कञ्चन-सुदर्शनको पागल प्रलाप

'पार्टीको पैसा दुरुपयोग गर्ने माक्र्सवादी अर्थशास्त्र होइन, कन्चन-सुदर्शन शास्त्र हो'

कञ्चन-सुदर्शनको पागल प्रलाप

हामीले दर्शनका क्षेत्रमा संश्लेषण गरेको सजातीय विपरितको एकत्वको नियमबारेमा पनि उनीहरु अहिले आएर असन्तोष र असहमति व्यक्त गर्दैछन् । यो एकदमै अनौठो लाग्छ कि यिनै मान्छेहरुले आठौं महाधिवेशनमा एकदम ठीक हो भन्दै लामा–लामा व्याख्यानहरु छाँटेका थिए । हुन पनि हामीले यो संश्लेषण कुनै आवेगमा आएर या कुनै अमुक व्यक्तिको विरोध र कसैको शक्तिलाई बलियो बनाउनका लागि गरेका थिएनौं । हाम्रो चिन्ता केवल एउटै थियो पार्टीमा देखापर्ने पुँजीपन्थी प्रवृत्तिहरुलाई विपरितको एकत्वको नाम दिएर बँचिराख्न दिनुहुँदैन । यदि विचारमै बुर्जुवा या पुँजीवादी देखा पर्याे भने पार्टीबाट मिल्काइ दिनुपर्छ या कडाइपूर्वक रुपान्तरण हुनुपर्छ । अन्यथा हेर्दाहेर्दै खु्रश्चोभहरुले क्रान्तिकारीहरुको हातबाट सत्ता खोसेजस्तो खोस्न सक्छन् । यसबारे सुदर्शन–कञ्चनहरुले राम्रैसँग व्याख्या गर्दै हिँडेका हुन् । पछि जब सुदर्शन मध्यकमाण्डमा हुँदा आपूm एक्लिएर गए या पछि जेल पर्दा आपूm कमजोर भएको महसुस गर्न थाले त्यसपछि जसलाई पनि विरोधी र शत्रु देख्न थाले । आपूmले भनेको जस्तो नभएपछि दर्शनकै संश्लेषणले यस्तो अधिभूतवादी समस्या पैदा भयो कि भन्ने ठाउँमा पुगे । अँध्यारोमा कुनै अन्धविश्वासीले ठुटोलाई भूत भनेर डाराएजस्तो सजातीय विपरितको एकत्वलाई अधिभूतवादको आकृति बनाउँदै तर्सिन थाले । हुन पनि उनी कति एकहोरे डेब्रे छन् भने अफ्नो अगाडिको साथी कता पुग्यो, सालको ठुटोलाई साथी भनेर १० मिनेट हामीलाई ठिङ्ग उभ्याएका थिए ! यसले स्पष्ट देखाउँछ दर्शनमा हामीले गरेको संश्लेषण अधिभूतवादी होइन कि आफ्नो कमजोरी छिपेन भनेर दर्शनमा समस्या देख्ने सुदर्शनहरुको दृष्टिकोण अधिभूतवादी छ ।

सुदर्शन–कञ्चनको दृष्टिमा हामी ‘जुझारु अर्थवादी’ भएका छौं । किन रे भने हामीले पैसा धेरै उठायौं, बचत ग-यौं, जमिन किन्यौं, घर हाल्यौं, भौतिक संरचनाहरु बनायौं ।
‘जुझारु अर्थवादी’ शब्द लेनिनले बीसौं शताब्दीमा रुस र युरोपका सुधारवादी, अर्थवादी टे«ड युनियनवादीहरुबारे गरेको विश्लेषण हो । जो मजदुरहरुका बीचमा सङ्गठन गर्दथे र मालिकहरुका विरुद्ध सङ्घर्ष पनि गर्दथे तर उनीहरु मजदुर वर्गीय सत्ताका लागि नभएर आर्थिक माग र सुधारका लागि लड्दथे । उनीहरुका कारण क्रान्तिलाई धक्का पुग्दथ्यो । तर, यहाँ एकीकृत जनक्रान्ति र हामीमाथि यो आरोप थोपरेका छन् । जसले आत्मसमर्पणवाद, विसर्जनवादले ढाल्न खोजेको क्रान्तिको झण्डालाई सचेततापूर्वकविना स्वार्थ रक्षा गरेको थियो । मालेमावादी विचारलाई संरक्षण र विकास गरेको थियो । सारा अवसरवादीहरु प्रचण्डको पूजा गर्दै हिंडिरहेको बेला क्रान्तिको नगरा बजाउन तयार भयो । विभिन्न खालका रुढीवादी, जडसुत्रवादी, अकर्मण्यतावादी, छद्म संशोधनवादीहरुका विरुद्ध सङ्घर्ष गर्दै एकीकृत जनक्रान्ति कार्यदिशा तयार गरेर क्रान्तिलाई उचाइ प्रदान गरेको छ । दर्जन बढी सहिदहरुको बलिदान एवं सयौं जना कमरेडहरुको जेल यातनासहित क्रान्तिमा डटेको छ । जसले एकीकृत जनक्रान्तिका आधारहरु विकास गर्दै वैज्ञानिक समाजवादी सत्ताको निर्माण र नेतृत्व गरिरहेको छ । यसका विरुद्ध के जुझारु अर्थवादीको आरोप मेल खान्छ ? सारा जनता, मित्र र कम्युनिस्टहरुले आशा एवं विश्वास गरिरहेको बेला यो आरोप उचित हुन्छ कि पागल प्रलाप हुन्छ !

