कि पार्टी पंक्तिले यसलाई सजिलो मान्दैन, यसैलाई टेकेर हमला तीव्र बनाउने र पार्टी कब्जा गर्ने । यसका लागि उनीहरुले प्रचारदेखि गूट गर्नेसम्मका तानाबाना बनाएछन् । हामीले एउटा कमरेडको रुपमा लियौं तर उनीहरुले “गौंडा कुरेर मार हान्ने” लिनपियाओवादी शैलीलाई प्रयोग गरे । लिनपियाओवादी प्रवृत्तिको सिद्धान्त मुखले प्रशंसा गरेर बम हान्ने र सत्ता हत्याउने सिद्धान्त हो । त्यतिमात्र होइन उनीहरुको यो षड्यन्त्रकारी हमलाभित्र बाकुनिन, कामेनेव, जिनोवियव, खु्रश्चोभेका प्रसस्त अन्तर्घाती जीवाणुहरु चल्मलाइरहेका देखिन्छन् । उनीहरुको यो हमला पछाडि अमेरिकी साम्राज्यवादी र भारतीय साम्राज्यवादी तत्वहरुका भूमिका पनि कुनै न कुनै रुपले संलग्न छ भन्नेमा कुनै द्विविधा छैन । किनकि यी अन्तरघातीहरुको निशानामा अहिले दलाल पुँजीवाद, साम्राज्यवाद, प्रतिक्रियावाद कोही नभएर नेपाल कम्युनिस्ट पार्टी, एकीकृत जनक्रान्ति र नेतृत्व छ । यसप्रति पार्टी एकदमै सचेत बन्न जरुरी छ ।

उनीहरुमा कुनै वैज्ञानिक विचार, दृष्टिकोेण, कार्यक्रम र नीति छैन भन्ने किन पनि पुष्टि हुन्छ भने जब उनीहरुले कथित राष्ट्रिय भेला गरेर जैसीको पात्रो जस्तो बेतुकको प्रस्ताव ल्याए या पछि मुखपत्र छापे त्यहाँ प्रस्तुत विषय हामीले आठौं महाधिवेशनबाट संश्लेषण गरेका र नवौँँ महाधिवेशनका लागि तयार गरेको प्रस्तावित प्रस्तावभन्दा नयाँँ, विकसित, सृजनात्मक सोच शून्य छ । आज नेपाली क्रान्तिको चरित्रबारे आठौं महाधिवेशनभन्दा पनि पछि फर्किएर प्रचण्डले हेटौंडा महाधिवेशनमा पेस गरेको कार्यक्रम “नयाँ जनवादी क्रान्तिको कार्यभार पूरा गर्दै समाजवादी क्रान्ति गर्ने” भन्नेलाई छायाँकपी गरेछन् । तर, अर्थराजनैतिक सम्बन्ध, वर्गहरु र अन्तर्विरोधको विश्लेषण भने हाम्रो सारेछन् । यतिसम्म कि उत्तर–साम्राज्यवादको सट्टा हामीले प्रस्तावित गरेको भूमण्डलीकृत पुँजीवाद पनि राखेछन् । फरकै मात्र देखाउनका लागि एकीकृतमा जनयुद्ध थपेछन् । यदि विश्लेषण नै गर्ने हो भने जनयुद्धमा एकीकृत विशेषण लगाउनु नै अशुद्ध छ । माओको भनाइलाई नै लिने हो भने पनि जनविद्रोह, एकीकृत जनक्रान्ति पनि जनयुद्ध नै हुन् । जनयुद्ध भनेपछि एकीकृत लगाउनुको कुनै अर्थ हुँदैन । अनि उनीहरुको व्याख्या हेर्दा हाम्रोभन्दा फरक केही छैन । अनि यत्रो रडाको मच्चाउनुको अर्थ के भयो त ! यसबाट भन्न सकिन्छ कि यो कुनै वैचारिक, राजनैतिक, रणनैतिक अन्तरको विषय नभएर आफ्नो विचलन, अपराध र षड्यन्त्रलाई छोप्ने “केसे रानाको लगौंटी” मात्र हो ।

यसको पुष्टि केले पनि गर्छ भने एकीकृत जनक्रान्तिको भेलले छाँटेर रङ उडेका छेपाराहरुले उन्यूको घारीमा बस्दाबस्दा सिम परेका भ्यागुताहरुसँग घाँटी जोडेर सिवाली परेका ढुङ्गामा बसेर हाम्रो पार्टी र जनक्रान्तिका विरुद्धमा जस्तो दुर्गन्धी एवं कुरुप स्वर निकालेर फद्दाइ रहेका छन् र क्रान्तिको युगान्तकारी जिम्मेवारीबाट भागिरहेका छन् । यस्ताका पछि लाग्नु भनेको सुनौलो समयलाई फट्टी जुवाडेको खालमा वेफ्वाँकमा उडाउनु सिवाय केही हुँदैन । यिनीसँग लागेर एक मुठ्ठी खर्च गर्नु पनि बालुवामा पानी हालेभन्दा खेर फाल्नु हो ।

(जनक्रान्ति अंक ५ बाट)