यो निश्चित हो कि हामीले प्रचण्ड हुँदै किरणसँग विद्रोह गर्दा आर्थिक विषयमा निकै बढी सचेतता अपनाउँदै नयाँ नीति निर्माण गरेका थियौं । त्यसको महत्वपूर्ण पक्ष आर्थिक संकलन र परिचालन संस्थागत प्रणालीमा गर्ने, बचत प्रणाली विकास गर्ने, आर्थिकलाई क्रान्तिको कामसँगै नमुना कार्यमा पनि लगाउने । जतिबेला हामीले यो नीति बनायौं त्यतिबेला सुदर्शन माओवादी केन्द्रमा संसदका लागि झुत्ति खेल्दै थिए ! अरुहरुको दिमागमा कुनै सोच थिएन । नभन्दै हामी पुरै सफल भयौं । आठौं महाधिवेशन नै हामीले थवाङको आफ्नै भव्य भवनमा गर्यौं । जुन भवनको प्रसंशा जनताले मात्र होइन नेपाली सेनाले पनि गरेको थियो । उक्त भवन हाल पाहुना आवाससहित छ र कोरोना महमारीको बेला जनताले भरपुर सदुपयोग गरे ।

आठौं महाधिवेशनबाटै हामीले बेवास्तामा परेका पुराना नेताहरुको घर बनाइदिने नीति बनायौं । सोही नीतिअनुसार त्यसबेलाका स्थायी समिति सदस्य चित्रबहादुर आलेलाई दुई कोठे घर निर्माण गरिदियौं । कालिकोटमा सहिद स्मृति भवन निर्माण गर्ने निर्णय गर्याैं । केही पूर्णकालीन कमरेडहरुको व्यवस्थापनमा मद्दत गर्याैं, प्रतिबन्ध भित्रै धादिङ र मकवानपुरको सीमा गाउँ चेत्रामा आधारभूत विद्यालय निर्माण सुरु गर्यौं र अहिले उद्घाटन भइसकेको छ । ताप्लेजुङ, भोजपुर, कैलाली, जाजारकोट, रुपन्देही आदिमा निर्माणाधीन समाज घर, सहिद प्रतिष्ठान, पार्क आदिलाई सहयोग गर्यौं । हरेक सहिद परिवार, घाइते, पूर्णकालीनहरुलाई सक्दो सहयोग गरिरहेका छौं । महासचिवदेखि पूर्णकालीनसम्मलाई व्यवस्थापन गरिरहेका छौं । प्रतिबन्धभित्रका आठौं र नवौँँ पूर्ण बैठकहरुबाट निर्माणसँगै उत्पादनलाई समेत जोड्ने नीति लियौं । हाल हामीसँग सहकारी, भव्य पार्टी कार्यलय, सहिद स्मृति सङ्ग्राहलय, अस्पताल, आवास बनेका छन् या बन्दै छन् । पार्टी अहिले पनि आर्थिक रुपले ऋण र सङ्कटमा छैन । के पार्टीको पुँजी बचत गर्नु, पार्टीको सामुहिक सम्पत्ति निर्माण गर्नु, आफ्नै उत्पादन गर्नु, आत्मनिर्भरतालाई बलियो गरी पक्रनु, समाज घर, बाटो, विद्यालय, अस्पताल, कार्यालय, आवास बनाउनु, पारदर्शी प्रकारले आर्थिक कार्यहरुलाई विकास गर्नु गलत काम हो ? हामीले आत्मसात गरेको क्रान्ति बढाउनु र उत्पादन गर्नु जुझारु अर्थवाद हुन्छ ! हाम्रो विचारमा आजको क्रान्तिमा उत्पादनलाई नजोडेर सफल हुन सकिंदैन । जसले क्रान्तिमा उत्पादन जोड्न सक्दैन जित्न त के टिक्न पनि सक्दैन ।

हाम्रो पार्टीमा आउनु अगाडि जोसँग एक पैसा थिएन, हामीलाई दाङ भेट्न जाँदा पनि बाटामा कमरेडहरुले गाडीमा तेल हालिदिनु पर्दथ्यो ऊ अहिले करोडपति भइसक्यो, ऊ अर्थवादी नहुने, पार्टीको पैसा लुकाउने र लाटसाहेब जस्तो जीवन बिताउने, आफ्नै परिवारको नाममा सम्पत्ति जोड्ने अर्थवादी नहुने, पार्टीलाई नसोधेर घर ठड्याउने, पार्टीको पैसा आ–आफ्ना खातामा जम्मा पार्ने, यताउता गर्दै खेतबारी जोड्ने अर्थवादी नहुने, तर पार्टीको सम्पूर्ण आर्थिक लेनदेनलाई संस्थागत प्रणालीमा लैजाने र नीतिअनुसार चल्ने अर्थवादी हुने, पार्टीलाई घाटामा जान नदिने र पुँजी वृद्धि गर्ने जुझारु अर्थवादी हुने ? यो कस्तो अर्थशास्त्र हो ! हाम्रो दृष्टिमा यो माक्र्सवादी अर्थशास्त्र नभई सुदर्शन–शास्त्र हो !

(जनक्रान्ति अंक ५ बाट)